भ्रमण बर्ष २०२० असफलपछि पर्यटनमन्त्रीको प्रस्ताव- अब भ्रमण दशक २०२०-३० मनाऔं

Advertisement

काठमाडौं । कोरोना भाइरस भित्रिनसक्ने त्रासका कारण भ्रमण बर्ष २०२० स्थगित गरिएपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण दशक २०२०-३० को प्रस्ताव अघि सारेका छन् ।

आइतवारपर्यटन पूर्वाधार एवम् पर्यटकीय उपज विकास साथै आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका लागि स्थानीय तहसँग साझेदारी गर्नेबारे आयोजित छलफलमा उनले सन् २०२० देखि २०३० सम्म पर्यटन दशक मनाउँदै पर्यटकीय पहुँच, पूर्वाधार तथा उपज विकास, पर्यटन प्रवर्द्धन र गुणस्तर विकासमा केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रममा दीगो विकासका लक्ष्य, नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना, २०१६-२५, चालु पन्ध्रौं योजना, प्रस्तावित पर्यटन दशक, २०२०-३०, प्रदेश सरकार तथा स्थानीय तहका प्राथमिकताका आयोजना समेतका आधारमा सहकार्यका विविध पक्षबारे प्रस्तुतिकरण गरिएको थियो ।

मन्त्री भट्टराईले समृद्धका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउँदै सबैं प्रदेशमा कम्तिमा एकएक वटा ठूला पर्यटकीय उपजको विकासको कार्यक्रम ल्याइने बताए । उनले हरेक प्रदेशमा पर्यटकीय सूचना केन्द्र बनाउनुपर्ने, पर्यटकलाई दिइने सेवा सुविधा बृद्धि गर्नुपर्ने, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन संघीय सरकारले गर्ने र प्रदेश सरकारले विशेषरुपमा आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

उनले पर्यटनसम्वन्धी कार्यक्रम र परियोजनामा थप परिस्कृत गर्दै आगामी आर्थिक वर्षमा अगाडि बढाइने बताए । पर्यटनसचिव केदार अधिकारीले पर्यटन क्षेत्रको एकीकृत विकासको लागि अवलम्बन गर्न सकिने उपायहरुबारे बताएका थिए ।

नेपालको समग्र पर्यटन क्षेत्रको विकास, पन्ध्रौं योजनाले यस क्षेत्रमा लिएको लक्ष्य तथा रणनीतिबारे राष्ट्रिय योजना आयोगका माननीय सदस्य रामकुमार फुयाँलले प्रकाश पारेका थिए ।

Advertisement

Advertisement

Advertisement