नेपाल श्रम आप्रवासन प्रतिवेदन सार्वजनिक, सम्भावना तथा चुनौतीबारे सुझाव

Advertisement

काठमाडौँ । सरकारले श्रम आप्रवासनको विविध आयामलाई समेटेर ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री रामेश्वर राय यादवले उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् । मुख्यतः पाँच भागमा छुट्याइएको प्रतिवेदनमा श्रम आप्रवासन अवस्थाको सिंहावलोकन, वैदेशिक रोजगार संक्षिप्त परिचय, नेपालमा श्रम आप्रवासनको सुशासन, क्षेत्रगत मुद्दाहरु र सुधारका क्षेत्रलाई विस्तृतमा अध्ययन गरिएको छ ।

प्रतिवेदनले श्रम आप्रवासनका क्षेत्रमा राष्ट्रिय, द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी तहमा नेपालले शुरुआत गरेको सुधारका प्रयासलाई समेटिएको छ । तथ्यमा आधारित नीति निर्माणको महत्वलाई प्राथमिकता दिँदै प्रतिवेदनले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका आधारमा नेपालको श्रम आप्रवासनको प्रवृत्तिको विस्तृतमा विश्लेषण गरिएको छ ।

प्रतिवेदनले श्रम आप्रवासनको सम्भावना तथा चुनौतीलगागत विभिन्न पक्षमा बृहत् जानकारी प्रस्तुत गरेको छ । श्रम आप्रवासनका क्षेत्रमा गर्नुपर्ने सुधारको सम्बन्धमा प्रतिवेदनले सुझावसमेत दिएको छ । सरकारका विभिन्न निकायको उपलब्ध तथ्याङ्क र श्रम आप्रवासनको विभिन्न सुुधार प्रयासको विस्तृत समीक्षाको आधारमा प्रतिवेदन तयार गरिएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री यादवले प्रतिवेदनले दिएको सुझावले श्रम आप्रवासन क्षेत्रमा भावी योजना बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतिवेदनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

मन्त्रालयका सचिव विनोद केसीले नेपालमै रोजगारी सिर्जना गर्ने विषयलाई पनि प्रतिवेदनमा समेटिएको बताए । वैदेशिक रोजगारीका क्षेत्रमा सुशासनको कमी छ भन्ने विषयलाई प्रतिवेदनले औँल्याएको उल्लेख गर्दै उनले कमजोरी सुधारका निमित्त सुझावसमेत दिएको बताए । प्रतिवेदन तयार गर्न श्रम सचिव केसीको संयोजकत्वमा सरोकारवाला सहभागी निर्देशक समिति गठन गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement