कुकुरमा पनि देखिन थाल्यो कोरोना भाइरस

Advertisement

हङकङ । हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् ।

यसअघि जनावरबाट मानिसमा संक्रमण भएको भनिए पनि मानिसबाट जनावरमा संक्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् ।

पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थियो । सुरुमा एकदमै न्यून रुपमा संक्रमण भएको बताइएको थियो । कुकुरको नाक वा मुख कोभिड–१९ संक्रमण हुन सक्ने सिँगान तथा र्‍यालजस्ता चिजको सम्पर्कमा पुगेको हुन सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिने पनि साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ । ‘कुकुरमा कोभिड–१९ पोजिटिभ देखिएको छ । कृषि, मत्स्यपालन तथा संरक्षण विभागमा उसलाई क्वारेन्टाइनमा राखिनेछ,’ हङकङकी स्वास्थ्य मन्त्री सोफिया चान सिउ चीले नियमित पत्रकार सम्मेलनमा भनिन् । नियमित रुपमा कुकुरको स्वास्थ्य चेक गरिने र नेगेटिभ नदेखिएसम्म क्वारेन्टाइनमै राखिने पनि उनले जानकारी दिइन् ।

विभागले हङकङ विश्वविद्यालय, सिटी विश्वविद्यालय र पशु स्वास्थ्यसम्बन्धी विश्व संगठनसँग पनि यसबारेमा परामर्श गरिरहेको बताएको छ । विभागका प्रवक्ताले अहिलेसम्म घरपालुवा जनावर कोभिड–१९ संक्रमणको स्रोत भएको पुष्टि नभएकाले यस घटनाबाट आत्तिनु नपर्ने बताएका छन् । घरपालुवा जनावरको सरसफाइमा ध्यान दिनुको अलावा अत्याधिक चिन्तित हुन नपर्ने पनि विभागले बताएको छ । कुनै पनि परिस्थितिमा घरपालुवा जनावरलाई त्याग्नुपर्छ भन्ने अवस्था नरहेको पनि विभागले जनाएको छ ।

‘अहिले भएका परीक्षणको रिपोर्टले कुकुरमा एकदमै न्यून तहको संक्रमण हुने देखिएको छ । सन् २००३ मा सार्स महामारीका बेलामा पनि केही कुकुरमा न्यून तहको संक्रमण देखिएको थियो,’ सिटी विश्वविद्यालयकी पशु स्वास्थ्य विज्ञ भेनेसा बार्सले भनिन् । घरबेटीलाई कोभिड–१९ को संक्रमण देखिएकाले पोमरेनियन प्रजातिको कुकुरमा देखिएको संक्रमण अचम्मित पार्ने खालको पनि नभएको उनले बताइन् । अहिलेसम्म गरिएका खोज अनुसन्धान र प्रमाणका आधारमा कोभिड–१९ मानिसबाट मानिसमा मात्रै सरेको देखिएकाले नआत्तिन उनले आग्रह गरिन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ को संक्रमणबाट हङकङमा अहिलेसम्म २ जनाको मृत्यु भएको छ भने १०३ जनामा संक्रमण देखिएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement