खल्ती र सिटी एक्सप्रेसबीच सम्झौता, अब अनलाईनबाटै पैसा पठाउन र निकाल्न सकिने

Advertisement

काठमाडौँ । खल्ती डिजिटल वालेट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच खल्ती एप तथा वेबसाईटबाटै रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्तीका निर्देशक अमित अग्रवालले कमलादी स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् ।

सम्झौता अनुसार अब खल्ती एप तथा वेबसाईटमा रहेको रेमिट्यान्स आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् ।

यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्तकर्ताले सिटी एक्सप्रेसका देशैभरी रहेका ७५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् ।

यसका साथै खल्ती प्रयोगकर्ताले अब छिट्टै नै देशैभरी रहेका सिटी एक्सप्रेसका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

सिटी एक्सप्रेससँगको उक्त सम्झौताका बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले भने–‘हामी सिटी एक्सप्रेससँग यस प्रकारको सहकार्य गरी खल्ती प्रयोगकर्ताहरुलाई एपबाटै सिधै पैसा पठाउन र देशैभरी रहेका सिटी एक्सप्रेसका ७५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिने सेवा प्रदान गर्न पाउँदा उत्साहित छौँ ।’

त्यस्तै, सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले प्रविधि व्यवसायमा संलग्न नेपाली युवाहरुको समूहले सुरु गरेको र निकै रुचाइएको खल्ती जस्तो एक फिन्टेक स्टार्टअपसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

Advertisement

Advertisement

Advertisement