'कोरोना लागेमा उपचारको सबै जिम्मा सरकारले लिन्छ'

Advertisement

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमित फेला परेमा सबै उपचारको जिम्मा सरकारले लिने बताएका छन् ।

राष्ट्रिय सभा बैठकमा कोरोना रोकथामबारे सरकारले गरेको तयारीबारे जानकारी दिँदै उनले भने ‘संक्रमण हुनै नदिने सरकारको प्रयत्न हो, यदि संक्रमण फेला पर्यो भने उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिन्छ ।’

मन्त्री ढकालले नेपाल आउने विदेशीले १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने र नेपाली नागरिकले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने पनि उनले स्पष्ट पारे ।

उनले कोरोना रोकथामका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै सबैको अविभावकत्व लिन सरकार तयार रहेको स्पष्ट पारे । उनले कोरोना देखिएका देशहरुको अध्ययनबाट पनि सरकारले आफ्नो तयारीलाई अघि बढाएको बताए ।

‘कोरोना लागेका देशहरुको अध्ययन गर्दा ८० प्रतिशत सामान्य उपचार गरेर ठिक भएको, १५ प्रतिशतलाई आइसोलेटेड बेडमा राख्नुपरेको र ५ प्रतिशतलाई अति जोखिमयुक्त ठाउँमा राखेर उपचार गर्नुपर्ने देखियो । हामी पनि त्यसै गरि तयारी गरिरहेका छौं ।’, मन्त्री ढकालले भने ।
उनले संक्रमण हुनै नदिने र भैहालेमा कसरी लड्ने भन्नेबारे निश्चिन्त हुन आग्रह पनि गरे ।

‘हामीले व्यापक तयारी गरेका छौं, आतंकित हुनुपर्ने अवस्था छैन् । संक्रमित फेला परेमा कसरी लड्ने भन्ने तयारी गरेका छौं । राज्यले आफ्नो अविभावकत्व देखाउँछ ।’, मन्त्री ढकालले भने ।
उनले काठमाडौंमा १७० आइसीयु वेड रहेको र १२० आईसीयु थपिएको जानकारी पनि दिए । त्यस्तै, उपत्यका बाहिर १५ वटा आइसीयु थपिएको स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement