खतिवडाको पुनरागमनकै दिन नेप्से ६८ अंकले खस्कियो, सेयर बजार धरासायी हुने संकेत

Advertisement

काठमाडौं । गत साता उत्साहजनकरुपमा बढेको सेयर बजार यो हप्ता निकै निराशाजनक देखिएको छ । बजारमा बुधबार पनि भारी गिरावट भयो । आज सेयर बजार परिसुचक नेप्से ६८ दशमलव ४९ अंकले घटेर एक हजार ४४१ कायम भएको छ ।

अर्थमन्त्रालयमा युवराज खतिवडाको पुनरागनकै दिन सेयर बजारमा निराशाजनक अवस्था देखिएको हो । यसलाई कतिपयले खतिवडाले पुनरागमनको संकेतको रुपमा हेरेका छन् भने कतिपयले ब्रोकरहरुको बदमासीको रुपमा हेरेका छन् । स्टक ब्रोकरहरुको संख्या थप्ने तयारीका कारण पूराना ब्रोकरहरुको नियोजितरुपमा सेयर बजारमा कृतिम गिरावट सिर्जना गरेको केही सेयर बजार विश्लेषकहरुको अनुमान छ । बैंकहरुबाट सर्वसुलभरुपमा ऋण प्राप्त भएको बेलामा बजारमा गिरावट देखिनुको पछाडि कोरोना भाइरसको त्रासको असर पनि हुनसक्ने कतिपयको विश्लेषण छ । अन्तर्राष्ट्रिय सेयर बजारमा कोरोनाकै कारण भारी गिरावट भएको अवस्था छ ।

अघिल्ला दिनहरुमा देखिएको उत्साहजनक सेयर कारोबारमा आज कमी आएको छ । आज कुल दुई अर्ब ९० करोड ८४ लाख रुपियाँको कारोबार भयो । आज पनि धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उसको २६ करोड ६६ लाख रुपियाँको कारोबार भयो भने दोस्रोमा एनएमबिको १३ करोड ८९ लाख रुपियाँको कारोबार भयो ।

आज कुनै पनि समूहका सुचकहरुमा सुधार आउन सकेन् । बाणिज्य बैंक समूहको सुचक चार दशमलव ५४ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा र लघुवित्त समूहका सुचकहरु छ प्रतिशतभन्दा बढिले घटेका छन् । जीवन बीमा समूहको सुचकको गिरावट पनि पाँच प्रतिशतभन्दा बढि रहेको छ ।

आज कुल १७४ कम्पनीको सेयर कारोबार भएकोमा नौ वटा कम्पनीको सेयरमा मात्रै सुधार आएको छ भने बाँकी सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् । धेरै गुमाउनेमा नेशनल माइक्रोफाइनान्सका लगानीकर्ता छन् । बजारमा देखिएको अस्थिरताका कारण विशेषगरी साना लगानीकर्ताहरुमाथि ठूलो मार परेको छ । ठूला कम्पनी र लगानीकर्ताहरुको स्वार्थमा हुने चलखेलका कारण हरेक पल्ट साना लगानीकर्ताहरु शोषणमा पर्ने गरेको देखिएको छ ।

Advertisement

Advertisement

Advertisement