खानेपानी संस्थानलाई आयस्रोत र क्षमता बढाउन मन्त्री मगरको निर्देशन

Advertisement

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी संस्थानलाई व्यावसायिक ढंगले सुदृढ बनाई नयाँ योजनाहरुका साथ अघि बढ्न व्यवस्थापन पक्षलाई निर्देशन दिएकी छिन् ।

नेपाल खानेपानी संस्थानको ३१ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री मगरले संस्थानको गरिमालाई अझ उचाईमा पु¥याउन नयाँ कार्ययोजना सहित अघि बढ्न निर्देशन दिएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “संस्थानको आवश्यकता अहिले हरेक जिल्ला र स्थानीय तहमा परिरहेको छ । एउटै गति र एकरुपतामा काम अघि बढाउनुस् । यो संस्थाको उचाई अझ बढाउनुस् ।”

‘बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी आफ्नो आयस्रोत र क्षमता बढाउनुस् ।,’ निर्देशन दिंदै उनले भनिन्, ‘कुनै समय अब्बल रहेको संस्थानलाई अब नोक्सान नहुने गरी काम अघि बढाउस् । सरकार यो संस्थालाई सहयोग गर्न पूर्ण प्रतिबद्ध छ ।’ संस्थानले नयाँ कार्यक्रमहरु ल्याई आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उनले निर्देशन दिइन् ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खानेपानी संस्थानको महत्व कहिल्यै नघटेको बरु यसको आवश्यकता बढेको बताए । ‘संस्थानका चुनौतिहरु धेरै छन्, यी चुनौतिहरुसँग सामना गर्दै अघि बढ्नुपर्ने बेला आएको छ ।’ सचिव बेल्बासेले भने, ‘संस्थानले साना तिना आयोजनामा मात्रै ध्यान केन्द्रित नगरी थोक वितरण प्रणाली (बल्क सिस्टम)मा आधारित ठूल ठूला खानेपानी आयोजनाहरुको अध्ययन गरी अघि बढ्नुपर्ने समय आएको छ । त्यसका लागि निजी वा विदेशी लगानी ल्याउने गरी काम गर्नुपर्ने हुनसक्छ ।’

उनले नेपालको मिनरल, स्प्रीङ र ग्लेसियर वाटरलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी अध्ययन गर्न समेत संस्थानलाई आग्रह गरे । संस्थानका महाप्रबन्धक डा। भूपेन्द्र प्रसादले खानेपानीको समस्या भएका मुख्य सहरहरु बुटवल, नेपालगञ्ज, पोखरा र विराटनगरमा खानेपानी आपूर्ति गर्ने गरी कामहरु अघि बढेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement