४० प्रतिशत सकियो दैलेखको पेट्रोलियम अन्वेषण, अब ड्रिलिङ गरिने

Advertisement

काठमाडौं । दैलेखमा जारी पेट्रोलियम अन्वेषणको काम ४० प्रतिशत सकिएको छ । पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधिर रजौरेले सेस्मिक सर्भेको काम सम्पन्न भएसँगै अन्वेषणको ४० प्रतिशत काम सकिएको बताए ।

‘बिस्फोटन गराएर भाइब्रेशन रेकर्ड गरियो, यसलाई सेस्मिक सर्भे भनिन्छ, योसँगै ४० प्रतिशत काम सकियो, अब ड्रिलिङ गरिन्छ’, रजौरेले भने । उनका अनुसार सेस्मिक सर्भको रिपोर्ट ४ महिनाभित्र आउनेछ । सोही रिपोर्टका आधारमा ड्रिलिङ गरिनेछ । उनले तिहार आसपासबाट ड्रिलिङको काम आरम्भ गर्ने तयारी भैरहेको पनि जानकारी दिए ।


नेपाली र चिनियाँ प्राबिधिकहरुले करिब २ सय किलोमिटर लाइनमा सेस्मिक सर्भे गरेका थिए ।
म्याग्नेटोटेलोरिक सर्भे भने सम्पन्न गरिसकिएको छ । सेस्मिक र म्याग्नेटोटेलोरिक सर्भे रिपोर्टका आधारमा ड्रिलिंग गर्ने ठाउँ छनौट गरिने पनि उनले बताए ।

जमिनको सतहबाट ४.५ किलोमिटर गहिरो ड्रिलिङ गरिनेछ । र पेट्रोलियम पदार्थको भण्डारणको अवस्था पत्ता लगाएर मूल्यांकन गर्न सकिनेछ । उनले दैलेखका पहाडमा कति इन्धन छ भन्ने तथ्य पत्ता लगाउन अझै २ वर्ष धैर्यताका साथ कुर्नुपर्ने पनि बताए । दैलेख अन्वेषणको चाईना जिओलोजिकल सर्भेका तर्फबाट प्रा.डा. टान फुयेनले गरिरहेका छन् । २ वर्षभत्र अन्वेषणको काम सम्पन्न गरेपछि थप ६ महिनामा आर्थिक सम्भाव्यताको खोजी गर्न समय लाग्नेछ ।

अन्वेषणका लागि चीन सरकारले २ अर्ब २५ करोड रुपैयाँ छुट्याएको छ भने नेपाल सरकारले एक करोड ४५ लाख बजेट उपलब्ध गराएको छ ।

यसरी अघि बढ्यो काम
यो अन्वेषण योजनाका लागि २०७५ पुस २९ गतेको मन्त्रिपरिषद बैठकले ‘ईम्प्लिमेन्टेशन एग्रिमेन्ट अफ चाईना अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ स्वीकृत गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय अनुसार २०७५ फागुन १६ गते खानी तथा भुगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच नेपालमा रहेका पेट्रोलियम खानीहरुको विस्तृत अध्ययन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

Advertisement

Advertisement

Advertisement