राजनीति क्षेत्रका युवा पुस्ताः 'केही नवीन नगरे ब्यापार गर्दा राम्रो’: उपाध्याय

Advertisement

नेपाली राजनीतिमा देखिएका आजका युवाहरू अनलाईन, सोसल मिडिया वा रेडियो, टेलिभिजनमा चिच्याउने बाहेक कुनै समयसापेक्ष सिद्धान्त प्रतिपादन वा सिर्जनात्मक, जनता जगाउन सक्ने संगठन पुननिर्माण गरेर नयाँ युग हाक्न सक्ने क्षमताका देखिने गरेको पाईदैन ।

तिनले बिपी, पुष्पलाल, माओ, लेनिन, मार्क्स, मदन भण्डारी, प्रचण्ड, बाबुराम जस्ता राजनीतिक व्यक्तित्वका युवाकालका ईतिहास निर्माणकर्ताको कामको जीवनी गंभीर भएर पुनः अध्ययन गर्ने खाँचो छ । तिनकौ कुरामा हाँ मा हाँ लगाएर हैन क्रिटिकल भएर जीवनी पढ्नु पर्छ । युवाहरूमा नवीन केही गर्न सकिदैन भन्ने लाग्छ भने कसैको पुच्छर बनेर बस्नुभन्दा राजनीतिको खेलमैदान छोडेर बन्द व्यापार गर्न तिर लाग्दा राम्रो हो ।

मुलुकलाई अहिले नविन, सिर्जनात्मक, आधुनिक बिज्ञान, प्रविधि र समाज अनुकूलको विश्व रंगमन्चमा काँधमा काँध मिलाएर कुदाउन सक्ने नेतृत्वशैली र जनता जगाउने, सहभागी गराउने नेता र नयाँ प्रभावकारी राजनीतिक संगठनको खाँचो हो । अहिले पुरातन र पारम्परिक नेताहरू, संगठनहरू सबैमा कुनै प्राण बाँकी रहेको देखिन्न । हिजोको निरन्तरता र कामचलाउ सोच र शैलीकै हैकम रहेको पाईन्छ । यसको कारण सांस्कृतिक ऐतिहासिक संस्कार र गौरवबाट बिमूख हुनाले जराबिहीन रूख हुर्किएकाले नै हो ।

स्वामी विवेकानन्द भन्छन्, जसको ईतिहास छैन उसको भविष्य हुँदैन । जसले आफ्नो सनातनी संस्कृति, धर्म वा इतिहास मास्यो उसले आफ्नो पहिचान मास्यो, विश्व र समाजमा होपिदै गयो । सनातनी हिन्दू परम्परा र संस्कारमाथि धर्म निरपेक्षताको आडमा गरिदै आएको राजनीतिक अपहेलना र कुदृष्टिका कारण कहिल्यै धर्मलाई राजनीतिसंग नजोडेको हिन्दू समाज राजनीतिक मैदानमा धकेलिदै गएको देखिदैछ ।

हिन्दूको बिरोध, हिन्दू परम्पराको उछित्तो काढ्ने, हिन्दू संस्कार संस्कृति, बिश्वास, पर्व चाडहरूलाई निरन्तर अवमूल्यन गर्ने राजनीतिक प्रणाली र नेताहरू, जसलाई हिन्दु सनातन विषयमा कखरा पनि थाहा छैन, न तिनलाई त्यसमा लगाव वा राग छ, ती आफै उपबुज्रुक बनेर स्टेज वा माईक पायो कि व्याख्यान गरिहाल्दै यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भन्दै मूर्खता प्रदर्शन गरिरहेका पाईन्छन् ।

तथापि सनातन हजारौं प्रागऐतिहासिक हिन्दू परम्परामा बिकसितहरू यसबाट बिचलित छैनन् । त्यस्ता अनर्गले मान्छेहरूको पनि मति जीवनको कुनै न कुनै कालमा अवश्य पलाउने छ भन्ने विश्वासले गर्दा निरन्तर आफ्नै अहित चिताउनेहरुको पनि तिनले अहित चिताउदैनन् । नेपाली हिन्दूहरूले आफ्नै अहित गर्नेहरूलाई पनि पटकपटक सत्तामा विजयी गराएर शासनाधिकारको दण्डक सुम्पिदै आएका छन् । यो भन्दा असल, महान संस्कृति र संस्कार अरू कुन धर्मावलम्बीहरूमा पाईदैन ।

मानिस कर्म हो, कोही सुरूदेखि त कोही जीवनको उत्तरार्धमा सही सत्यसंग जम्काभेट वा साक्षात्कार भएर जीवन सहज र अर्थपूर्ण जिउछन् । अध्यात्मिक ज्ञानको बोध जति चाँडै भयो आनन्दमयी जीवन जिउने अवधि त्यति नै लामो समय रहने न हो । नेपालमा हिन्दू सनातनीले राजनीति गर्ने दिन सुरू गर्ने बाध्यता कहिल्यै नआओस् ।

सनातनी हिन्दू समाजका परम्पराको बिरोध गरेर कोही पण्डित बनेको छु भन्ने भ्रममा छन् भने त्यसले सूर्यलाई टुकी देखाएर जिस्काएको जस्तो मात्र हुन्छ। किनभने यो संसार आदि दैविक, आदि भौतिक र अध्यात्मिक जीवन पद्दति हो । जीवनलाई पूर्णतामा संचालन गर्ने समग्र ज्ञान, विज्ञान र सस्कृति अनुरूपको संस्कार हो । जन्मनुअघि गर्भाधान देखि मृत्युसम्म र त्यस उपारान्तको जीवनसमेतको संचालन गर्ने संस्कार र संस्कृति सनातन हो ।

युवाहरूमा आफ्नो धर्म संस्कार संस्कृति ईतिहास मातृभाषा संस्कृत भाषा साहित्य बिज्ञान प्रविधि संगित मन्त्र तन्त्र यन्त्रको बारेमा स्खलित ज्ञान तथा शिक्षामा जोड दिन जरूरी छ। यस्तामा शिक्षित तथा दीक्षित युवावर्गको जमात नै मुलुकको पहिचान र मेरूदण्ड हुनेछन्, मुलुकका असल र सक्षम चालक बन्नेछन् । पेट पाल्न जीवनभरि लगाएर पाएको शिक्षा वा तालिमले असल आनन्दमयी जीवन जिउने कला सिकाउँदैन। सबै पाएर पनि जीवनपर्यन्त गरिब र शून्य अनुभूति मात्र हुने गर्छ । (लेखक उपाध्याय नेपाल सरकारका पूर्व सचिव हुन् ।)

Advertisement

Advertisement

Advertisement