विश्व आर्थिक मञ्चले युवा नेता प्रदीप परियारलाई दियो ‘योङ ग्लोबल लिडर्स २०२० अवार्ड’

Advertisement

काठमाडौँ । विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पुरयाएको योगदानको कदर गर्दै नेपाली युवा प्रदीप परियारलाई ‘योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्ड’ बाट सम्मानित गरेको छ ।

मञ्चका संस्थापक क्लाउस स्वाबले सन् २००४ मा वाइजिएल फोरम स्थापना गर्दै यो अवार्ड सुरु गरेका हुन् । विश्वमा बढ्दो जटिलता एवं चुनौती सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो । परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एक्ला नेपाली युवा हुन् ।

मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पु¥याएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो ।” यसअघि सन् २०१५ मा नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले सो अवार्ड प्राप्त गरेका थिए ।

हाल समता फाउन्डेशनका कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्ति निर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीति निर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गर्दै आएका छन् ।

समता फाउन्डेशन जातीय विभेद तथा सीमान्तकृत समुदायको क्षेत्रमा विशेषज्ञता हासिल गरेको अग्रणी संस्था हो । परियारले यसअघि सन् २०१८ मा एशिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका थिए । परियार सन् २०११ को विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका युथ फेलो पनि हुन् ।

Advertisement

Advertisement

Advertisement