कोरोना भाइरसको असरः जनकपुर-पटना चल्ने गाडी आजदेखि बन्द

Advertisement

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आजदेखि बन्द भएको छ ।

कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा आजदेखि रोक लगाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

दुई वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट संयुक्तरुपमा दैनिक यातायातका लागि जनकपुर पटना नेपाल–भारत मैत्री बस सेवाको उद्घाटन गरेका थिए ।

नेपाल–भारत मैत्री बस सेवा बन्द
यता, कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा हिजोदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताए ।

“जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेका छौँ”, उनले भने । अर्को आदेश नआउँदासम्म बस सेवा रोकिएको उनले बताए । महाकाली यातायातले नयाँदिल्ली, देहरादुनलगायतका क्षेत्रमा नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement