मास्क कालोबजारी गर्ने यी हुन २१ फर्म, जसले तिरे साढे ११ लाख जरिवाना

Advertisement

काठमाडौं । मास्कको कालोबजारी गर्ने २१ वटा फर्ममा सरकारले छापा मारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सातामा २१ वटा फर्ममा छापा मारेर कालो बजारी गरेको आरोपमा ११ लाख ६० हजार रुपैयाँ जरिवाना गरेको हो ।

कोरोनो भाइरसको त्रास बढेको समयमा मास्कको कालोबजारीमा संलग्न ती फर्महरुमा छापा मारेर जरिवाना गरिएको हो । फागुन १४ गतेदेखि २२ गतेका बीचमा २१ वटा फर्मलाई
कारवाही गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । विभागले यतिबेला मास्कको कालोबजारी रोक्न बजार अनुगमनलाई तिब्रता दिईरहेको छ ।

यी हुन कालोबजारी गर्ने फर्म
विभागले २२ गते मात्रै मास्क तथा औषधिजन्य सामग्री कृतिम अभाव सिर्जना गर्ने ४ वटा औषधि पसललाई ४ लाख ३० हजार रुपैयाँ जरिवाना गरेको छ । अनुगमन टोलीले बिहीबार वीर अस्पतालस्थित आयूष फार्मेसीलाई २ लाख, आईज्याक हस्पिटेक सपोर्ट क्षेत्रपाटीलाई २ लाख, एसजे मेडिको सर्जिकल क्षेत्रपाटीलाई २० हजार र आरएस फार्मेसी महाबौद्धलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागले २१ गते पनि ६ वटा व्यवसायीलाई २ लाख ६५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।बुधबार कारवाहीमा पर्नेहरुमा एसएस बि स्टोर (मार्ट)मण्डिखाटारलाई ५ हजार २ सय ६५, सिनेस्टार कमलपोखरीको बिग मुभिजलाई अनुचित व्यापारिक कारोबार गरेको भन्दै २ लाख ५० हजार, खनाल सर्जिकल सप्लायर्सलाई ५ हजार, अर्चना सर्जिकल सप्लायर्स त्रिपुरेश्वरलाई ५ हजार र फिसटेल सर्जिकल हाउस त्रिपुरेश्वरलाई ५ हजार जरिवाना गरेको थियो ।

त्यसैगरी विभागले फागुन २० गते नेपाल केयर सर्जिकल सप्लायर्सलाई २ लाख र सचिन ट्रेड कन्सर्न क्षेत्रपाटीलाई १० हजार गरी २ लाख १० हजार जरिवाना गरेको छ । केयर सर्जिकललाई विभागले उपभोक्ता संरक्षण ऐनको दफा ३८ ‘ङ’ को कसुरमा ३९ (१) ‘ख’ को व्यवस्था अनुसार कारवाही गरिएको हो । ११ वटा औषधि पसलको अनुगमन गरेको थियो ।

त्यस्तै, १९ गते स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । फागुन १८ गते विभागबाट अनुगमनका लागि खटिएर गएको अनुगमन टोलीले भिजनमार्ट प्राली सुविधानगरलाई ५० हजार र मेडिहेल्थ सर्जिकल प्रा।लीलाई २० हजार गरी जम्मा ७० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

गौमम इन्टरनेसनल प्राली त्रिपुरेश्वर र दृष्टि सर्जिकल हाउसलाई फागनु १६ गते २०/ २० हजार गरी जम्मा ४० हजार रुपैयाँ जरिवाना गरेको थियो । विभागले फागुन १५ गते मेघा मार्ट प्रा।ली ईटालीटार चौकलाई २० हजार र गुप्ता किराना स्टोर बुढालिनकण्ठ ५ गरी जम्मा २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

Advertisement

Advertisement

Advertisement