कोरोनाविरुद्ध सार्कका नेताहरु, कोष बनाऔंः मोदी, भिडियो कन्फरेन्स गरेकोमा धन्यवादः ओली

Advertisement

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले दक्षिण एसिया पनि प्रभावित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रहमा आइतबार सार्कका नेताहरु भिडियो कन्फरेन्समा सहभागी भएका छन् ।

कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क राष्ट्रबीच संयुक्त आपत्कालीन् कोषको प्रस्ताव गरेका छन् । कोरोनाविरुद्धको लडाइँमा रणनीति तयार गर्न गरिएको कन्फरेन्समा सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

प्रस्तावित कोषमा आफ्नो मुलुकको तर्फबाट १० मिलियन डलर राख्न तयार रहेको मोदीले बताए । उनले हरेक राष्ट्रले यसमा योगदान गर्ने र आवश्यकताअनुरुप यसलाई परिचालन गर्न सकिने भन्दै सार्क मुलुकका लागि विशेष मेडिकल रेस्पोन्स टिम बनाउने प्रस्तावसमेत अघि सारेका छन् । यो टिमलाई कोरोना नियन्त्रणका लागि परिचालन गरिनेछ ।

मोदीले कोरोना भाइरसको प्रकोपले आन्तरिक तथा बाह्य अर्थतन्त्रमा समेत असर पार्ने भन्दै सार्क राष्ट्रबीचको सहकार्यले मात्रै यस समस्याको पार लगाउन सकिने बताए । भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, नेपालका प्रधानमन्त्री केपी ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा तथा श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे सहभागी थिए ।

कन्फरेन्समा नेपालका प्रधानमन्त्री ओलीले कन्फरेन्स आयोजना गरेकोमा मोदीलाई धन्यवाद दिए । उनले कोरोना भाइरसको प्रकोप नेपालमा प्रवेश गर्न नदिन काम भइरहेको भन्दै नेपालले यसविरुद्ध पर्याप्त सजकता अपनाएको दावी गरे ।

ओलीले कोरोनाको संक्रमण हाल नेपालमा नरहेको पनि बताए । उनले नेपालमा भेटिएको एकमात्र कोरोना संक्रमित बाहिरबाट आएको र ती व्यक्तिलाई निको भएको उल्लेख गर्दै कोरोनाको संक्रमण हुनु पहिल्यै सचेतताका काम भइरहेका बताए ।

Advertisement

Advertisement

Advertisement