चौरासी हजार छ सय ५० जनालाई सरकारले दियो प्राविधिक तालीम, कुन पेशामा कति ?

Advertisement

काठमाडौँ । कुन पेशामा कति जनशक्ति तालीम प्राप्त छन् भन्ने आँकडा पाउन पहिला मुस्किल थियो । पछिल्लो समयमा सरकारले सम्बन्धित निकाय र संस्थाबाट उत्पादित तालीम प्राप्त जनशक्तिको एकीकृत विवरण सङ्कलन शुरु गरेको छ ।

समयको मागसँगै प्राविधिक र व्यावसायिक शिक्षालाई क्रमशः प्राथमिकता दिन थालेको सरकारले आवधिकरुपमा यस प्रकारको एकीकृत तथ्याङ्क सङ्कलन र विश्लेषण गरी प्रकाशनको थालनी गरेको हो । सरकारले यसअघि कुन क्षेत्र वा पेशामा मुलुकका लागि कति जनशक्ति आवश्यक पर्छ भन्ने जनशक्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिसकेको छ । सो प्रतिवेदनमा औपचारिक र अनौपचारिक शिक्षाका विधामा आगामी २५ वर्षसम्मको जनशक्ति प्रक्षेपण गरिएको छ ।

सरकारले प्राविधिक शिक्षा, व्यावसायिक एवं सीपमूलक तालीमलाई प्राथमिकता दिई लगानी बढाउने नीति लिनुका साथैै तालीम प्राप्त जनशक्तिको सङ्ख्या बढ्दा थाल्दा रोजगारदातालाई श्रम बजारको विश्लेषण गर्न सहज हुने ठानिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प लिएको वर्तमान सरकारले गत कात्तिकमा जारी गरेको राष्ट्रिय शिक्षा नीति, २०७६ मा प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म प्राथमिकता दिने उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद बहाली गर्दा सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापनाको निर्णय गरेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सीप कार्यक्रमको प्राविधिक सहयोगमा तयार गरेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमको एकीकृत वार्षिक प्रतिवेदन, २०७६’ मा आर्थिक वर्ष २०७५ र ७६ मा सङ्घीयस्तरका १० मन्त्रालय र मातहतका १८ निकायले सञ्चालन गरेका विभिन्न तालीमको विश्लेषण गरिएको छ । ती निकायबाट कूल ८४ हजार ६५० ले लामो, छोटो अवधिको व्यावसायिक तथा प्राविधिक शिक्षा र तालीम दिइएको जनाइएको छ ।

सो अवधिमा उत्पादित जनशक्तिमध्ये सबैभन्दा बढी विल्डिङ इलेक्टिसियन (१० दशमलव ८५ प्रतिशत) र टेलरिङमा (१० दशमलव ०७ प्रतिशत) देखिएका छन् । यसपछि असिस्टेन्ट ब्यूटिसियनमा ६ दशमलव ५८ प्रतिशत, अफ सिजन भेजिटेल प्रोड्युसियरमा ५ दशमलव ११ प्रतिशत र ब्रिक लेयर मेशिनमा ४ दशमलव ३१ प्रतिशत जनशक्ति सो अवधिमा तालीम प्राप्त भएका छन् । चार प्रतिशतभन्दा कम प्रतिशतमा उत्पादित जनशक्तिमा मेसन, जुनियर प्लम्बर, कमिस तेस्रो, जुनियर कम्प्युटर हार्डवेयर टेक्निसियन, डे«स मेकर टेलरिङ, सामुदायिक पशु सहायक र मोबाइल टेक्निसियन प्रमुख पेशा देखिएका छन् ।

यसैगरी त्यसपछि न्यून प्रतिशतमा सामुदायिक कृषि सहायक, पर्यटक रुट गाइड, कमिस दोस्रो, फर्निचर मेकर, पर्यटक गाइड छन् । यीबाहेक अन्य विविध पेशामा ३५ दशमलव १६ प्रतिशत जनशक्ति सो अवधिमा उत्पादिन भएका छन् ।

तालीम प्राप्तमध्ये ४१ दशमलव १ प्रतिशतअर्थात् ३४ हजार ७६८ ले लामो अवधिका र बाँकी ५८ दशमलव ९ प्रतिशतअर्थात् ४९ हजार ८८२ ले एकदेखि छ महिनासम्मका व्यावसायिक तालीम कार्यक्रमबाट लाभ लिएका छन् । विषयगत विश्लेषणका आधारमा हेर्दा यसरी तालीम लिनेमा सबैभन्दा बढी १६ हजार २५५ अर्थात् ३२ दशमलव ६ प्रतिशत पर्यटन तथा अन्य सेवाका तालीम दिइएको पाइएको छ ।

यस्तै निर्माण क्षेत्रमा ३२ दशमलव २ अर्थात् १६ हजार ५६, कृषि तथा वन क्षेत्रमा १७ प्रतिशत अर्थात् आठ हजार ३०७, उत्पादनशील क्षेत्रमा १६ प्रतिशत अर्थात् सात हजार ९६० ले तालीम पाएका छन् । मन्त्रालयगत आधारमा कूल तालीम प्राप्तमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा बढी ७३ दशमलव ९ प्रतिशतलाई तालीम शिक्षा दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १० दशमलव ८ प्रतिशतलाई तालीम दिएको छ ।

शिक्षा मन्त्रालय सचिव महेशप्रसाद दाहालले प्राविधिक र व्यावसायिक क्षेत्रमा एकीकृत तथ्याङ्क सङ्कलनको निरन्तरताका साथै निकायगत समन्वयको खाँचो रहेको बताउनुभयो । मन्त्रालय मातहतको प्राविधिक तथा व्यावसायिक तालीम परिषद्ले विभिन्न विषयमा प्राविधिक शिक्षा दिइरहेको छ भने विश्व बैंकको सहयोगमा व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (दोस्रो) सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement