सेयर कारोबार अवधी पाँच घण्टा बनाउने तयारी

Advertisement

काठमाडौं । अब सेयर कारोबारको अवधी पाँच घण्टा कायम हुने भएको छ । हाल बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म् ४ घण्टा सेयर कारोबार भैरहेको छ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको अवधी बढाउने गृह कार्य गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई पत्राचार गरिसकेको छ । ‘कारोबार अवधी बढाउने गरि तयारी गर्न नेप्सेलाई निर्देशन दिईसकेका छौं, नेप्सेले अध्ययन गरेर सिफारिस गर्छ अनि कारोबार अवधी बढ्छ’, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले कर्पाेरेट नेपालसँग भने ।

उनले कारोबार अवधी एक घण्टा थप्ने गरि प्राबिधिक तयारी गर्न नेप्सेलाई पत्राचार गरिएको पनि स्पष्ट पारे । ‘अहिले चार घण्टा कारोबार भैरहेको छ, अब एक घण्टा थप्ने गरि तयारी गर्न भनेका हौं’, बोर्डका अध्यक्ष ढुंगानाले भने ।

बोर्डले १०ः३० बजेबाट कारोबधार आरम्भ गरेर ३ः३० बजे बन्द गर्ने सोँच बनाएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सेयर बजारमा कारोबार रकममा वृद्धि भैरहेको, स्टक लिडरहरुको प्रवेश हुन लागेको, ठूला कम्पनीहरु सेयर जारी गर्ने चरणमा रहेकाले कारोबार अवधी बढाउनुपर्ने निष्कर्षमा पुगिएको बोर्डले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले कारोबार समय बढाउने सम्बन्धमा धितोपत्र बोर्डबाट राय सुझाव मागिएको र सोही अनुसार नेप्सेले सरोकारवालाहरुसँग छलफल अघि बढाएको बताए ।

‘बोर्डले नेप्सेको राय मागेको छ, हामी ब्रोकर, सिडिएस लगायतका सरोकारवालाहरुसँग छलफलमा जुटिरहेका छौं’, नेप्सेका प्रवक्ता पराजुलीले कर्पाेरेट नेपालसँग भने ।
उता, ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले पनि कारोबार समय थप्ने तयारी पुँजी बजारको हितमा रहेको बताए । ‘कारोबार समय थप्ने कुरा ब्रोकरहरुका लागि राम्रो हो, हामीलाई कुनै समस्या छैन’, ब्रोकर एसोसियसनका अध्यक्ष रानाभाटले कर्पाेरेट नेपालसँग भने ।

कहाँ छ अप्ठेरो ?
प्राबिधिक रुपमा कारोबार समय अवधी बढाउन नेप्सेमा कुनै समस्या नरहेको बताइन्छ । तर कर्मचारीलाई १० देखि ५ बजेसम्मको कार्य समय तोकिएको हुनाले उनीहरुलाई अतिरिक्त समय काममा लगाउँदा के गर्ने भन्ने प्रश्न भने उत्पन्न हुन्छ । त्यस्तै, सिडिएसमा पनि कर्मचारीलाई १० देखि ५ बजेसम्मकै लागि नियुक्त गरिएको छ । उनीहरुलाई पनि अतिरिक्त काम लगाउँदा के गर्ने भन्ने प्रश्न देखिन्छ ।

सिडिएसमा भने प्राबिधिक रुपमै पनि केहि स्तरोन्नतिको आवश्यकता रहेको बताइन्छ । सिडिएसलाई अहिलेको कारोबार अवधी र रकमकै राफसाफ गर्न हम्मे हम्मे परिरहेको छ । समय थप्दा कारोबार रकम पनि पक्कै वृद्धि हुनेछ । त्यसकारण सिडिएसले भने आफ्नो प्रबिधिमै स्तरोन्नति गर्नु आवश्यक रहेको जानकार बताउँछन् ।

ब्रोकरहरुले पनि आफ्ना कर्मचारीलाई अहिले भन्दा चाँडो बोलाएर ढिलो पठाउने अवस्था बन्नेछ । यद्यपी उनीहरु कारोबार समयसँगै रकम पनि बढ्ने भएकाले कर्मचारीलाई थप सुबिधा दिएरै भए पनि काम गराउन तयार देखिन्छन् ।

Advertisement

Advertisement

Advertisement