‘म पैसामा बिक्छ कि ? भन्ने कल्पनासमेत नगरे हुन्छ, मैले त्यस्तो अनैतिक काम जीवनमा गरेको छैन्’

Advertisement

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका एक प्रतिस्पर्धी किशोर प्रधानले आफू पैसाको प्रलोभनमा परेर प्रतिस्पर्धाबाट बाहिरिन्छ कि ? भनेर गरिएको आशंकाहरुप्रति आपत्ति जनाएका छन् ।

उनले आफूले जीवनमा अनैतिक काम नगरेको बताउँदै भने, ‘मैले त्यस्तौ अनैतिक काम गरेको अहिलेसम्म एक पैसा कमाएको छैन् । कमाउनु पनि छैन् । मैले कुनै बदमासी गरेको छ भने देखाइदिए हुन्छ ।’ आफूलप्रति मिडियाले पनि पूर्वाग्रह राखेर आशंका गर्ने गरेको प्रधानको गुनासो थियो ।

उनले थपे, ‘मैले गरेको गल्ती र बदमासी छ भने तपाईंहरु बाहिर ल्याउनुस् । जति लेख्नुहुन्छ लेख्नुस् । होइन् भने सही र उचित मूल्यांकन गर्नुस् ।’ हारजित भन्ने कुरा प्रतिस्पर्धामा स्वाभाविक भए पनि आफ्नो काम सत्य जे छ, त्यो देखाउने र त्यही बलमा जित्छु भन्ने हिम्मतका साथ आएको हो भन्दै प्रधानले आफू पराजित भएर घरमा बसिरहेको मानिसलाई पुनः उपाध्यक्ष बनाएर ल्याइएको स्मरण गरे ।

उनले भने, ‘म चुनाव हारेको मानिस हो । मेरो आवश्यकता परेकोले यिनीहरुले आफैले बोलाएर ल्याएका हुन् । अहिलेकै अध्यक्ष र पूर्वअध्यक्षले घरबाट पक्रिएर ‘संस्थामा तपाईंको आवश्यकता छ’ भनेर ल्याएका हुन् । त्यसको मूल्यांकन खोई ? जब मूल्यांकन गर्ने बेला आयो, पैसाको प्रलोभन देखाउने ?’

यस्ता बिकृतिलाई मिडियाले समेत लुकाउने र कमजोरलाई खेद्ने काम गरेको गुनासो गर्दै प्रधानले मलाई खान पुगिरहेको छ भने म किन पैसा लिन जाउँ ऊ (चन्द्र ढकाल)सँग ? भनी प्रश्न गरे । वरिष्ठ उपाध्यका लागि महासंघका अर्का उपाध्यक्ष ढकालले उम्मेद्वारी घोषणा गरेका छन् । उनले भने, ‘म किन जाने पैसा लिन, खान पुगेकै छ । मैले आफ्नो इमान राखेर बसेको छु । हो, उसको जति मेरो पैसा नहोला । तर म भिखारी त होइन् नि ।’

व्यवसायी प्रधानले बाबुले एक रुपियाँ पनि सम्पत्ति नदिँदा पनि आफू एक्लैले मेहनत गरेर झण्डै एक अर्बको सम्पत्ति जोड्न सफल भएको उदाहरण दिँदै आफूलाई कसैले दिने भिखको जरुरी नरहेको तर्क गरे । उद्योग बाणिज्य महासंघलाई कस्ता व्यवसायीको जरुरी छ ? भनेर मूल्यांकन हुनुपर्ने उनले बताए ।
नेपाल उद्योग बाणिज्य महासंघको ६० बर्षको इतिहासमा एउटा पनि मध्यम वर्गीय व्यवसायीले किन नेतृत्व गर्न नपाउने ? भन्दै प्रधानले भने, ‘के हामीसँग क्षमता छैन् । मैले २८ बर्ष महासंघकै लागि काम गरेको होइन् र ? व्यवसायीकै हितका लागि आवाज उठाउँदै हिँडेको होइन् र ? पैसा धेरै हुनेले मात्रै यो महासंघको हित गर्छन भन्ने छ र ?

‘किशोरलाई बिक्ने वस्तु नठान्नुहोला’ भन्दै प्रधानले यदि पूर्वअध्यक्षहरुले सर्वसम्मती गराउने प्रयास गरेको हो भने पनि संस्थाको हितको लागि किशोर चाहिँदैन्, अर्को चाहिन्छ भन्नुहुन्छ भने कारण दिनुपर्छ भने । उनले भने, ‘पूर्वअध्यक्षहरुले महासंघको हितको लागि तँ चाहिँदैन भनेर उहाँहरुले तर्कसंगत कुरा गर्नुहुन्छ भने म झोला बोकेर आफ्नै ठाउँमा जान्छु । तर उहाँहरुले सही कारण भन्नुपर्छ किशोर प्रधान तिमी उपयुक्त छैन भने् ।

आफू शिर झुकाएर महासंघबाट ननिस्किने प्रधानले स्पष्ट पारे । उनले यसअघिको निर्वाचनमा पनि आफूले सम्मानजनक भोट पाएको दावी गर्दै अहिले आफूलाई साथीहरुले सही मूल्यांकन गर्छ भन्ने कुरामा विश्वस्त रहेको बताए । तर, आफ्नो विगतको मूल्यांकन नगरी पत्रकारहरुले छुरा रोप्नेगरी पत्रकारहरुले प्रश्न गर्दा दुःख लाग्ने गरेको प्रधानले गुनासो गरे ।

सम्पत्ति शुद्धीकरण लागू गर्ने कुरा व्यवसायीलाई मात्रै तर्साउने अस्त्र हुन नहुने भन्दै उनले भने, ‘सम्पत्ति शुद्धीकरणको हामी विरोधी होइन् । हामीले कमाएको भनेको व्यवसाय गरेर नै हो । कुनै आपराधिक क्रियाकलापमा लागेर कमाएको होइन् । लागू नै गर्ने हो भने पहिला माथिबाट, नेताहरुबाट सुरु गरौं । प्रशासकलाई गरौं, त्यसपछि व्यवसायीलाई गरौं ।’

सम्पत्ति शुद्धीकरणका लागि छानविन गर्ने कुरा ठूलो नभए पनि यसैको नाममा व्यवसायीलाई तर्साउने काम हुन नहुने प्रधानको भनाई छ । तर बदमास व्यवसायीलाई संरक्षण गर्नुपर्छ भन्ने आफ्नो मान्यता पनि नरहेको उनले स्पष्ट पारे । ‘महासंघको नेतृत्व गर्ने भनेको बदमास र व्ल्याकमेलरहरुलाई संरक्षण गर्नुपर्छ भन्ने होइन् । तर, इमान्दार आम व्यवसायीको लागि इमान्दारितापूवर्क नै नेतृत्व गर्नेले काम गर्नुपर्छ । त्यो मैले आफ्नो ठाउँबाट गरेकै छु’, प्रधानले भने ।

Advertisement

Advertisement

Advertisement