कोरोनाको असर अर्थतन्त्रमाः व्यवसायीहरु राहत कार्यक्रमको पखाईमा

Advertisement

काठमाडौं । कोरोना भाइरसको महामारीबाट अर्थतन्त्र जोगाउन विश्वव्यापी रूपमा खर्बौं रुपियाँका प्रोत्साहन योजना सार्वजनिक हुँदै गर्दा नेपालले भने त्यसतर्फ खासै अग्रसरता देखाएको छैन।

अर्थ मन्त्रालयका अधिकारीले नयाँ प्रकोपका कारण नेपाली अर्थतन्त्रले भोग्ने समस्याको आँकलन भइरहेको बताएका छन्। पर्यटन व्यवसायीले राहत कार्यक्रम छिटो ल्याउन माग गरिरहेका छन्।

नेपालमा कोरोना संक्रमण नभए पनि यसले ठूलो मात्रामा रोजगारी कटौती गर्नसक्ने, पर्यटन, यातायातलगायतका सेवा क्षेत्रमा जटिल समस्या उत्पन्न हुन सक्ने र वैदेशिक रोजगारीबाट फर्कनेलाई व्यववस्थापन गर्ने जोखिम बढ्न सक्ने आँकलन गरिएको छ। त्यसबाहेक मूल्यवृद्धि र कमजोर आर्थिक वृद्धिको सामना गर्नुपर्ने सरकारी अधिकारी बताउँछन्।

राष्ट्र बैंकले १९ फागुनमा जारी गरेको मौद्रिक नीतिको मध्यावधि समीक्षामा कोरोना भाइसरसका कारण असर पर्नसक्ने सम्भावित क्षेत्र पहिचान गर्ने भनिएको छ। ‘त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्था आवश्यकताअनुसार पुनरवलोकन गरिनेछ,’ राष्ट्र बैंकले भनेको छ।

उक्त नीतिले व्यवसायीलाई चैतमा तिर्नुपर्ने ब्याज केही महिनापछि तिर्न सक्ने गरी बाटो खोलिदिनेछ। केही व्यवसायीले सस्तो ब्याजमा नयाँ ऋण लिएर पुरानो कर्जा चुक्ता गर्न सक्नेछन्। तर नीतिगत रूपमा अघि सारिएको यो व्यवस्था कार्यान्वयन चरणमा पुग्न समय लाग्ने देखिएको छ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट भन्छन्, ‘कुनकुन क्षेत्र कति प्रभावित हुन्छ र कसलाई कस्तो सहायता दिने भनेर गहन अध्ययन गर्नु आवश्यक छ।’

विगतमा भूकम्प र नाकाबन्दीका बेला उपलब्ध गराइएका सहायता कार्यक्रमबाट केही व्यवसायी र बैंकले नाजायज लाभ लिएको भन्दै राष्ट्र बैंकका अधिकारी त्यस्ता सहायता घोषणा गर्नुअघि सजग हुनुपर्ने बताउँछन्। ‘तर पनि हामीले बढी प्रभावित हुने केही क्षेत्रलाई जोगाउन सहयोग गर्नैपर्ने अवस्था छ,’ भट्ट भन्छन्।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement