अर्थमन्त्री डा. खतिवडाको पद अन्यौलमा, यस्तो छ सम्भावना

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको पदवाधि भोली अर्थात फागुन २० गते मंगलबार समाप्त हुुँदैछ ।

यसबिचमा उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि मन्त्रिपरिषदले सिफारिस पनि गरेको छैन् । यतिबेला सवाल उठेको छ, भोली अर्थात फागुन २० गते १२ बजेपछि अर्थमन्त्री डा. युवराज खतिवडाको पद के हुन्छ ? उनी स्वतः पद मुक्त हुन्छन् वा अर्थमन्त्री कायमै रहन्छन् ?
उनलाई राष्ट्रिय सभा सदस्यकै हैसियतमा अर्थमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रिय सभा सदस्यको अवधी समाप्त भएपछि उनी मन्त्रीबाट पनि स्वतः हट्ने अधिवक्ता कपिल ढकाल बताउँछन् ।

संबिधानको धारा ७८ मा संसद सदस्य नभएका व्यक्ति पनि ६ महिनाका लागि मन्त्री बन्न सक्ने व्यवस्था छ । तर त्यसरी मन्त्री बनेका व्यक्तिले ६ महिनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्दछ । डा. खतिवडालाई पुनः सो प्रक्रियाबाट मन्त्री बनाउन पनि प्रधानमन्त्रीले मन्त्री नियुक्त गरेर राष्ट्रपति समक्ष सपथ ग्रहण गराउनुपर्नेछ ।

तर सोमबार अर्थात आजबाटै प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्री ओली कम्तिमा पनि एक हप्ता अस्पतालमै रहनेछन् । त्यसो त प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई पत्र लेखेर मन्त्री नियुक्त गर्दै सपथ ग्रहण गराउन पनि सक्नेछन् । ।

अधिवक्ता केदार कोइरालाले यहिबिचमा कार्य वाहक प्रधानमन्त्रीले डा. खतिवडालाई ६ महिनाका लागि मन्त्री नियुक्त गरेर राष्ट्रपतिबाट सपथ ग्रहण गराउने बाटो भने रहेको बताए ।

अर्थमन्त्री खतिवडा संविधानको धारा ८६ अनुसार नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य मनोनित भए हुन् । सोही धाराको उपधारा ३ अनुसार गोलाप्रथा गर्दा डा. खतिवडाको भागमा दुई वर्षे कार्यकाल परेको थियो ।

श्रोतका अनुसार प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुनु अघि नै डा. खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस वा अर्थमन्त्रीमा पुनः नियुक्त गर्ने सम्भावना रहेको छ । त्यस्तो सम्भव नभएमा प्रधानमन्त्रीले अस्पतालबाटै राष्ट्रपतिलाई पत्र लेखेर पनि डा. खतिवडालाई सपथ ग्रहण गराउन सक्नेछन् । आफु अस्पताल बसेको समयमा के के गर्ने भन्नेबारे ओलीले पूर्व सभामुख तथा संसदीय दलका उप नेता सभाषचन्द्र नेम्बांगसँग छलफल समेत गरिसकेको श्रोतले बतायो ।

Advertisement

Advertisement

Advertisement