कसलाई बनाउनुपर्छ राष्ट्र बैंकको भावी गभर्नर ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नर बन्ने दौडधुप यतिबेला उत्कर्षमा छ । सायद यसै हप्ता मन्त्रिपरिषद बैठक बस्नेछ र गभर्नर नियुक्तीका लागि छनौट समिति बन्नेछ । सरकारको आर्थिक सल्लाहकार र वित्तिय क्षेत्रको स्थायित्वमा भूमिका खेल्ने राष्ट्र बैंकको गभर्नर कस्तो व्यक्तिलाई बनाउनुपर्छ ? के के गुण भएको व्यक्ति गभर्नरका लागि योग्य हुन सक्छ ? नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणा, पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइराला, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला र बैंकर्स संघका अध्यक्ष भुवन दाहालले चाहेको गभर्नर कस्तो हो त ?

शंकर प्रसाद कोइराला, पूर्व अर्थमन्त्री
नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा राष्ट्रबैंक भित्रकै योग्य र सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्छ । अहिले नयाँ गर्भनरको नियुक्तिमा ढिलाई भइसकेको छ । सरकारले चाँडो प्रक्रिया अघि बढाउनु पर्छ । राष्ट्र बैंकको नयाँ गर्भनर सरकारले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति भन्दा पनि राष्ट्रबैंकको नेतृत्व लिनसक्ने व्यक्तिलाई बनाउनुपर्छ । कार्यकर्ता जस्तो लगाएको काम मात्रै गर्ने नभई आफ्नै विवेकले नेतृत्व गर्न सक्ने व्यक्ति राष्ट्र बैंकमा आजको आवश्यकता हो । पछिल्लो समय विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासबाट नेपाली अर्थतन्त्रलाई जोगाउन सक्ने कुशल नेतृत्व राष्ट्र बैंकका लागि आजको आवश्यकता हो ।

राष्ट्र बैंकमा सरकारले आफ्नो विश्वासपात्र राख्न खोज्ने पछिल्लो परिस्थितिमा देखिँदै आएको छ । यसपाली त्यस्तो परिस्थिति बन्नु हुन्न । सरकारको आर्थिक नीति परिचालनको जिम्मेवारी वहन गर्न सक्ने व्यक्ति नै गभर्नरका लागि योग्य हुन्छन् । यसतर्फ सरकारले ध्यान दिनेमा म चाँही विश्वस्त छु ।

हिमालय शमशेर राणा, प्रथम गभर्नर, नेपाल राष्ट्र बैंक
राष्ट्र बैंकको राम्रो जग बसिसकेका छ । जस्तो व्यक्ति आए पनि बैंक निश्चित पद्धति र प्रणालीबाट चलिरहेको र कमिटीबाट निर्णय हुने प्रणालीका कारण समस्या आउँदैन् । फेरी पनि कस्तो व्यक्तिले नेतृत्व पाउँछ भन्ने कुराले संस्थाको उचाई कति बढ्छ भन्ने निर्धारण हुन्छ । पहिले–पहिले नाम चलेका सक्षम व्यक्तिलाई बैंकको गभर्नर नियुक्त गर्ने परिपाटी थियो ।

तर पछिल्लो समय राजनीतिकरण हाबी हुँदै आएको महशुस हुन थालेको छ । भावी गर्भनरमा निजी क्षेत्र र अर्थशास्त्रको राम्रो ज्ञान भएको, कर्मचारी र ट्रेड यूनियनहरुलाई नियन्त्रण र व्यवस्थापन गर्न सक्ने, अन्तराष्ट्रिय अर्थतन्त्रको ज्ञान भएको व्यक्ति छान्न सक्नुपर्छ ।

अब लगानी मैत्री वातावरण बनाउनुपर्ने, कृषि , जलविद्युत र पर्यटन क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने र लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था छ । त्यसका लागि दृढताका साथ काम गर्न सक्ने मान्छेलाई गभर्नर बनाइनुपर्छ ।

लक्ष्मी प्रपन्न निरौला, पूर्व कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक तथा अध्यक्ष कृषि विकास बैंक
म भर्खरै नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्त भएको हुँ । त्यहाँ भित्रका समस्या, अवसर र चुनौतीलाई नजिकबाट बुझेको छु । मलाई लाग्छ, नयाँ गभर्नरले प्रणालीगत जोखिमबाट बैंकलाई मुक्त गर्नुपर्नेछ । बैंक भित्रको संरचनागत समस्याको मनोविज्ञानलाई कठोरताका साथ नियन्त्रण गर्नुपर्नेछ । बैंकको स्वायत्तता र स्वतन्त्रतालाई ख्याल गर्नुपर्नेछ । त्यति मात्रै होइन, सरकार तथा दाताहरुलाई समन्वय गर्न सक्ने व्यक्ति राष्ट्र बैंकलाई आवश्यक छ ।

भुवन दाहाल, अध्यक्ष, नेपाल बैंकर्स संघ तथा सिइओ, सानिमा बैंक
यतिबेला विश्व समुदाय कोरोनाको त्रासबाट गुज्रिरहेको छ । हामी पनि विश्व समुदायकै एक सदस्य हौं, त्यसकारण कोरोनाले विश्व अर्थतन्त्रमा पार्ने प्रभावबाट हामी प्रभावित नहुने कुरै रहेन् । अहिलेका लागि मुलुकको अर्थतन्त्रमा देखिन सक्ने सम्भावित चुनौतीको पहिचान गरेर समाधानका उपाय खोज्न सक्ने व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर बन्नुपर्छ । सरकार, निजी क्षेत्र, दातृ निकाय, हामी बैंकर र आम नागरिकलाई जोड्न सक्ने व्यक्तिको आवश्यकता छ ।
गभर्नर भनेको हाम्रा अभिभावक हुन, उनको भूमिकालाई वित्तिय क्षेत्र कता जान्छ भन्ने कुरा निर्क्योल हुन्छ । अनि वित्तिय क्षेत्र कता जान्छ भन्ने कुराले देशको अर्थतन्त्र कता जान्छ भन्ने निर्धारण हुन्छ । त्यसकारण हामी असल लिडर र अभिभावकको प्रतिक्षामा छौं । (उनीहरुले राजधानीमा आयोजीत एक कार्यक्रममा व्यक्त गरेको विचार)

Advertisement

Advertisement

Advertisement