ललित अन्तरराष्ट्रिय व्यापार मेला चैत २६ देखि, सुकुटेमा फागुन १७ देखि पर्यटन महोत्सव

Advertisement

ललितपुर । ललितपुर उद्योग वाणिज्य सङ्घ र इन्ट्रडक्सन ट्रेड शो नेपाल प्रालिको बजार तथा मेला व्यवस्थापनमा ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आगामी चैत २६ देखि ३० गतेसम्म हुने भएको छ । ललितपुरको स्थानीय उत्पादनलाई विश्वका विभिन्न मुलुकबीच प्रचारप्रसार गर्न पुल्चोकस्थित मदन स्मारक विद्यालयको प्राङ्गणमा मेला हुनेछ ।

सङ्घमा आबद्ध व्यवसायीको उद्यमशीलता विकास, व्यवसाय गर्ने क्रममा भोग्नु परिरहेको अवरोध हटाउन र नीतिगत समस्या पैरवी गर्न तथा ललितपुरमा उत्पादित सामग्रीको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा बजार विस्तार एवं व्यवसायीको ‘एक्सपोजर’ क्षमता बढाउन मेलाले सहयोग गर्ने सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए ।

नेपालका ८० तथा भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलगायत देशका ४० कक्ष रहने मेलामा नेपालमा उत्पादित ७० र विदेशी मुलुकमा उत्पादित ३० प्रतिशत सामग्री रहनेछन् । नेपालमा उत्पादित हस्तकलाका विभिन्न सामग्री, सांस्कृतिक झाँकी, व्यवसायीबीच आपसी अध्ययन तथा ज्ञानसीपको आदानप्रदानबाट पर्यटन र व्यवसायको विकासमा टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष महर्जनले बताए ।

सुकुटेमा पर्यटन महोत्सव फागुन १७ देखि
यता, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत सुकुटेमा यही फागुन १७ देखि २० गतेसम्म पर्यटन महोत्सव गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सिन्धु पर्यटन व्यवसायी सङ्घले महोत्सवको आयोजना गर्न लागेको सङ्घका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा मोटरबोटको उद्घाटनका साथै शाहसिक जलयात्रा, म्याराथन दौड, सुनकोशी बिच भलिबल प्रतियोगिता, रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । अनुमानित रु ३० लाख खर्च लाग्ने महोत्सव सफल बनाउन वाग्मती प्रदेश, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय चौतारा साँगाचोकगढी नगरपालिका बलेफी र सुनकोशी गाउँपालिका प्रवद्र्धक रहेका छन् ।

महोत्सवमा आन्तरिक र वाह्य पर्यटक बढीभन्दा बढी सङ्ख्यामा भित्र्याइ स्थानीयस्तरमा उत्पादित सामग्री सङ्कलन गरी २० प्रतिशत सहुलियतमा जैविक खाना प्रदान गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाअन्तर्गत अरनिको राजमार्गमा पर्ने सुकुटे राजधानीबाट ६८ किलोमिटरको दूरीमा पर्दछ । त्यहाँ सुविधा सम्पन्न १० रिसोर्ट सञ्चालनमा छन् ।

Advertisement

Advertisement

Advertisement