आरक्षण सिटको अनुगमन गर्न २ जना महिला ट्राफिक परिचालन

Advertisement

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा आरक्षण सिट राखे/नराखेको अनुगमन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्कुटरमा २ जना महिला ट्राफिक प्रहरी परिचालन गरेको छ ।

आरक्षण सिटमा सम्बन्धित मानिसलाई राखे/नराखेको, जेष्ठ नागरिक तथा विद्यार्थीले पाउने छुट दिए/नदिएको, सिटमा लेखिए पनि अस्पष्ट तथा केरमेट भएको विषयमा समेत अनुगमन गर्ने जनाइएको छ ।

सरकारले दिएको छुट र आरक्षण सिट पूर्णरुपले कार्यान्वयन नभएको, खोज्दा अपमानित हुनुपरेको, दुर्व्यवहार गरेको, भाडामा दिइँदै आएको छुट नदिएको, महिलामैत्री नभएको जस्ता यात्रुहरुले यात्रामा भोग्नु परेका समस्याबारे ठाउँको ठाउँ सुनुवाईको लागि आरक्षण सिट अनुगमन टोली खटाईएको कुरा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनले भने-“सार्वजनिक यातायात प्रति सबैको अपनत्व महशुस गर्न र आफ्नो अधिकारबाट वञ्चित भएकालाई सहयोग गर्नका लागि यो टोली परिचालन गरिएको हो ।”

महाशाखाका प्रमुख भएर आएदेखि नै एसएसपी ढकालले काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारीहरूलाइ सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन आफै सडक पुगेर अनुगमन समेत गरेका थिए र अनुगमन पनि तीव्र बनाएका थिए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने-“यात्रुहरूले आरक्षणको सिटका लागि आवाज उठाउँदा अरु व्यक्तिका अगाडि खिल्ली तथा उपहासको पात्र हुनु परेको भन्ने जनगुनासोलाई समाधानको लागि २ जना महिला ट्राफिक प्रहरीलाई दैनिक ५० भन्दा बढी सार्वजनिक साधनहरू अनुगमनको लागि परिचालन गरिएको हो, यस टोलीले आजदेखि निरन्तर उपत्यकाको सबै ठाउँमा गई अनुगमन गर्नेछ ।”

Advertisement

Advertisement

Advertisement