कसले किन्यो १८ अर्ब ७८ करोडको सेयर ? लगानीकर्ता भन्छन्ः हात्ती लम्कियो गन्तव्य सहज छ

Advertisement

काठमाडौं । सेयर बजारमा यसपाली पाँच दिनमै १८ अर्ब ७८ करोड मूल्य बराबरको सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजारको इतिहासमा साप्ताहिक रुपमा भएको सबै भन्दा धेरै आकारको कारोबार हो ।

गत बिहिबार बन्द भएको नेप्से परिसूचक यो बिहिबार आइपुग्दा १६३२.१७ अंकमा आइपुगेको छ । पाँच दिनमा नेप्से इण्डेक्स १८७.६ अंकले बढेको देखिन्छ । गत हप्ता नेप्से ८९.९८ अंकले बढेको थियो भने ११ अर्ब १७ करोडको कारोबार भएको थियो ।

यसपाली सोमबार बाहेक सबै दिन सेयर बजार दोहोरो अंकले बढ्यो । सोमबार भने परिसूचक १.९६ अंकले घटेको थियो । साताभर दैनिक सेयर कारोबार रकम ३ अर्ब भन्दा माथी नै रहिरह्यो । बिहिबार ४ अर्ब ४६ करोडको कारोबार भएर सर्वाधिक कारोबार रकमको नयाँ रेकर्ड पनि बन्यो ।


अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको हल्लाले सेयर बजार बढिरहेको आंकलन गरिएको थियो । तर बुधबार डा. खतिवडाले पुनः राष्ट्रिय सभामा प्रवेश पाउने समाचार आयो तर नि बिहिबार बजार घटेन् । बरु ३६.०५ अंकले बढेर ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

चीनमा कोरोना भाइरस फैलिएपछि नेपाल चिन व्यापारमा मन्दी आएको र त्यसले नै सेयर बजारमा सुधार ल्याएको तर्क पनि गर्न थालिएको छ । तर सेयर बजारका पण्डितहरु भने बजार वृद्धिलाई स्वभाविक नै मान्छन् । बजार साह्र्रै न्युन बिन्दुमा पुगिसकेकाले यसरी बढ्न थालेको उनीहरुको तर्क छ ।

सेयर बजार बुलिस ट्रेण्ड समातेको उनीहरु बताउँछन् । सेयर बजारका विज्ञ रबिन्द्र भट्टराईले ‘अस्ति बजार घट्यो भनेर पुर्पुरोमा हात, अहिले अस्ति किन किनिएन भनेर पुर्पुरोमा हात’ लगाउनुपर्ने अवस्था आएको बताए ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा सेयर बजारका खेलाडी अम्बिका पौडेलले ‘हात्तीहरु लम्किन थाले साथीहरु अब गन्तव्य झनै सहज हुने भयो’ भनेका छन् । उनले बाणिज्य बैंकका सेयर मूल्यहरु बढ्न थालेको संकेत गरेका हुन् ।

यतिबेला बजारमा पुराना लगानीकर्ताहरु पूर्णतः फर्किएका छन् भने नयाँ लगानीकर्ताहरुको पनि उल्लेख्य मात्रामा प्रवेश भएको छ । ब्रोकर कार्यालयहरु खचाखच भरिन थालेका छन् । अनलाइन कारोबारको आकार पनि निरन्तर बढिरहेको छ ।

Advertisement

Advertisement

Advertisement