यस पटक नेपालमै उपचार गरेर बल्ल ओलीले एउटा राम्रो काम गरेः दीक्षित

Advertisement

काठमाडौं । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले पनि प्रधानमन्त्री केपी ओलीले आफ्नो मिर्गौलाको पुनः प्रत्यारोपण नेपालमै गर्ने निर्णय गर्नु सुखद पक्ष भएको बताएका छन् ।

रिपोर्टर्स क्लवमा मंगलबार उनले नेपालका नेताहरुले सानो रोग लाग्दा पनि विदेश गएर उपचार गरेकोमा उनले दुःख मानेको सुनाउँदे पछिल्लो पटक प्रधानमन्त्री ओलीले लिएको निर्णय सुखद् र सकारात्मक भएको प्रतिक्रिया दिए ।

दीक्षितले भने, ‘ओलीले पनि यसअघिका पाप धोए । केही महिना अघि पनि उनले सिंगापुरमा उपचार गरेका थिए । अहिले मिर्गौलाको पुनः प्रत्यारोपण नेपालमै गर्ने निर्णय गरेर नेपालीहरुको इज्जत बढाईदिए । त्यति मात्रै होईन, नेपाली डाक्टरहरुको पनि ईज्जत बढाए ।’

दीक्षितले प्रत्यारोपणको लागि छनौट गरिएको अहिलेको समयमा भने केही गुनासो पोखे । उनले भने, ‘अहिले कोरोना भाईरसको समय चलिरहेको छ । अहिले नै प्रत्यारोपण गर्नुपर्ने कारण के थियो ? उहाँले त नियमित डायलायसिस गरिरहनुभएको थियो ।’

डा. दीक्षितले चीनबाट फैलिएको कोरोनाको संक्रमण विश्वभरि फैलिएकोले नेपालले पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले नेपालले कोरोनाको संक्रमणबाट जोगिनको लागि तत्काल अन्तर्राष्ट्रिय हवाई आवातजावत बन्द गर्नुपर्ने भनेर आफूले यसअघि पनि बोलिसकेको स्मरण गराए ।

उनले भने, ‘तर, नेपाल सरकारलाई नेपाल भ्रमण वर्ष–२०२० को प्रचार गर्नतिर ध्यान दियो । हाम्रो सरकारलाई पैसा कमाउनेमात्रै ध्यान भयो । कोरोना भाईरसको बारेमा खासै वास्ता गरेन् । यो दुःखद् पक्ष हो ।’ कोरोना भाईरस आज साथ अफ्रिकासमेत पुगिसकेको सुनाउँदै दीक्षितले नेपालले यसरी बेवास्ता गर्नु गलत भएको जनाए । उनले थपे, ‘त्यत्रो टाढा फैलिईसकेको छ भने नेपाल नआईकन बसेको होला र ?’ दीक्षितले दक्षिण कोरियाको एउटा चर्चमा ९ हजारमा यो भाईरसको संक्रमण फैलिएको सुनाए ।

डा. दीक्षितले चीन, दक्षिण कोरियालगायत कोरोना फैलिएका देशबाट खुलेआम नेपाल आउन दिन नहुने तर्क गरे । जापानमा पनि यसको संक्रमण फैलिएपछि अहिले उसले कडा व्यवस्था अपनाएको सुनाउँदै यस्तो बेलामा नेपालबाट २५० जनाको जम्बो टोली नेपाल एयरलाईन्सको फ्लाईटमा जापानको नारिता उडेको भन्दै उनले उक्त कदमप्रति पनि कडा निन्दा गरे । दीक्षितले भने, ‘सर्वोच्च अदालतले समेत रोक लगाएको अवस्थामा नेपाल वायु सेवा निगमले अटेरी गरेर जापान गयो । यो दुःखद् पक्ष हो ।’

काठमाडौं उपत्यकामा कोरोना भाईरस देखिए यसको संक्रमण नराम्रोसँग फैलिनेतर्फ पनि दीक्षितले सचेत गराए । उनले भने, ‘यो ज्वरो नापेरमात्रै थाहा हुँदैन् । हामी सबैको लागि खतरानक कुरो हो ।’ यद्यपी उनले नेपालीहरुसँग रोगसँग लड्ने क्षमता भने बढि रहेको सुनाए । दीक्षितले कोरोनाको डर प्रशस्तै मात्रामा भएपनि तर्सिनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारे । उनले यसबाट बच्नको लागि सतर्कता अपनाउनसमेत सबैलाई आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement