नेप्से ९६ अंकले घटेपछि बीचैमा सेयर बजार बन्द, के भएको होला ?

Advertisement

काठमाडौं । सोमबार कारोबार शुरु भएको तीन घण्टा नबित्दै बजार परिसूचक नेप्से छ प्रतिशतले घटेपछि सेयर कारोबार बन्द गरिएको छ । आइतबार ४० अंकले घटेको नेप्सेमा आज अझ अस्वाभाविकरुपमा घटेपछि बजार बन्द गरिएको हो ।

बजार खुलेको २ घण्टा २९ मिनेटमा नेप्से परिसूचक ९६.०६ अंकले घटेर १४९५ दशमलव २० कायम भएको छ । यसबीचमा दुई वटा कम्पनीको मात्र शेयरमूल्य केही बढेको देखिए पनि बाँकी १५३ वटा कम्पनीको घटेको छ । दुई वटाको शेयर मूल्य भने स्थिर छ ।

छोटो अवधिमै दुई अर्ब १५ करोड रुपियाँको सेयर किनबेच भएको छ । आज बाणिज्य बैंकसहित सबै समूहका सुचकहरुमा भारी गिरावट भएको छ । बाणिज्य बैंक समूहको सुचक दशमलव ७४ प्रतिशतले घटेको छ भने जीवन बीमा समूहको सुचक सात दशमलव ४५ प्रतिशतले घटेको छ । आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको थियो ।

सेयर विश्लेषक छोटेलाल रौनियार नकारात्मक कुराहरु विना नै सेयर बजारमा देखिएको ‘क्र्यास’ अनौठो रहेको बताए । उनले अर्थमन्त्रीदेखि राष्ट्र बैंक, धितोपत्र बोर्ड सकारात्मक रहेको र बैंकहरुले पनि बोलाएर कम ब्याजमा पैसा दिइरहेको बेला बजारमा यति भारी गिरावट हुनु अनौठो भएको भन्दै नयाँ लगानीकर्ताहरु आत्तिएर पनि बजारमा आपूर्ति धेरै भएको विश्लेषण गरे ।

रौनियार भन्छन्, ‘नकारात्मक कुरा भएको भए वा कुनै चलखेल भएको भए पनि यति राम्रो कारोबार नै हुन्थेन । कारोबार राम्रो हुनु सकारात्मक पक्ष हो । तर अलिकति घट्दै बढेको भए बजार अल्ली स्थिर हुन्थ्यो होला, एक्कासी बढ्दा नयाँ लगानीकर्ताहरु आत्तिए जस्तो लाग्छ ।

विश्व सेयर बजारमा कोरोना भाइरसले पारेको गम्भीर प्रभावको असर नेपालको सेयर बजारमा पनि देखिएको हो कि ? भन्ने कुरालाई रौनियारले अस्वीकार गरे । सरकारले भ्रमण बर्ष स्थगित गर्नुका साथै विदेशबाट आउने पर्यटकहरुमा समेत कडाई गर्दै गएको छ । नेपालको सेयर बजारमा बहुराष्ट्रिय कम्पनीहरु नरहेकोले बाह्य प्रभावको असर नेपालमा नपर्ने उनको तर्क छ । रौनियारले बजार करेक्शन हुने बताउँदै यसमा आत्तिहाल्ने कुरा नरहेको बताए ।

Advertisement

Advertisement

Advertisement