घरेलु मदिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो, शोकमा डुब्यो गाउँ

Advertisement

धनुषा । घरेलु विषाक्त मदिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । शनिबार जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

शनिबार मृत्युु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेका छन् । होलीका अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ र मिथिला र झगरुको आज मृत्यु भएको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृत्यु भइसकेको थियो ।

सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् । मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकका अनुसार उनीहरूले होलीमा अत्यधिक घरेलु मदिरा सेवन गर्दा मृत्यु भएको बताए । प्रनि नायकले भने, “उनीहरूले स्थानीय पसलबाट मदिरा खाएको र कुन मदिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौँ ।” उनले स्थानीय केही पसलबाट मदिरा नियन्त्रणमा लिएर विषालु हो÷होइन जाँच गर्न पठाएको बताए ।

प्रनि नायकले अवैध घरेलु मदिरा बेचेको आरोपमा स्थानीयवासी रामनन्द साह र तारापट्टीबाली भनिने छठियादेवी चौधरीलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको बताए ।

सारा गाउँ शोकमग्न
अहिले विषाक्त घरेलु मदिराले निम्त्याएको मानवीय क्षतिका कारण सारा रमदैया गाउँ नै शोकमा डुबेको छ । मदिरा सेवनबाट मृत्यु हुनेहरु प्रायः गरिब विपन्न र दलित समुदायका छन् । दैनिक ज्याला मजदूरी गर्ने घरपरिवारमा कमाउने व्यक्तिको मृत्युपछि बालबच्चा, वृद्धवृद्धा बाबुआमा तथा श्रीमतीको बिच्चली हुने अवस्थामा छन् ।

Advertisement

Advertisement

Advertisement