वैदेशिक रोजगारी-दुबई जाने शुल्क ५ लाख ५० हजार !

,   १ चैत्र २०७६, शनिबार, ०८:०४ pm   
kumar_dahal

काठमाडौं । बुटवलका सन्तोष घिमिरे दुबई गएर मनग्गै पैसा कमाउने सपना बोकेर मेनपावर कम्पनी धाउन थाले । त्यत्तिकैमा उनले थाहा पाए टोखामा रहेको अलमाइटी इन्टरनेशनल मेनपावर सर्भिसेज प्रालीमा दुबईका लागि राम्रो अफर आएको छ । उनी अलमाइटी गए, अन्तरवार्ता दिए र पास पनि भए । फ्रि भिसा, फ्रि टिकटको व्यवस्था अनुसार जान पाउने आस गरेका उनी मेनपावरको सर्त सुनेर छाँगाबाट खसे जस्तै भए ।

मेनपावरले उनीसँग दुबई जान ५ लाख ५० हजारको डिमाण्ड गर्यो । तब उनले अठोट कसे रंगेहात पक्राउ गराउने । उनी गए वैदेशिक रोजगार विभाग गए । विभागका महानिर्देशक कुमार दाहालसँगको परामर्शपछि एउटा योजना बन्यो ।

सोही योजना अनुसार उनले पहिलो किस्ता स्वरुप एक लाख ६० हजार रुपैयाँ बुझाए । घिमिरेले सो रकम नगद नभएर रेमिटेन्स कम्पनी मार्फत भुक्तानी गरेका थिए, जुन विभागसँगकै परामर्शमा गरिएको थियो । त्यसपछि दोश्रो किस्ता वापतको ३ लाख ९० हजार रुपैयाँ बुझाउने बेला विभागले स्टिङ अपरेशन गर्यो ।

aecc

विभागको स्टिङ अपरेशनमा परिन मेनपावर कम्पनीकी कर्मचारी तुल्सि रजाली । रजलीलाई विभागले ३ लाख ९० हजार नगदसहित रंगेहात पक्राउ गरेको छ । विभागका अधिकृत तिर्थ कट्टेलका अनुसार शुक्रबार विभागको टोलीले गरेको स्टिङ अपरेशनमा रजालीलाई रंगेहात पक्राउ गरिएको हो ।

दर्ता नम्बर १४४० रहेको अलमाइटी इन्टरनेशनल मेनपावर सर्भिसेज प्रालीका सञ्चालक नविन देवान छन् । विभागले मेनपावरको कारोबार रोक्का गरिसकेको छ । ‘वैदेशिक रोजगारमा जाने कामदारहरु माथि भैरहेको ठगी रोक्न हामी कुनै कसर बाँकी राख्दैनौं, अब ठगी गर्ने कसैले उन्मुक्ति पाउँदैन्’, महानिर्देशक कुमार दाहालले कर्पाेरेट नेपालसँग भने ।

२५ सयको जागिर
सन्तोष घिमिरेलाई दुबईस्थित एलाइड जोन डेलिभरी सर्भिस काम गर्नुपर्ने थियो । उनको मासिक तलब ८ दैनिक घण्टाको २५ सय दिराम तोकिएको थियो ।