स्थानीय तह भन्छन्- हामीले सहकारीलाई नियामन गर्न सकेनौं

Advertisement

काभ्रे । स्थानीय तहले नियामन गर्न नसक्दा सहकारी क्षेत्र भद्रगोल अवस्थामा पुगेको स्थानीय तहका अगुवाहरुले स्वीकार गरेका छन् ।

नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले धुलिखेलमा आयोजना गरेको छलफल कार्यक्रमका वक्ताहरुले स्थानीय तहको प्राथमिकतामा सहकारी पर्न नसकेको बताए । सहकारी क्षेत्रको प्रशासनिक व्यवस्थापन गर्न असहज भएको उनीहरुको भनाई छ ।

सहकारी दर्ता, नियामन र खारेज गर्ने अधिकार स्थानीय तहलाई छ । स्थानीय तहको मातहतमा २९ हजार, प्रदेश मातहत छ हजार र ११८ वटा सहकारी सहकारी विभागअन्तर्गत छन् ।

एकातिर कर्मचारी अभाव र अर्कोतिर स्थानीय तहमा सहकारी उपेक्षामा पर्दा सहकारीमा वित्तीय जोखिम बढ्दै गएको सरोकारवाला बताउँछन् ।

काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघका सचिव दिलीप शर्माले तत्कालिन समयमा डिभिजन कार्यालयले एक हजार ४९७ सहकारीको पोको हस्तान्तरण गरे पनि स्थानीय तहले अद्यावधिक गर्न नसकेको बताए । काभ्रेका एक लाख ३० हजार मानिस सहकारीमा आबद्व छन् । शर्माका अनुसार फिल्डमा गएर कुन सहकारी सक्रिय छ ? र कुन निश्क्रिय छ ? भनेर छुट्याउन समस्या भइरहेको बताए ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष सुमन नेपाल र जिल्ला बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष कृष्णभक्त थापाले स्थानीय सरकारले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा समस्या बढ्दै गएको बताए ।

मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाही स्थानीय सरकार आफैं अलमलमा परेका कारण सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नसकेको स्वीकार्छिन् । ‘सहकारी मात्र होइन, हामीले स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुनका आधार निर्माण र कार्यान्वयन गर्नुपर्ने भएकाले धेरै कुरामा अप्ठयारो छ’ उनले भनिन् । स्थानीय तहमा कर्मचारी अभावका कारण सबै क्षेत्रलाई महत्व दिन नसकेको शाहीको भनाइ छ ।

पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारले सहकारी क्षेत्र उत्पादन र बजारीकरणलगायत ग्रामीण अर्थतन्त्रसँग जोडिएको भए पनि प्राथमिकतामा पर्न नसकेको बताइन् । ‘सहकारी क्षेत्रका बजेट र कर्मचारी व्यवस्था गर्न सकेका छैनौं’ उनले भनिन् ‘पछिल्लो समयमा हामीले प्राथमिकताका आधारमा बजेट र कर्मचारी व्यवस्थापन गर्दै छौं ।’

पनौती नगरपालिकाका सहकारी रजिस्ट्रार इन्द्रप्रसाद अधिकारीले सहकारी स्थानीय तहको पहिलो प्राथमिकता बन्नुपर्ने बताए । ‘धेरै तहमा सहकारी क्षेत्रको अनुगमन तथा निरीक्षणका लागि कार्यविधि बन्ने क्रममा छ’ उनले भने । सहकारी व्यवस्थापन गर्न स्थानीय तह पूर्णरुपमा सक्षम भएको दावी भन्दै उनले केही तहले भने वेवास्ता गरेको बताए ।

नमोबुद्ध नगरपालिकाका सहकारी शाखा अधिकृत विमल कोइराला दर्र्ता भएका एक सय चार सहकारीमध्ये आधा मात्रै संचालनमा रहेको बताए । ‘बाँकी सहकारी कस्तो अवस्थामा छन ? भन्ने जानकारी छैन’ उनले भने । कानुनी अस्पष्टता र जटिलताका कारण सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नसकिएको कोइरालाको भनाइ छ ।

पाँचखाल नगरपालिका कृषि तथा सहकारी शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले तत्कालीन डिभिजन सहकारी कार्यालयबाट नगरपालिकाले एक सय ३७ वटा सहकारीका फाइल बुझेको भए पनि सामान्य कागजात बाहेक थप कागजात नरहेको र संस्थाको वार्षिक प्रगति विवरणलगायत तथ्यांक नगरपालिकासँग नआउने गरेको उनको गुनासो छ ।

‘बजेट अभावका कारण अनुगमनमा समस्या छ’ उनले भने, ‘शून्य बजेटमै काम गरिरहेका छौं ।’ सहकारी क्षेत्रका लागि नगरपालिकाले बजेट नै नछुट्याइएका कारण नियामन गर्न समस्या भएको उनको भनाइ छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले योजना बिनै स्थानीय तहमा सहकारी हस्तान्तरण गर्दा भद्रगोल अवस्था आएको बताए । समस्या समाधानका लागि सहकारी अभियान हरेक स्थानीय तहसँग समन्वय गर्न तयार रहेको उनको भनाइ छ ।

पत्रकारिता तालिम सम्पन्न
यसैबीच नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा दुई दिने सहकारी पत्रकारिता तालिम शनिबार धुलिखेलमा सम्पन्न भएको छ । तालिममा सहकारी विभागका रजिष्ट्रार टोकराज पाण्डे, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईलगायतको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement