गाँजा खेती खुल्ला गर्नुपर्ने आवाज बढ्दै गएको बेला काँग्रेसका यी नेता भने विरोधमा

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका एक नेता दीपक खड्काले नेपालमा गाँजा खेति खुल्ला गर्ने विषय संवेदनशील भएको भन्दै यसमा विशेष छलफल र ध्यान दिनुपर्ने तर्क अघि सारेका छन् ।

थुप्रै विज्ञहरुले बहुगुणी गाँजालाई लागू औषधबाहेक अन्य उपयोगी प्रयोजनका लागि खुल्ला गर्न सकिने बार्षिकरुपमा नेपाललाई खर्बौं रुपियाँ आम्दानी हुने बताइरहेको बेला बुधबार रिपोर्टर्स क्लबमा खड्काले सपना पनि पूरा हुने खालका देखाउनुपर्ने तर्क गरे ।

उनले भने, ‘नेपालले डेढ खर्बको धान, कोदो र मकै मुलुक बाहिरबाट किनेर ल्याएको छ । सिंचाई हुने उत्पादित जमिन पनि अहिले बाँझै छ । युवाहरु विदेश पलायन भएका छन् । नेपालबाट ब्रेन र मसल दुवै ड्रेन भएको छ । अब यहाँ, नेपालमा बसेका र जो विदेश जान नसकेकाहरुलाई गाँजा सेवन गराएर डिप्रेसनको सिकार गराउन खोजेको हो ? म प्रश्न गर्न चाहन्छु ।’

खड्काले कमाई त गाँजाबाट मात्रै होईन रक्तचन्दनबाट पनि हुन्छ भन्ने कुरा नसुनेको होईन भन्दै गाँजा खेति खुल्ला गर्नुपर्ने विद्येयकको घुमाउरो पारामा विरोध गरे । उनले भने, ‘गाँजा खेति त व्यवस्थित् गर्ने कुरा भयो, तर भोलिका दिनमा यसको असर के हुने हो ? हामीले आफ्नो धरातल पनि हेर्नुपर्छ । समृद्धि हाँसिल गर्नतर्फ मात्रै नहेरौं ।’

खड्काले सत्ता पक्षका सांसदहरुले विद्येयक दर्ता गराएकोले फेल हुने सम्भावना नरहेको पनि सुनाए । उनले भने, ‘सत्तापक्षका सांसदहरुले दर्ता गराएको विद्येयक हो, फेल हुने त कुरै छैन् । तर, हामीले यो विषयमा गम्भीर भएर सोचौं ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टी काँग्रेसभित्र देखिएको विवाद नेताहरुले विधान नमान्दा उत्पन्न भएको बताए । खड्काले भने, ‘पार्टीभित्र विचार र छलफल हुन्छ । यसले नै चीरा पर्यो भनेर धेरैले भनेको पनि सुनियो ।’ उनले पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गर्दा होस वा केन्द्रिय सदस्यहरु मनोनित गर्दा नै किन नहोस विधान नमानेको भन्ने पनि आरोप पार्टीभित्र लागेको सुनाए ।

खड्काले प्रश्न गर्ने (रामचन्द्र पौडेल पक्ष) र निर्णय गर्ने (शेरबहादुर देउवा) दुवै समूहले विधान विपरित काम गरेको र दुवै समूह यसमा चुकेको आरोप लगाए । उनले भने, ‘विधान सबैले मिचेका छन् । ५ जना नेतालाई चिक्त बुझ्दा विधान मिचेको कुरा नउठ्ने तर ५ जना नेतालाई चित्त नबुझ्दा चाहीँ विधान मिचेको कुरा उठ्ने गरेको छ । यो गलत हो ।’

पार्टीभित्र हुने छलफल तथा बहसले परिस्कृत गर्ने भए राम्रै हुने नत्र नकारात्मक असर पर्नेतर्फ पनि खड्काले पार्टी नेतृत्वलाई सचेत गराए । अहिले देखिएको विवादको विषयमा प्रश्न उठाउनेको पनि कमजोरी रहेको उनको भनाई छ । खड्काले देउवा र पौडेल दुवै समूह सच्चिन जरुरी रहेको छ ।

Advertisement

Advertisement

Advertisement