डेटा सेन्टरमा समस्या देखाउँदै रोकिएको सेयर कारोबारमा ५५ मिनेट समय थप, नेप्से १४ अंकले बढ्यो

Advertisement

काठमाडौं । ब्रोकरले चलाउने डेटा सेन्टरमा समस्या देखाउँदै दिनभरी रोकिएको सेयर कारोबार ५५ मिनेट थप गर्दा सेयर बजार परिसुचक नेप्से १४ अंकले बढेको छ भने तीन अर्ब ८५ करोड रुपियाँको कारोबार भएको छ ।

करिव दुई घण्टा मात्रै भएको कारोबारमा पौने चार अर्बभन्दा बढिको सेयर किनबेच निकै उत्साहजनक छ । साथै सोमबार जस्तो सेयर बजारमा भारी गिरावट आज भएन । सर्वसाधारण लगानीकर्ता हिजो जस्तो सेयर बजारमा भारी गिरावट आउने त्रासमा थिए । हिजो नेप्से अहिलेसम्मकै उच्च ९२ अंकले घटेको थियो ।

आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडले डेटा सेन्टरमा समस्या देखाउँदै सूचना जारी गरेर कारोबार रोकेको थियो । कारोबार रोकिएकैले अन्तिममा ५५ मिनेट समय थप गरिएको थियो । ब्रोकरको डेटा सेन्टरमा देखिएको समस्यालाई ब्रोकरको चलाखीको रुपमा कतिपय लगानीकर्ताले औंल्याएका छन् ।

लामो समयसम्म ब्रोकरको सिस्टम डाउन हुँदा लगानीकर्ता अन्योलमा परेका थिए । उनीहरुले यो समस्या जानाजान सिर्जना गरिएको भन्दै बजारमा खेल्न खोजिएको बताएका थिए । ब्रोकरहरुले भने यो आरोपमा सत्यता नरहेको दावी गरेका छन् ।

नेप्सेले हाल कायम ब्रोकरहरुको संख्या ५० बाट बढाएर १०० पुर्याउने तयारी गरिरहेको समाचार बाहिर आएको थियो । सोमबार बजारमा ठूलो गिरावट हुनुमा पनि सोही कारण हुनसक्ने अडकल गरिएको छ । यो विषयमा धितोपत्र बोर्डले छानविन अघि बढाएको छ ।

आजको सेयर कारोबारमा बाणिज्य बैंक समूहको सुचक एक दशमलव ७२ अंकले बढेको छ । अधिकांश समूहका सुचकहरु बढेको आजको कारोबारमा लघुवित्त समूहको सुचक सबैभन्दा बढि चार प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयर ४० करोड रुपियाँभन्दा बढिको कारोबार भयो । दोस्रोमा एनएमबि बैंकको २५ करोड रुपियाँभन्दा बढिको कारोबार भयो ।

Advertisement

Advertisement

Advertisement