पत्रकार वसन्त पराजुलीको कथासंग्रह ‘कुमाता’ बिमोचित, भुँडीपुराण प्रकाशनले ल्यायो बजारमा

,   २७ फाल्गुन २०७६, मंगलवार, ०९:५० am   

काठमाडौँ । चितवनका पत्रकार वसन्त पराजुरीद्वारा लिखित ‘कुमाता’ कथा संग्रहको सोमवार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।
नेपाल लघुकथा समाजका अध्यक्ष एवम् गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र कथाकारकी आमा गोमा पराजुलीले सो कथासंग्रहको संयुक्त विमोचन गरेका हुन् ।

अक्षर समूहको आयोजनामा भएको कृति विमाचोन कार्यक्रममा वोल्दै लघुकथा समाजका अध्यक्ष श्रेष्ठले सृजनामा विश्वास गर्ने मान्छे उमेरले कहिल्यै नमर्ने दाबी गरे । ‘क्षणिकले केही हुँदैन साहित्यमा वाचुन्जेल साधना गर्न सक्नुपर्छ’, उनले भने । उनले समाजको हितका लागि साहित्य हुनुपर्ने धारणा राख्दै साहित्य क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधारेर लैजानुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रमा पुस्तक माथि समीक्षा गर्दै प्राडा एकनारायण पौडेलले कुनै पनि सत्यता भित्र कल्पना जोडेर गरिने रचना पाठकका लागि रुचिकर हुने धारणा राखे । कथाकार डा. हरिहर पौडेल, कथाकार एलवी क्षेत्री, साहित्कार भूपिन लगायतले कथा संग्रहको विषयमा टिप्पणी गरे ।

aecc

सामाजिक यथार्थवादी विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याएको हो । ‘कुमाता’मा सङ्ग्रहीत दस कथाहरु फरकफरक विषयवस्तुका छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको पत्रकार एवम् कथाकार पराजुलीले जानकारी दिए ।

‘कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छर छिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन् त्यसलैले कुमाता कथासङ्ग्रह भित्रको कथाहरु हरेक ब्यक्तिले आफ्नै समस्या हो कि भन्ने महशुस गर्छ’, पराजुलीले भने ।

गरिबी, बैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् । नवलपरासी गैडाकोटमा आयोजित बिमोचन समारोह अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितको अध्यक्षतामा सम्पन्न भएको हो ।