गाँजा खेति सम्बन्धी बिधेयक पुग्यो संसदमा, यस्ता छन् बिशेषता(पूर्ण पाठसहित)

Advertisement

काठमाडौँ । प्रतिनिधि सभामा गाँजा खेतीलाई बैध बनाउने ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६’ दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले सोमबार संसदमा उक्त गैरसरकारी विधेयक दर्ता गराएका हुन् ।

केही समयअघि सत्तारुढ नेकपाकै सांसद विरोध खतिवडा सहित ४५ भन्दा बढी सांसदहरुले गाँजा खेती र बिक्री वितरण खुल्ला गर्नुपर्ने माग राख्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्तावसमेत पेश गरेका थिए ।

गाँजा खेतीलाई औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य खाद्य, व्यवसायीक तथा औद्योगिक प्रयोजनका लागि समेत गुणस्तरीय गाँजा उपलब्ध गराउन नेपालमा गाँजा खेतीलाई खुल्ला गर्न तथा यसको माध्यमबाट कृषकको आर्थिकस्तर बढाउने उद्देश्यले नियमित तथा व्यवस्थित गरिने छ–विधेयकमा उल्लेख छ ।

परिच्छेद–१
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “गाँजा खेती (व्यवस्थापन) ऐन, २०७६” रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) “अनुमतिपत्र”भन्नाले गाँजा खेति गर्न वा गाँजा विक्रि वितरण वा निकासी गर्नको लागि दफा ६ बमोजिम दिईएको अनुमतिपत्र सम्झनु पर्छ ।
(ख) “अनुमतिपत्र प्राप्त व्यक्ति” भन्नाले दफा ६ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ग) “उत्पादन” भन्नाले गाँजा खेति गरी तयार गर्ने, प्रशोधन गर्ने, प्याकिङ गर्ने वा लेबुल लगाउने प्रक्रिया वा सो सम्बन्धमा अपनाईने सम्पूर्ण वा कुनै प्रक्रिया सम्झनु पर्छ ।
(घ) “कृषक तथा कृषक समुह” भन्नाले गाँजा खेति गर्न यस ऐन बमोजिम अनुमति प्राप्त व्यक्ति सम्झनु पर्छ । सो शब्दले गाँजा खेती गर्न अनुमति प्राप्त कृषकहरुको समुह वा कृषि सहकारी समेतलाई जनाउँदछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा १८ बमोजिम नियुक्त बोर्डको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “गाँजा” भन्नाले गाँजाको बोटको पात, फूल, बिउ वा फल सम्झनु पर्छ र सो शब्दले गाँजा जातको भाँग वा सिद्धको पात, फूल, बिउ वा फल वा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो, लिस्सा, चोव वा गाँजाको निस्सार वा निष्कर्षलाई समेत जनाउँदछ ।
(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्र्तगत बनेको नियमावलीमा तोकिएको वा तोकिए बमोजिम सम्झनुपर्छ ।
(ज) “निरीक्षक” भन्नाले दफा २० बमोजिम नियुक्ति भएको, तोकिएको वा खटाईएको व्यक्ति सम्झनु पर्छ ।
(झ) “बोर्ड” भन्नाले दफा १५ बमोजिमको गाँजा नियमन बोर्ड सम्झनु पर्छ ।
(ञ) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ । सो शब्दले कृषि तथा पशुपंक्षी मन्त्रालय समेतलाई जनाउँदछ ।
(ट) “लेबल” भन्नाले सुकेको गाँजाको पात, फल वा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो, लिस्सा, चोव वा गाँजाको निस्सार वा निष्कर्ष वा त्यसबाट बनेको प्रशोधित वस्तु राखिएको भाँडा वा प्याकको आवरणमा लेखिएको, छापिएको वा अंकित भएको विवरण वा संकेत सम्झनु पर्छ ।
(ठ) “समिति” भन्नाले दफा २३ बमोजिमको स्थानीय समिति सम्झनु पर्छ ।

परिच्छेद–२
अनुमतिपत्र सम्बन्धी व्यवस्था
३. अनुमतिपत्र नलिई गाँजा खेति गर्न वा ओसारपसार गर्न वा बिक्रि गर्न वा निकासी गर्न नहुने

(१) कसैले पनि अनुमतिपत्र नलिई गाँजा खेति गर्न,ओसापासार गर्न, गाँजाको बिक्रि वितरण गर्न वा निकासी गर्न पाउने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कामको लागि अनुमतिपत्र लिनुपर्नेछैन –
(क) एक घर परिवारमा घरायसी प्रयोजनकोलागि बढीमा ६ वटा सम्म गाँजाको बोट उमार्न,
(ख) कपडा बनाउने वा त्यस्तै अन्य औद्योगिक प्रयोजनको लागि रेसा उत्पादन गर्ने वा खाद्य पदार्थकोरुपमा प्रयोग हुने दाना, मह, तेल, पिना उत्पादन तथा बिक्रि वितरण गर्नको लागि Delta 9 THC 0.2% वा सोभन्दा कम प्रतिशत भएको गाँजा प्रजातिको भाँगको खेति गर्न ।
४. गाँजा खेति गरिने क्षेत्र र क्षेत्रफल तोक्ने – (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐन बमोजिम गाँजा खेति गर्न अनुमतिपत्र दिन सकिने स्थानीय तह वा जिल्ला तोक्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थानीय तह वा क्षेत्र तोक्दा प्रत्येक कृषकले आफ्नो वा एकाघर परिवारको दर्ता श्रेस्ता कायम रहेको जग्गामा गाँजा खेति गर्न पाउने अधिकतम क्षेत्रफल समेत तोक्नु पर्नेछ ।
घ (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि आफ्नो वा एकाघर परिवारको नाममा नेपालभर कँही पनि जग्गा नभएकाहरुको हकमा नेपाल सरकारको अधिकार प्राप्त निकायको स्विकृतिमा नेपाल सरकारको कुनै जग्गा वा कुनै अन्य व्यक्तिको स्वामित्वमा रहेको जग्गा भाडामा लिएर गाँजा खेति गर्न तोकिए बमोजिम अनुमति दिईनेछ ।
५. अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेः (१) दफा ४ बमोजिम तोकिएका स्थानीय तह वा जिल्लाका गाँजा खेति गर्न चाहने कृषकले अनुमतिपत्रको लागि देहायको विवरण तथा कागजात संलग्न गरी सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रमा तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(क) कृषकको नाम, थर र ठेगाना,
(ख) कृषको नाममा रहेको जम्मा खेतियोग्य जमिनको क्षेत्रफल र त्यसमध्ये गाँजा खेति गरिने जग्गाको कित्ता नं र जम्मा क्षेत्रफल तथा सो पुष्टि गर्ने जग्गाधनि प्रमाणपूर्जाको प्रतिलिपि,
(ग) निवेदक बाहेक गाँजा खेति गर्नको लागि संलग्न हुने व्यक्तिको नाम, थर तथा उमेर,
(घ) वयस्क गाँजाको बोट तथा त्यसबाट उत्पादन गर्न सकिने पदार्थको अनधिकृत उपयोग तथा प्रयोग नियन्त्रणको लागि अवलम्बन गरिने उपायको विवरण,
(ङ) तोकिए बमोजिमका अन्य विवरण ।
(२) यस ऐन बमोजिम उत्पादन गरिएको गाँजा निकासी गर्न वा बिक्रि वितरण गर्न चाहने व्यवसायीले त्यसको अनुमतिपत्रको लागि देहायको विवरण तथा कागजात सहित कार्यकारी निर्देशकसमक्ष तोकिए बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(क) निवेदकको नाम, थर, वतन,
(ख) विक्रि वितरण गर्न चाहेको क्षेत्र वा स्थान,
(ग) प्रचलित कानून बमोजिमन्व्यवसाय दर्ताको प्रमाणपत्र,
(घ) पछिल्ला दुई आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र,
(ङ) गाँजाको विक्रि वितरणको विद्युतिय अभिलेख राख्न सक्ने व्यवस्था भएको पुष्टि गर्ने विवरण, र
(च) तोकिए बमोजिमका अन्य विवरण तथा कागजात,
(३) उपदफा (१) वा (२) बमोजिम निवेदन दिंदा तोकिए बमोजिमको दस्तुर बुझाउनु पर्नेछ र त्यसरी दस्तुर तोक्दा उपदफा (१) र (२) को लागि फरक फरक हुने गरी तोक्न सकिनेछ ।
६. अनुमतिपत्र दिनेः (१) दफा ५ बमोजिम प्राप्त निवेदन उपर सम्बन्धित कृषि ज्ञान केन्द्रको प्रमुख वा कार्यकारी निर्देशकले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ र त्यसरी जाँचबुझ गर्दा थप जानकारी वा विवरण लिन आवश्यक देखेमा निजले निवेदक सँग थप जानकारी वा विवरण माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आवश्यक जाँचबुझ गर्दा कृषि ज्ञान केन्द्रको प्रमुख वा कार्यकारी निर्देशकले निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त देखेमा तोकिए बमोजिमको दस्तुर लिई अनुमतिपत्र दिनु पर्नेछ ।
(३) अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन तथा यस ऐन अन्र्तगत तोकिएका शर्तहरु पालना गर्नु पर्नेछ
७. अनुमतिपत्र दिन इन्कार गर्न सकिने

(१) दफा ६ मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुनै अवस्थामा गाँजा खेति गर्नको लागि अनुमति पाउन निवेदन दिने निवेदकलाई कृषि ज्ञान केन्द्रको प्रमुखले अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ –
(क) गाँजा खेति गर्नको लागि अनुमतिपत्र पाउन निवेदन दिने कृषक आफ्नै वा निजको एकाघर सँगोलको परिवारका सदस्यको नाममा जग्गा नभएमा वा सो बाहेक अन्य व्यक्तिको जग्गामा गाँजा खेतिगर्नको लागि अनुमति माग गरेकोमा,
उपदफा (क) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै कृषकको आफ्नो वा एकाघरको परिवारको समेत नेपालभर कुनै जग्गा छैन भने अन्य व्यक्तिको जग्गा भाडामा वा लिजमा लिएर तोकिएको क्षेत्रफलमा गाँजा खेति गर्न अनुमति दिन सक्नेछ ।
(ख) गाँजा खेति गर्नको लागि १८ वर्ष भन्दा कम उमेरका व्यक्तिको संलग्नता हुने देखिएका,
(ग) खेति गरिएको गाँजाको वयस्क बोटमा अन्य व्यक्तिको अनधिकृत पहुँचबाट जोगाउन भरपर्दाे व्यवस्था नभएको वा अनुमतिपत्र दिंदा गाँजाको गैर कानूनी रुपमा प्रयोग हुने विश्वसनिय आधार भएमा,
(घ) तोकिए बमोजिमको अन्य अवस्थामा ।
(२) दफा ६ मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुनै अवस्थामा गाँजा निकासी गर्न वा बिक्रि वितरण गर्न निवेदन दिने निवेदकलाई सोको लागि अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछ –
(क) विगत आर्थिक वर्षको कर वा सरकारी दस्तुर बुझाउन बाँकी रहेको,
(ख) अनुमतिपत्र दिंदा गाँजाको अनधिकृत विक्रि वितरण हुने देखिएमा,
(ग) तोकिए बमोजिमको अन्य अवस्थामा ।
८. अनुमतिपत्रको अवधि र नवीकरण –

(१) अनुमतिपत्रको अवधि एक वर्षको हुनेछ ।
(२) अनुमतिपत्र प्रत्येक वर्ष नवीकरण गराउनु पर्नेछ ।
(३) अनुमतिपत्र नवीकरण गर्न चाहने अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रको अवधि समाप्त हुनुभन्दा पन्ध्र दिन अगावै तोकिए बमोजिमको ढाँचामा कृषकको हकमा सम्बन्धित कृषि ज्ञान केन्द्रको प्रमुखर अन्यको हकमा कार्यकारी निर्देशक समक्षनवीकरणको लागि निवेदन दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम निवेदन प्राप्त भएमा कृषि ज्ञान केन्द्रको प्रमुख वा कार्यकारी निर्देशकले आवश्यक जाँचबुझ गरी तोकिए बमोजिमको दस्तुर लिई अनुमतिपत्र नवीकरण गरिदिनु पर्नेछ ।
९. अनुमतिपत्र खारेज गर्न सकिने

(१) देहायको कुनै अवस्थामा अनुमतिपत्र जारी गर्ने अधिकृतले अनुमतिपत्र खारेज गर्न सक्नेछः–
(क) अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा,
(ख) अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रमा उल्लिखित शर्त विपरीत कुनै काम गरेमा,
(ग) दफा ८ बमोजिमको अवधिभित्र अनुमतिपत्र नवीकरण नगराएमा,
(घ) विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्तिको प्रचलित कानून बमोजिम दर्ता भएको व्यवसाय कायम नभएमा वा खारेज भएमा,
(ङ) अनधिकृत व्यक्तिलाई गाँजा विक्रि वितरण गरेमा वा उपलब्ध गराएमा,
(च) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम राख्नु पर्ने विक्रि वितरणको अभिलेख नराखेमा वा त्यस्तो अभिलेख बोर्ड वा प्रचलित कानून बमोजिमको अधिकारीलाई उपलब्ध नगराएमा,
(छ) अनुमतिपत्र प्राप्त व्यक्तिले त्यस्तो अनुमतिपत्र खारेज गर्नको लागि निवेदन दिएमा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुमतिपत्र खारेज गर्नु अघि सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिइनेछ । तर सो उपदफाको खण्ड (छ) बमोजिमको अवस्थामा त्यस्तो मौका दिईरहनु पर्नेछैन ।
(३) उपदफा (१) बमोजिम अनुमतिपत्र खारेज गरेकोमा चित्त नबुझ्ने व्यक्तिले खारेज गर्ने निर्णय भएको मितिले३५ दिनभित्र मन्त्रालय समक्ष उजूरी दिन सक्नेछ र त्यसरी परेको उजूरीमा मन्त्रालयबाट भएको निर्णय अन्तिम हुनेछ ।

परिच्छेद–३
उत्पादन तथा विक्रि वितरण सम्बन्धी व्यवस्था
१०. लेबुल, -यापर्स तथा प्याकिङ्ग

(१) कृषकले आफूले उत्पादन गरेको गाँजा, सुकेको गाँजाको पात वा हाँगा रहेको प्याकेट वा गाँजा वा भाँगको दाना वा फुल रहेको प्याकेट वा -यापर्समा देहायको विवरण भएको लेबुल लगाउनुपर्नेछ ः–
(क) गाँजा खेति गर्नको लागि निजले प्राप्त गरेको अनुमतिपत्र नम्बर
(ख) गाँजाको फसल तयार भई उत्पादन गरिएको वर्ष र महिना,
(ग) गाँजा उत्पादन गरिएको स्थानीय तह र जिल्ला,
(घ) प्याकेट तथा -यापर्स भित्र रहेको गाँजाको परिमाण,
(ङ) तोकिए बमोजिमको चेतावनी मूलक सन्देश,
(च) तोकिएका अन्य हानिकारक तत्व एवं आवश्यक कुराहरु ।
(२) उपदफा (१) बमोजिमको कृषक बाहेक गाँजा प्रशोधन गरी खाद्य पदार्थको निर्माण गर्ने अनुमतिपत्र प्राप्त व्यक्तिले लेबुल राख्दा खाद्य पदार्थ सम्बन्धि प्रचलित कानून बमोजिम तथा गाँजाबाट औषधि उत्पादन गर्ने उत्पादकले औषधि सम्बन्धी प्रचलित कानून बमोजिमको लेबुल राख्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमम लेबुल राख्दा त्यस्तो लेबुलमा सो पदार्थको उपभोगबाट पर्न सक्ने प्रभावको बारेमा तोकिए बमोजिमको चेतावनीमूलक सन्देश समेत उल्लेख गर्नु पर्नेछ ।
११. अभिलेख राख्नु पर्ने ः (१) कृषकले गाँजा खेति सम्बन्धमा देहायको अभिलेख तोकिए बमोजिमको ढाँचामा अद्यावधिक रुपमा राख्नु पर्नेछ र त्यस्तो विवरण स्थानीय समितिलाई समेत दिनु पर्नेछ ।
(क) गाँजा खेति गरिएको जग्गाको कित्ता नम्बर र जम्मा क्षेत्रफल,
(ख) फसल तयार हुने क्रममा रहेको गाँजाको वयस्क बोटको संख्या,
(ग) फसल भित्र्याए पछि वयस्क गाँजाको बोटबाट प्राप्त सुकेको गाँजाको कुल परिमाण,
(घ) गाँजा वा भाँगको दाना उत्पादन गरेकोमा त्यसको परिमाण,
(ङ) बोर्डलाई बिक्रि गरेको गाँजाको परिमाण र मिति,
(च) तोकिए बमोजिमको अन्य विवरण ।
(२) उपदफा (१) मा लेखिए देखि बाहेकका अन्य अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले
उत्पादन, प्रशोधन तथा विक्रि वितरण गरेको गाँजा तथा त्यसबाट बनेको औषधिजन्य पदार्थको विक्रीको दैनिक विवरण राख्नु पर्नेछ र त्यस्तो विवरण राख्दा खरिद गर्ने व्यक्तिको नाम, थर वतन, उमेर, नागरिकता नम्बर वा राष्ट्रिय परिचय नम्बर, त्यस्तो औषधि सिफारिस गर्ने चिकित्सकको नाम तथा नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर तथा तोकिए बमोजिमको विवरणको अभिलेख राख्नु पर्नेछ ।
(३) गाँजाबाट औषधि उत्पादन गर्ने वा गाँजाको निकासी गर्ने व्यक्तिले प्रत्येक वर्ष गरेको उत्पादन तथा निकासीको विवरण बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (२) र (३) बमोजिमको अभिलेखको विवरण अनुमतिपत्र प्राप्त व्यक्तिले मासिक रुपमा बोर्डमा पठाउनु पर्नेछ ।
(५) बोर्डले यस दफा बमोजिमको अभिलेख विद्युतिय प्रणालिको विकास गरी अनलाईनबाट समेत अद्यावधिक गर्न, अभिलेख गर्न र पठाउन सकिने व्यवस्था गर्न सक्नेछ ।
१२. विक्रि वितरणमा बन्देज ः (१) अनुमतिपत्र प्राप्त व्यक्तिले देहायको व्यक्ति बाहेक अरुलाई गाँजाको
विक्रि वितरण गर्न वा निशुल्क रुपमा दिनु हुँदैन ः–
(क) कृषकले आफूले उत्पादन गरेको गाँजा बोर्ड वा बोर्डले तोकिदिएको निकाय, कार्यलय वा औषधि उत्पादन गर्ने निकाय, कम्पनी वा उद्योग,
तर खाद्य प्रयोजनको लागि प्रयोगमा आउने भाँगको दाना वा दानाबाट उत्पादन भएको तेल वा मह वा रेसाबाट उत्पादन भएको कपडा वा डाँठबाट उत्पादन भएको सामाग्री जो सुकैलाई बिक्रि वितरण गर्न यसमा लेखिएको कुराले कुनै बाधा पर्ने छैन ।
(ख) निकासी वा बिक्रि वितरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकको प्रेष्कृप्सनको आधारमा सम्बन्धित व्यक्तिलाई,
(ग) निकासी वा बिक्रि वितरणको लागि अनुमतिपत्र प्राप्त व्यक्तिले निकासी गर्दा निकासी गरिने मुलुकको कानून बमोजिम त्यस्तो गाँजा खरिद गरिलिन स्वीकृति प्राप्तव्यक्ति वा कम्पनीलाई ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि खरिद कर्ताको नाम, थर, ठेगाना समेतको अभिलेख राखि तोकिए बमोजिमको परिमाणमा नबढ्ने गरी बिक्रि वितरण गर्न बाधा पर्ने छैन । तर एकाइस वर्ष उमेर पूरा नभएका वा गर्भवति महिलालाई बिक्रि वितरण गर्न वा
निःशुल्क उपलब्ध गराउन पाईने छैन ।
(३) उपदफा (२) को प्रयोजनको लागि अनुमतिपत्रवालाले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाण माग गर्न सक्नेछ र त्यसरी प्रमाण माग गरेको प्रमाण पेश गर्नु सम्बन्धित क्रेताको कर्तव्य हुनेछ ।
(४) कसैले पनि शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक किलो मिटरभित्रको घर, पसलबाट गाँजा बिक्री वितरण गर्न गराउन पाउने छैन ।
१३. जानकारी गराउने ः कृषकले आफूले लगाएको गाँजाको फसल भित्र्याउनको लागि तयार भएपछि त्यसलाई भित्र्याउनु वा स्याहार्नु अघि सम्बन्धित निरीक्षक वा समितिलाई जानकारी गराउनुपर्नेछ ।

१४. विज्ञापन तथा प्रायोजन गर्न नपाइने ः कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफ.एम., इन्टरनेट, ई–मेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट गाँजा तथा गाँजाबाट बनेका पदार्थको विज्ञापन वा प्रवद्र्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन । तर खाद्य प्रयोजनको लागि प्रयोगमा आउने भाँगको दाना वा दानाबाट उत्पादन भएको तेल वा मह वा रेसाबाट उत्पादन भएको कपडा वा डाँठबाट उत्पादन भएको सामाग्री वा यस्तै अन्य औद्योगिक वस्तुको प्रचलित कानून बमोजिम विज्ञापन गर्न बाधा पर्ने छैन ।

परिच्छेद–४
बोर्ड तथा कर्मचारी सम्बन्धी व्यवस्था
१५. बोर्डको गठन ः (१) गाँजा खेति तथा यसको बिक्रि वितरणको अनुगमन तथा नियमन सम्बन्धी काम समेतको लागि देहाय बमोजिमका सदस्यहरु रहेको नियमन बोर्ड गठन गरिएको छ ः–
(क) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय –अध्यक्ष
(ख) सहसचिव, कृषि तथा पशु पन्छी विकास मन्त्रालय – सदस्य
(ग) सहसचिव, गृह मन्त्रालय – सदस्य
(घ) सहसचिव, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय –सदस्य
(ङ) महानिर्देशक, औषधि व्यवस्था विभाग – सदस्य
(च) महानिर्देशक, आयुर्वेद विभाग – सदस्य
(छ) महानिर्देशक, स्वास्थ्य सेवा विभाग – सदस्य
(ज) महानिर्देशक, कृषि सेवा विभाग – सदस्य
(झ) प्रतिनिधि, नेपाल प्रहरी – सदस्य
(ञ) प्रमुख, लागू औषध नियन्त्रण व्यूरो – सदस्य
(ट) अध्यक्ष, नेपाल औषधि व्यवासायी संघ – सदस्य
(ठ) प्रतिनिधि, नेपाल मेडिकल काउन्सिल –सदस्य
(ड) सम्बन्धित विषयको विज्ञहरु मध्येबाट कम्तीमा दुई महिला सहित मन्त्रालयले तोकेका पाँच जना –सदस्य
(ढ) कार्यकारी निर्देशक –सदस्य–सचिव
(२) उपदफा (१) को खण्ड (ड) बमोजिम तोकिएको सदस्यका पदावधि दुई वर्षको हुनेछ र निजले बोर्डको हित विपरितको काम गरेमा मन्त्रालयले निजलाई जुनसुकै समयमा बोर्डको सदस्यबाट हटाउन सक्नेछ । सदस्य हटाउनु अघि नीजलाई स्पष्टिकरणको मनासिव मौका दिईनेछ ।
(३) बोर्डको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र आवश्यकता अनुसार उपत्यका बाहिर पनि शाखा कार्यालय वा संकलन केन्द्र खोल्न सकिनेछ ।
१६. बोर्डको बैठक र निर्णयः(१) बोर्डको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) अध्यक्षले तोकेको मिति, समय र स्थानमा बोर्डको बैठक बस्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको अनुपस्थितिमा सदस्य–सचिवले समितिका सदस्यहरुसँग परामर्श गरी तोकेको मिति, समय र स्थानमा समितिको बैठक बस्न सक्नेछ ।
(४) बोर्डकाको बैठक हुनुभन्दा कम्तीमा चौबीस घण्टा अगावै बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना सदस्य–सचिवले बोर्डका सदस्यहरुलाई दिनेछ ।
(५) बोर्डको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) बोर्डको बैठकको अध्यक्षता बोर्डको अध्यक्षले र निजको अनुपस्थितिमा बोर्डका सदस्यहरुले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(७) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(८) बोर्डको बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रमाणित गरी राख्नेछ ।
(९) बोर्डले आवश्यक ठानेमा बोर्डको कामसँग सम्बन्धित कुनै विशेषज्ञ वा पदाधिकारीलाई बोर्डको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(१०) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिमहुनेछ ।
१७. बोर्डको काम, कर्तव्य र अधिकार ः बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) गाँजा खेति तथा यसको बिक्रि वितरणलाई नियमन तथा व्यवस्थापनको लागि अपनाउनु पर्ने नीति तथा सुधार गर्नु पर्ने कानूनको सम्बन्धमा मन्त्रालय समक्ष सुझाव पेश गर्ने,
(ख) गाँजाको गैरकानूनी खेती, बिक्रि वितरणलाई तथा उपयोगलाई रोक्न अवलम्बन गर्नु पर्ने उपयायहरुको बारेमा मन्त्रालयलाई आवश्यक सुझाब पेश गर्ने,
(ग) कृषकबाट उत्पादित गाँजाको विक्रि वितरणको लागि अवलम्बन गर्नु पर्ने आवश्यक व्यवस्थाको बारेमा आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई सुझाब दिने,
(घ) गाँजा खेति तथा बिक्रि वितरणको अनुगमन तथा निरीक्षण गर्ने, गराउने,
(ङ) कृषकबाट उत्पादन भएको सुकेको गाँजा र त्यसकोउत्पादन खरिद गरी लिने,
(च) बोर्डले खरिद गरेको गाँजाको विक्रि वितरण वा निकासीको लागि अनुमतिपत्र प्राप्त व्यक्ति वा कम्पनी वा औषधि निर्माण गर्ने निकाय, कम्पनि वा संस्थालाई विक्रि वितरण गर्ने, यसरी विक्रीबाट उठेको मुनाफा र राजस्व नेपाल सरकारको खातामा जम्मा गर्ने,
(छ) गाँजाको उपभोग तथा यसले पार्ने प्रभावको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने,
(ज) कृषकबाट खरिद गरेको गाँजाको भण्डारणको लागि आवश्यक संरचना निर्माण गर्ने,
(झ) गाँजाको औषधिय उपयोगको सम्बन्धमा अनुसन्धान गर्ने गराउने,
(ञ) यस ऐनको प्रतिकुल हुने गरी गरिएको गाँजा खेति नष्ट गर्ने गराउने,
(ट) गाँजा कृषकबाट खरिद गर्ने मूल्य र बिक्रि मूल्य निर्धारण गर्ने,
(ठ) निरीक्षकको काम कारबाहीको सम्बन्धमा निरीक्षकलाई आवश्यक निर्देशन दिने,
(ड) बोर्डको वार्षिक योजना, कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वीकृति गर्ने,
(ढ) गाँज खेति गरे वापत बुझाउनु पर्ने रोयल्टीको दर निर्धारण गर्न मन्त्रालयलाई सिफारिस गर्ने,
(ण) मन्त्रालयबाट स्वीकृत मापदण्डको अधिनमा रही कृषकले उत्पादन गरेको गाँजाको बोर्डले खरिद गर्ने मूल्य निर्धारण गर्ने,
(त) कृषकलाई प्राविधिक सहयोग उपलब्ध गर्ने, गराउने तथा गाँजा खेति सम्बन्धी तालिम तथा अन्य जानकारी कृषकलाई उपलब्ध गराउने ।

(थ) गाँजा खेति तथा यसको उत्पादन तथा विक्री वितरणको अनुगमन, मूल्याङ्कन तथा समीक्षा गर्ने, गराउने,
(द) गाँजाबाट स्थानीय ज्ञानको आधारमा उत्पादन हुने स्थानीय सामाग्री सम्बन्धी ज्ञानलाई संरक्षण गर्ने र त्यसमा नेपालको वौद्धिक अधिकार स्थापित गर्ने, गराउने

(ध) तोकिए बमोजिमको काम गर्ने गराउने ।
१८. कार्यकारी निर्देशक ः (१) बोर्डको प्रशासकीय प्रमुखको रुपमा एकजना कार्यकारी निर्देशक रहनेछ ।
(२) नेपाल सरकारले कार्यकारी निर्देशक पदमा उपयुक्त व्यक्तिलाई नियुक्त गर्न वा तोक्न सक्नेछ ।
(३) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निज पुनः बढीमा चार वर्षको लागि नियुक्त हुन वा तोकिन सक्नेछ ।
(४) कार्यकारी निर्देशकको काम, कर्तव्य, अधिकार र पारिश्रमिक सेवाको शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
१९. बोर्डको कर्मचारी ः (१) बोर्डको कार्य सञ्चालनको निमित्त बोर्डमा आवश्यक संख्यामा कर्मचारी रहनेछन्।
(२) बोर्डलाई आवश्यक पर्ने कर्मचारी मन्त्रालयले उपलब्ध गराउनेछ । मन्त्रालयबाट कर्मचारी उपलब्ध हुन नसकेमा बोर्डले मन्त्रालयको पूर्व स्वीकृति लिई आवश्यक कर्मचारी करारमा राख्न सक्नेछ ।
(३) बोर्डका कर्मचारीहरुको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा नेपाल सरकारको मापदण्ड भित्र बोर्डले तोके बमोजिम हुनेछ ।
२०. निरीक्षक सम्बन्धी व्यवस्था ः (१) अनुमतिपत्र प्राप्त व्यक्तिलेयस ऐन बमोजिम पालना गर्नु पर्ने शर्तहरु पालना वा पूरा गरे वा नगरेको सम्बन्धमा निरीक्षण गर्ने काम समेतको लागि बोर्डले बोर्डका कर्मचारी मध्येबाट आवश्यक संख्यामा निरीक्षक नियुक्ति गर्न वा मन्त्रालयको स्वीकृतिमा मन्त्रालय वा मन्त्रालयको मातहतको कुनै कर्मचारीलाई निरीक्षकको रुपमा तोक्न वा खटाउन सक्नेछ ।
(२) निरीक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) अनुमतिपत्र प्राप्त व्यक्तिलेयस ऐन तथा यस ऐन अन्र्तगत बनेको नियमावली बमोजिम पालना गर्नुपर्ने शर्तको पालना गरे वा नगरेको वा पूरा गर्नुपर्ने शर्त पूरागरे वा नगरेको सम्बन्धमा नियमित रुपमा आफ्नो क्षेत्राधिकारभित्रको जुनसुकै स्थलको निरीक्षण गर्ने,

(ख) कृषकबाट उत्पादन भएको गाँजाको अनधिकृतरुपमा प्रयोग हुन नदिन सतर्कता अवलम्बन गर्न कृषकलाई सुझाब दिने,
(ग) अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन तथा यस ऐन बमोजिम बनेको नियमावली बमोजिम राख्ने अभिलेख राखे नराखेको जाँच गर्ने,
(घ) कृषकबाट उत्पादन भएको गाँजा बोर्डलाई बिक्रि गर्ने कार्यको लागि सहजिकरण गर्ने,
(ङ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।
(३) उपदफा (२) बमोजिम निरीक्षण गर्दा कुनै अनुमतिपत्र प्राप्त व्यक्तिले यस ऐन बमोजिम गर्नु पर्ने कुराहरु पूरा गरेको नदेखिएमा निरीक्षकले त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिको अनुमतिपत्र रद्द गर्ने कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गर्न सक्नेछ ।
(४) यस ऐनमा लेखिएदेखि बाहेक निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

परिच्छेद–५
बोर्डको कोष सम्बन्धी व्यवस्था
२१. बोर्डको कोष ः (१) बोर्डको एउटा छुटैृ कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) अनुमतिपत्र दस्तुर तथा नवीकरण दस्तुर वापत प्राप्त रकम,
(ग) कृषकबाट उठाइएको रोयल्टी रकम मध्ये तोकिए बमोजिमको रकम,
(घ) बोर्डले गाँजा बिक्रिगर्दा प्राप्त हुन आउनेमुनाफा रकम,
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) बोर्डलाई प्राप्त हुने सबै रकम नेपाल भित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा
गरिनेछ ।
(३) उपदफा (१) बमोजिमको कोषबाट देहायका खर्च व्यहोरिनेछ ः–
(क) कृषकबाट गाँजा खरिद गर्न तथा भण्डारणको लागि पूर्वाधार विकास गर्न,
(ख) गाँजा खेति गरिने स्थानको आर्थिक तथा सामाजिक क्रियाकलाप सञ्चालन गर्न,
(ग) औषधि उत्पादन तथा अनुसन्धान गर्न,
(घ) वातावरण संरक्षण गर्न,
(ङ) बोर्डको प्रशासनिक कार्य सञ्चालन गर्न ।
तर त्यस्तो कार्य सञ्चालन गर्न कोषमा जम्मा भएको रकमको चार प्रतिशत भन्दा बढी हुने छैन ।
(४) कोषको खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
२२. लेखा र लेखापरीक्षण  (१) बोर्डको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम
राखिनेछ ।
(२) बोर्डको लेखाको लेखापरीक्षण महालेखा परीक्षकद्वारा हुनेछ ।

परिच्छेद–६
समितिको गठन तथा काम, कर्तव्य र अधिकार
२३. समितिको गठन  (१) गाँजा खेतिको नियमन तथा व्यवस्थापन गर्नको लागि दफा ४ बमोजिम तोकिएको जिल्लामा देहाय बमोजिमको एक समिति रहनेछः–
(क) सम्बन्धित जिल्लाको जिल्ला समन्वय प्रमुख –अध्यक्ष
(ख) प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय –सदस्य
(ग) सम्बन्धित जिल्लाको कषि ज्ञान केन्द्रको प्रमुख –सदस्य
(घ) जिल्लाको सदरमुकाम स्थित अस्पताल वा जनस्वास्थ्य
कार्यालयका प्रमुखहरु –सदस्य
(ङ) प्रतिनिधि जिल्ला प्रहरी कार्यालय –सदस्य
(च) गाँजा खेति गरिने स्थानीय तहका कृषि विषय हेर्ने अधिकृतहरुमध्येबाट समितिले तोकेको स्थानीय तहको अधिकृत एकजना –सदस्य
(छ) गाँजा खेति गर्ने स्थानीय कृषकहरु मध्येबाट एक महिला सहित समितिले तोकेको ३ जना –सदस्य
(ज) बोर्डको जिल्ला स्थित कार्यालय वा संकलन केन्द्रको प्रमुख –सदस्य सचिव
(२) समितिको बैठक तथा तत् सम्बन्धी कार्यविधि सो समिति आर्फैले निर्धारण गरे बमोजिम हुनेछ ।
२४. समितिको काम, कर्तव्य र अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ
(क) आफ्नो क्षेत्रभित्र गरिएको गाँजा खेतिको नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्ने गराउने,
(ख) यस ऐन तथा नियमावली प्रतिकूल हुने गरी गरिएको गाँजा खेतिलाई नष्ट गर्ने,
(ग) गाँजा तथा यसबाट उत्पादित पदार्थको प्रयोग र त्यसका असरको बारेमा स्थानीय स्तरमा सचेतना जगाउने,
(घ) बोर्डबाट सञ्चालन भएका कार्यक्रमलाई सञ्चालनको लागि सहजिकरण गर्ने,
(ङ) बोर्डबाट माग भएका विवरण संकलन गरी उपलब्ध गराउने,
(च) तोकिए बमोजमका अन्य कार्य गर्ने ।

परिच्छेद–७
कसूर र सजाय सम्बन्धी व्यवस्था
२५. कसूर तथा सजाय ः (१) कसैले देहायको कुनै काम गरेमा यस ऐन विपरितको कसूर गरेको मानिनेछ ः–
(क) दफा ६ बमोजिम अनुमतिपत्र प्राप्त नगरी गाँजा खेति गरेमा वा त्यसको निकासी वा बिक्रि वितरण गरेमा,
(ख) दफा १० बमोजिम लगाउनु पर्ने लेबुल नलगाएमा,
(ग) दफा ११ बमोजिम राख्नु पर्ने विवरण वा अभिलेख नराखेमा वा त्यस सम्बन्धी झुटृा विवरण तयार गरेमा,
(घ) दफा १२ विपरित गाँजाको बिक्रि वितरण गरेमा,
(ङ) दफा १४ विपरित विज्ञापन गरेमा,
(च) योऐन विपरितको अन्य कुनै काम गरेमा ।
(२) देहायको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय गर्न सक्नेछ ः–
(क) उपदफा (१) को खण्ड (क) वा (घ) बमोजिमको कसूरमा १ वर्षसम्म कैद र एक लाख रुपैंयाँ सम्म जरिवाना,
(ख) उपदफा (१) को खण्ड (ख), (ग) वा (ङ) बमोजिमको कसूरमा ६ महिनासम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना
(ग) उपदफा (१) को खण्ड (च) बमोजिमको कसूरमा एक महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना ।
२६. अनुसन्धान तथा तहकिकात : (१) यस ऐन अन्र्तगतको कसूर सम्बन्धि मुद्दाको अनुसन्धान तथा तहकिकात निरीक्षकले गर्नेछ ।
(२) उपदफा (१) बमोजिम अनुसन्धान तथा तहकिकात गरिएको मुद्दामा निरीक्षकले सम्बन्धित सरकारी वकिलको राय लिएर मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।
२७. सरकारवादी हुनेः यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा नेपाल सरकारवादी चल्नेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ मा समावेश भएको मानिनेछ ।

परिच्छेद–८
विविध
२८. रोयल्टी तथा करः यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले प्रचलित कानूनमा निर्धारण भए बमोजिमको रोयल्टी तथा कर बुझाउनु पर्नेछ ।
२९. उपसमिति वा कार्यदल गठन गर्न सक्नेः (१) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने कुनै कार्य सम्पादन गर्नको निमित्त आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उपसमिति वा कार्यदलको काम, कर्तव्य र अधिकार तथा कार्यविधि सो उपसमिति वा कार्यदल गठन गर्दाका बखत बोर्डले तोके बमोजिम हुनेछ ।
३०. वार्षिक प्रतिवेदन : (१) बोर्डले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको विवरण सहित सो वर्ष भरमा आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको वार्षिक प्रतिवेदन मन्त्रालयले संघीय संसदमा पेश गर्नुपर्नेछ र सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर्नु पर्नेछ ।
३१. अधिकार प्रत्यायोजनः (१) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको अध्यक्ष वा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) कार्यकारी निर्देशकले ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डको अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।
३२. मन्त्रालयले निर्देशन दिन सक्ने : मन्त्रालयले बोर्डलाई आवश्यक निर्देशन दिन सक्ने छ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।
३३. नेपाल सरकारसँग सम्पर्क : बोर्डले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालय मार्फत राख्नु पर्नेछ ।

३४. सहयोग गर्नु पर्ने : यस ऐन बमोजिमको कुनै काम कारबाही सम्पादन गर्ने सिलसिलामा निरीक्षकले स्थानीय प्रशासनको सहयोग माग गर्न सक्नेछ । त्यसरी सहयोग माग भएमा आवश्यक सहयोग गर्नु स्थानीय प्रशासनको कर्तव्य हुनेछ ।
३५. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।
३६. खारेजी : लागू औषध (नियमन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड (१) र उपखण्ड (२) तथा खण्ड (ख) र खण्ड (ग), दफा ४ को खण्ड (क), दफा ११ को खण्ड (क) र दफा १४ को खण्ड (क), (ख) (ग) र (घ) खारेज गरिएको छ ।

Advertisement

Advertisement

Advertisement