कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाखभन्दा बढि पुग्यो

Advertisement

वासिङटन । विश्वमा कोविड १९ (कोरोना भाइरस) संक्रमितको संख्या एक लाख नाघेको शनिबार जनाइएको छ। अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार यस भाइरसको प्रकोपबाट संक्रमित हुने व्यक्तिको संख्या १ लाख ११३ पुगेको छ।

उक्त विश्वविद्यालयको तथ्यांकअनुसार यो प्रकोपबाट संक्रमितहरूमध्ये अधिकांश चीनमा रहेका छन्। चीनमा मात्र यसका संक्रमित करिब ८० हजारजना रहेको उक्त विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ।

विश्वभर हाल कोरोना संक्रमित १ लाखभन्दा बढी पुगेको समाचार विभिन्न सञ्चारमाध्यमले दिएका छन्। गत डिसेम्बरको अन्त्यबाट चीनको हुपई प्रान्तको वुहान शहरबाट शुरु भएको यो भाइरस संक्रमणबाट चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ। अधिकारीहरूले विभिन्न देशबाट जारी गरेका सूचनाको अध्ययनमा यस भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या शनिबारसम्म ३ हजार ५ सय नाघेको छ। यस भाइरसको संक्रमण ९२ वटा देशमा फैलिएको छ।

कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ४४ जनाको मृत्यु भइसकेको छ। त्यसैगरी ५ हजार ७६७ जनामा कोरोना संक्रमण देखिएको शनिबार जनाइएको छ। कोरोना भाइरसबाट इटालीमा १९७ जनाको ज्यान गएको शनिबार जनाइएको छ। त्यहाँ बिहीबार र शुक्रबार गरी करिब ९० जनाको मृत्यु भएपछि मृतकको संख्या बढेर १९७ पुगेको छ। त्यसैगरी गरी इटालीमा ३ हजार ९१६ जनामा यस रोगको संक्रमण भएको पाइएको छ।

इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ। इटालीले देशैभरिका विद्यालय र विश्वविद्यालय बन्द गराएको छ। सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन गराएको छ।

अमेरिकाको फ्लोरिडामा यस प्राणघातक कोविड १९ का कारण दुई व्यक्तिको मृत्यु भएपछि यहाँ पनि यस भाइरसबाट शिकार हुनेको संख्या १६ पुगेको बताइएको छ। अमेरिकामा २ सयसय भन्दा बढी व्यक्तिमा यस भाइरसको संक्रमण देखिएको छ।

यस भाइरसको प्रकोपबाट स्पेनमा पनि पाँचजनाको ज्यान गएको छ। स्पेनका स्वास्थ्य अधिकारीले यस भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ३६५ पुगेको छ। यहाँ पनि दैनिक यसका संक्रमितहरूको संख्या बढ्दै गएको छ। स्पेनको माद्रिद शहरमा यसका संक्रमित भेटिएका छन्। माद्रिदमा शुक्रबारसम्म १३७ वटा यस भाइरसका संक्रमित उपचारमा रहेका छन्। उक्त सहरमा गएराति सम्म २४ घन्टाभित्रै दुई जनाको ज्यान गएको छ। ती दुईजनामध्ये एकजना ९९ वर्षीया महिला र अर्का ७६ वर्षका पुरुष रहेका छन्।

भाइरसको संक्रमण नेदरल्यान्ड्समा पनि देखिएको छ। नेदरल्यान्ड्समा यसको प्रकोपबाट एकजना वृद्धको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। उनीहरूका अनुसार शुक्रबार मात्र नेदरल्यान्ड्समा यो भाइरसबाट ८६ वर्षीयको ज्यान गएको छ। रोटेड्यामस्थित इकाजेआ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। नेदरल्यान्ड्समा यो भाइरसको प्रकोपबाट ज्यान जानेमा उनी नै पहिलो व्यक्ति भएको अधिकारीले जानकारी दिएका छन्। शुक्रबार मात्र यहाँ ८२ जना कोरोना भइरसका संक्रमित रहेकोमा शनिबार १२८ पुगेको छ।

यसैबीच इरानमा यसको प्रकोपबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ। इरानी सरकारले शुक्रबार१७ जनाको ज्यान गएको घोषणा गरेको हो। योसँगै यस भाइरसबाट मृत्यु हुनेको संख्या १२४ पुगेको हो। इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले यो संक्रमणबाट शुक्रबार साँझसम्म ४ हजार ७४४ जना संक्रमित रहेका छन्।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार केही दिनमात्र यता यहाँ १ हजार २३४ जना नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितहरू ठूलो संख्यामा थपिँदै गएकोले अवस्था बडो चिन्ताजनक रहेको छ।

Advertisement

Advertisement

Advertisement