नेपाल पनि कोरोनाको उच्च जोखिममा, प्रभावित देशबाट निर्वाधरुपमा मानिसहरु प्रवेश गर्दै

Advertisement

काठमाडौं । कोरोना भाइरस भनेर चिनिने ‘कोभिड–१९’ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको थियो ।

डब्लूएचओले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारको कुनै तयारी देखिँदैन । जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडोस एडानोम गेहब्रेयससले कुनै पनि मुलुकमा ‘कोभिड–१९’ भित्रिन्न भनेर बस्न नहुने बताए ।

‘कुनै पनि मुलुकले कोभिड–१९ आफ्नो देशमा भित्रिँदैन भनेर सोचे गम्भीर गल्ती हुनेछ,’ ट्रेडोसले भने, ‘यसले जात, जातीयता र मुलुकको विकास नहेर्ने भएकाले सबैले सतर्कता अपनाउनुपर्छ, यो भाइरस महामारी बन्नेतर्फ उन्मुख छ,’ उनले भने, ‘यो डराउने बेला हैन । यो समय संक्रमण रोक्न उचित कदम चाल्नुपर्ने र मानिसको जीवन बचाउनुपर्ने बेला हो ।’

डब्लूएचओले भाइरसको संक्रमण चीनबाट बाँकी विश्वतर्फ तीव्र रूपमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । पछिल्लो साता मात्रै युरोप र मध्यपूर्वदेखि अफ्रिकाको नाइजेरियासम्म भाइरस संक्रमण फैलिइसकेको छ । डब्लूएचओका अनुसार बिहीबार मात्रै ब्राजिल, जर्जिया, ग्रिस, नर्ज म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा पहिलो पटक ‘कोभिड–१९’ को संक्रमण देखिएको छ । ५० देशका ८५ हजारभन्दा धेरै व्यक्तिमा यसको संक्रमण पाइएको छ । संक्रमण बढ्ने भयले विश्वका विभिन्न देशले ‘ट्राभल एड्भाइजरी’ जारी गरेका छन् भने कैयन् देशले संक्रमितको संख्या उच्च रहेका देशका नागरिकलाई प्रवेशमा रोक लगाएका छन् ।

शनिबार बिहानसम्म दक्षिण कोरियामा करिब ३ हजार र जापानमा ९ सयभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै इटालीमा ८ सय ८९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको संक्रमण देखिएको छ । अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार चीनका अलावा दक्षिण कोरिया, इटाली, इरान र जापानमा संक्रमित धेरै छन् ।

यी पाँचै देशबाट नेपालमा निर्बाध पर्यटक भित्रिरहेका छन् । ‘कोभिड–१९’ को संक्रमण तीव्र बनेको जनवरीमा मात्रै विश्वका १ सय ७२ भन्दा धेरै देशबाट ६५ हजार ९ सय ९३ विदेशी र १ लाख १२ हजार ५ सय १४ नेपाली विश्वका विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको देखिन्छ । फागुन ८ यताको आठ दिनमा मात्रै १२ हजार ७ सय ९६ नेपाल भित्रिएका छन् । जसमध्ये भाइरसको मुख्य जोखिममा रहेका पाँच देश चीन, इरान, इटाली, जापान र कोरियाका नागरिक मात्रै १ हजार ३ सय ७८ जना छन् ।
अध्यागमन विभागका अनुसार पछिल्लो आठ दिनमा चीनबाट ५ सय ७२, इरानबाट १७, इटालीबाट २ सय १९, जापानबाट ३ सय ४१, कोरियाबाट २ सय २९ विदेशी नेपाल आएको देखिन्छ । डब्लूएचओका अनुसार शनिबार बिहानसम्म इरानमा ३४ जनाको मृत्यु भएको र ३ सय ८८ जनामा संक्रमण देखिएको छ । संक्रमण तीव्र भएपछि इरानले राजधानी तेहरानको सार्वजनिक क्षेत्र बन्द गरेको छ भने चीनबाट आउने पर्यटकलाई रोक लगाएको छ । त्यस्तै कोरियामा संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement