आठ महिनामा ४८ फर्मको कारोवार रोक्का, एक करोड १६ लाख राजश्व सङ्कलन

Advertisement

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाट रु एक करोड १६ लाख ७२ हजार राजश्व सङ्कलन भएको छ । उनका अनुसार काठमाडौँ उपत्यका र उपत्यकाबाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराइएको हो ।

विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुनको १६ गतेसम्म काठमाडौँसहित विभिन्न जिल्लाका एक हजार दुई सय ३३ फर्म तथा उद्योगमा अनुगमन गरेको जनाएको छ । विभागको तथ्याङ्कअनुसार बजार अनुगमनका क्रममा १४४ फर्मलाई स्पष्टीकरण, ५४१ फर्मलाई निर्देशन, २१ फर्मको नमूना परीक्षणका लागि लिइएको र ४८ फर्मको कारोवार रोक्का गरिएको छ ।

त्यस्तै अनुगमका क्रममा भेटिएका एक करोड ५३ लाख ७८ हजार बराबरका गुणस्तरहीन, म्याद समाप्त भएका वस्तु नष्ट गरिएको उनले बताए । उनका अनुसार चालु आवमा एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य थियो तर हामीले लक्ष्य पूरा गरी थप एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै विभागमा गरिमा जातको नक्कली धानको बीउका बारेमा उजुरी परेपछि विभागले विभिन्न १७ फर्मलाई कारवाही गरेको छ । किसानको उजुरीपछि गठित टोलीले स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरी बीउ आयातकर्तालाई रु तीन लाख र अन्य बिक्रेतालाई रु दुई लाखको दरले जरिवाना तोकेको थियो ।

कारवाहीमा परेका १७ फर्ममध्ये लमही नगरपालिका–३ दाङको सनराइज एग्रिकल्चर रिसर्च प्रालिलाई रु तीन लाख र अन्य १५ फर्मलाई रु दुई लाख र एक फर्मलाई रु २० हजार जरिवाना गर्दा रु ३१ लाख २० हजार राजश्व सङ्कलन भएको जनाएको छ । रासस

Advertisement

Advertisement

Advertisement