पन्द्र रुपियाँ पर्ने 'सेनिटाइजर'लाई १५० लिइयोः मन्त्री, हामीले कालोबजारी गरेको छैन्ः व्यापारी

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनै पनि अभाव नहुने दावी गरेका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले अत्यावश्यक बस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने चेतावनी पनि दिए । मन्त्री भट्टले अहिले बजार अनुगमन एकीकृत रुपमा गरिएको भन्दै वाणिज्य विभाग र औषधि विभागले एकीकृत रुपमा बजारको अनुगमन गरिरहेको सुनाए ।

भट्टले भने, ‘अहिलेको जनशक्तिले प्रभावकारी रुपमा काम गरिरहेको छ । तर, अझै जनशक्ति थप्नेबारे कुरा पनि भएको छ । यसको लागि हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेका छौं ।’ यसको साथै, बजार व्यवस्थित्, कालोबजारी र कृत्रिम अभाव रोक्नको लागि गृह मन्त्रालयसँगपनि समन्वय भैरहेको उनले सुनाए ।

मन्त्री भट्टले कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरुमाथि कडा कारबाही गर्नको लागि गृहको सहयोग लिन र उसँग समन्वय गरिनेबारे पनि छलफल भएको बताए । ‘कालोबजारी र बदमासी गर्नेहरुलाई कुनै पनि हालतमा उन्मुक्ति दिईँदैन्’–उनले भने, ‘तिनीहरुलाई सरकारले कुनै पनि हालतमा बचाउँदैन् । हदैसम्मको कारबाही गर्छ । कुनै पनि छुट हुँदैन् ।’

मन्त्री भट्टले आफूले आज मात्रै पनि एक औषधि पसलमा गएर स्यानिटाईजेशन माग्दा २० रुपियाँ आईसीको सामानलाई १५० रुपियाँको बिल बनाएर पठाएको कुरा औषधि पसलले सुनाएको उल्लेख गरे । उनले भने, ‘त्यही भएर मैले त सामान नै नबेचेको भनेर भन्नुभयो । अर्को कुरा १५ रुपियाँ पर्ने मास्क पनि ५० रुपियाँको बिल बनाएको पनि उहाँले सुनाउनुभयो । हरेकले आफ्नो ठाउँबाट दायित्व पूरा गर्नुपर्छ ।’

भट्टले आफूले समेत एक दिनको लागि पुग्ने खाद्यान्न तथा तरकारी ल्याउने गरेको सुनाए । उनले भने, ‘आज विहान एकजना सञ्चारकर्मी क्वाटरमा आउनुभएको थियो । उहाँलाई मैले मेरो भान्सामा गएर हेर्न सुझाएको थियो । हामी त विहान चाहिने विहान र बेलुका चाहिने कुरा बेलुका ल्याउने गर्छौं ।’ उनले बजारमा अहिले पनि नून, तेल, ग्यासलगायत केहीको पनि अभाव नभएको स्पष्ट पारे । भट्टले उपभोक्ताहरुले चार महिनालाई पुग्नेगरि स्टक राख्न खोजिएकोले अभावजस्तो देखिएको तर्कसमेत गरे ।

उनले कुनै पनि खाद्यवस्तु तथा अत्यावश्यक वस्तुको अभाव हुन नदिने अठोट व्यक्त गरे । यदि कसैले कालोबजारी गरेको पाईए सरकारले कडाभन्दा कडा कारबाही गर्ने र कसैलाई पनि नछोड्ने कडा चेतावनी पनि भट्टले दिए । उनकाअनुसार अहिले पनि आगामी ६ महिनाको लागि पुग्ने औषधि छ ।

सरकार कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालमा नहोस भनेर गम्भीर भएको पनि बताएका छन् । ‘सरकार गम्भीर भएन भनेर हामीमाथि आरोप पनि लाग्ने गरेको छ । तर, यसमा कुनै सत्यता छैन् । कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलिएसँगै प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएर अलर्ट बनाउनुभएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ’कोभिड–१९’ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन भैसकेको छ । यो समितिको दुईवटा बैठकसमेत बसिसकेको छ’– भट्टले थपे ।

मन्त्री भट्टले मुख्य–मुख्य नाका तथा भन्सार (स्थलगतमार्ग) अर्थात् सीमावर्ती क्षेत्रमा पनि क्वारेन्टाईन राख्ने व्यवस्था गरिएको बताए । त्यस्तै, देशभरिका अस्पताललाई आईसोलेशन बेडको व्यवस्था पनि गरिएको उनले सुनाए । देशभरि प्रशिक्षित स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको पनि भट्टले जानकारी दिए । उनले भने, ‘५२ हजार ग्रामिण स्वास्थ्यकर्मीहरु पनि प्रशिक्षित गरिएको छ । त्यहीअनुसार प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई पनि स्ट्याण्डबाई राखिएको छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत अत्यन्तै कडाईका साथ चेकजाँच गरिएको उनको भनाई छ ।

उनले सरकार मात्रै नभएर यो अवस्थामा सत्तापक्ष र प्रतिपक्ष सबै एकतावद्ध ढंगले अघि बढेको पनि सुनाए । भट्टले भने, ‘कांग्रेस सांसद गगन थापाजीले संसदमा सार्वजनिक जरुरीको महत्वको प्रस्ताव पेश गर्नुभयो । त्यसमा हामीले पनि विशेष महत्व दिएका छौं । कोरोनाको संक्रमणबाट बच्नको लागि उच्चस्तरीय राष्ट्रिय एकता बोध भएको छ । अहिले पक्ष र विपक्ष होईन, सबै एकपक्ष भएको पाएका छौं ।’

आफूले हिजो विहानमात्रै पनि चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, खुद्रा व्यापार महासंघ, फलफूल तथा तरकारी व्यवसाय महासंघ र विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको र उनीहरुले पनि आफुहरु सरकारको अभिन्न अंग भएकोले अनुगमनमा खटिने आश्वासन दिएको मन्त्री भट्टले सुनाए ।

कसैले कृत्रिम अभाव र कालोबजारी गरेको पाईए सरकारले प्रचलित ऐन तथा कानूनअनुसार कारबाही गरिने पनि मन्त्री भट्टको चेतावनी छ । उनले भने, ‘सरकार जिम्मेवारपूर्ण लागिपरेको छ । व्यापारी तथा व्यवसायी साथीहरुले पनि हामी राज्य तथा जनताको पक्षमा खडा छौं । मुनाफा गौण कुरा भन्नुभएको छ ।’

यद्यपी भट्टले कोरोनाको संक्रमणबारे अफवाह फैलाउन काम कसैले पनि गर्न नहुनेतर्फ सबैलाई सचेत गराए । उनले थपे, ‘अब ठूलो संकट आईपर्छ । र, केही पनि पाईँदैन् भन्नेजस्ता अफवाह फैलाईएको पाईएको छ, यो मनोविज्ञान त्याग्नुपर्छ । हिजो नाकाबन्दीको जस्तो अवस्था आउँछ कि भन्ने सन्त्रास फैलाउने काम बन्द गर्नुपर्छ ।’
उनले भोलिका दिनमा अत्यावश्यक वस्तुमा संकट आईपर्छ कि ? भन्ने हिसाबले अहिलेदेखि नै उपभोक्ताले होल्ड गर्ने गरेको पनि सुनाए । भट्टले भने, ‘म आश्वस्त पार्न चाहन्छु, केही कुराको पनि अभाव हुँदैन् । तपाईहरु ढुक्क हुनुहोस् । हिजो नाकाबन्दी भनेको अर्के स्थिति थियो । आजको स्थिति फरक छ ।’

उनले नेपाल कोरोनाको संक्रमणबाट प्रभावित नभएको दाबी गरे । भट्टले थपे, ‘सरकारको राम्रो तयारी छ । भोलिका दिनमा कसरी रोक्ने भन्नेबारेपनि सरकार गम्भिर छ ।’ भट्टले अहिले नै खाद्यान्नलगयात अत्यावश्यक वस्तुको अभाव हुन्छ भनेर आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको पनि स्पष्ट पारे । उनले भने, ‘औषधि र खाद्यान्न पर्याप्त छ । एउटा चिजको आवश्यकता हुँदा चार वटा चिज नराखौं । ग्यास सिलिण्डरको कुरा गर्दा कसैले पनि घरमा दश वटा सिलिण्डर स्टोर गरेर नराखौं । भरिएको ग्यास राख्दा दुर्घटना पनि हुनसक्छ ।’ उनले ग्यासको अभाव भए आफूहरुलाई खबर गर्नपनि आग्रह गरे । भट्टले भने, ‘यदि पाउनुभएको छैन् भने हामीलाई खबर गर्नुहोस हामी उपलब्ध गराउँछौं ।’

भारतले नेपाललाई औषधीमा प्रतिबन्ध लगाउने निर्णय गरेको सवालमा सोधिएको प्रश्नमा मन्त्री भट्टले भने, ‘हरेक मुलुकले आफ्नो देशमा संकट भएको अवस्थामा अत्यावश्यक वस्तु स्टोर गर्नु सामान्य कुरा हो । भारतले पनि यी–यी वस्तु निर्यात नगर्ने भनेर सूचना जारी गरेको थियो । तर, हामीले भारतसँग कुरा गरेका थियौं । उहाँहरुले पनि अहिले कुनै समस्या छैन् । हामी पठाउँछौं भनेको छ ।’

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले विश्वभरि ७७ देशमा कोरोनाको प्रभाव देखिएको र नेपाललाई पनि विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेकोले यसबारेमा अलिक बढि आतंक सिर्जना भएको सुनाए । उनले भने, ‘अहिलेसम्म यसबाट मर्नेको संख्या ३२ सय नाघेको छ । चीनबाहेक ८० प्रतिशत यसको संक्रमण कोरिया, ईरान र इटालीमा देखिएको छ ।’

कोरोनाको आतंक सिर्जना भएपछि नेपालमा अत्यावश्यक वस्तुको माग र भण्डारण भएको हुनसक्ने उनको भनाई छ । अग्रवालले भने, ‘तर, यसबारेमा अस्पष्ट र भ्रामक रुपमा प्रचार नगरौं । एक्कासी माग बढेपछि अभाव देखिनु स्वभाविक हो ।’ अग्रवालले अहिलेसम्म अत्यावश्यक वस्तुमा कालोबजारी नभएको जिकिर गरे । उनले भने, ‘हामीले पनि मनिटरिङ गरिरहेका छौं ।’

उनले व्यापारी तथा व्यवसायी साथीहरुलाई समेत आफूहरुले समस्या समाधान गर्नको लागि अपिल गरिसकेको पनि जनाए । उनले कोरोनाको कारण विश्वव्यापी रुपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेकोले नेपालमा पनि यसको प्रभाव पर्नु स्वभाविक भएको स्पष्ट पारे ।

‘पर्यटन क्षेत्रमा त झनै नकारात्मक प्रभाव परेको छ । अहिले पनि ९२–९३ प्रतिशत हाम्रो अर्थतन्त्र आयातमुखी नै हो । हरेक देशमा अहिले उत्पादनमा असर परेको छ’– अग्रवालले सुनाए । उनले सरकारलाई अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्नसमेत सुझाएका छन् । उनले प्राकृतिक विपद् कतिखेर आउँछ ? भन्ने कुरा कसैलाई पनि थाहा नभएकोले सरकारले पूर्वतयारी गर्नुपर्ने तर्क गरे ।

अग्रवालले भने, ‘कम्तिमा पनि तीन वर्षलाई पुग्नेगरि अत्यावश्यक वस्तुको भण्डारण गर्नुपर्छ । बफर स्टकको रुपमा राख्नुपर्छ ।’ कोरोनाको प्रभावबाट जोगिन सक्नुपर्ने उनको प्रार्थना छ । उनले भने, ‘हामी यसको झट्काबाट बच्न सकौं ।’

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको सुनाउँदै यसबारेमा अनावश्यक डर, त्रास र भय नफैलाउन आग्रह गरेका छन् । उनले भने, ‘यसको डर, त्रास र आतंक सिर्जना गरेर अहिले कालोबजारीको थप आतंक मच्चाउने काम भएको छ । यो अत्यन्तै दुःखद् कुरा हो ।’
महर्जनले अहिले साधारण मास्कको ३० देखि ४० रुपियाँ पर्न थालेको र अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कुनै पनि हालतमा छोड्न नहुने तर्क गरे । उनले भने, ‘त्यस्तो कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ ।’ महर्जनले तत्काल प्रभावकारी रुपमा बजार अनुगमन गर्नसमेत सरकारलाई सुझाव दिए । यस्तो अवस्थामा कालोबजारी गर्नु भनेको आपत्तिजनकमात्रै नभएर ठूलो अपराध भएको पनि उनले सुनाए । उनले यदि कसैले कालोबजारी गरेको पाए कालोबजारी ऐन–२०३० अन्तर्गत कारबाही गर्नुपर्ने पनि बताए ।

महर्जनले कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणको लागि एकीकृत प्रयास र अनुगमन गर्नुपर्ने पनि सुझाव दिए । उनले भने, ‘कोरोनाको बारेमा अहिले जसरी सामाजिक सञ्जामार्फत गलत प्रचार भइरहेको छ, यसरी भाईरल गर्ने काम नगरौं ।’ उनले बजार अनुगमन व्यापक हुनुपर्ने माग गरे । वाणिज्य विभागसँग अनुमनको लागि जम्मा १२ जना कर्मचारी रहेको सुनाउँदै उक्त जनशक्ति अत्यन्तै कम भएको पनि महर्जनले औंल्याए । उनले भने, ‘म सरकारलाई यहीँबाट जनशक्ति थप्नको लागि आग्रह गर्न चाहन्छु ।’

Advertisement

Advertisement

Advertisement