कोरोना संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टाभित्र ३६८ जनाको मृत्यु

Advertisement

रोम । इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ ।

इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या यो समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ । भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ । पोप फ्रान्सिस आइतबार भ्याटिकन शहरमा पैदल हिँडेर कोरोनाभाइरस महामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न गएका थिए ।

कोरोनाभाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ ।

अमेरिकी विमानस्थलमा भिडभाड
संयुक्तराज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भिडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरेपनि कर्मचारीहरूले नयाँ प्रवेश नियमहरू र मेडिकल स्क्रीनिङमा कडाई गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण देखिएको छैन । उनी अमेरिका भ्रमणमा रहेको बेला ब्राजिलका राष्ट्रपतिको प्रतिनिधिमण्डलका धेरै सदस्यसँग भेटवार्ताका क्रममा सम्पर्कमा आएका थिए । अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिनले आइतबार महामारीको प्रभावले अमेरिकी अर्थतन्त्रमा केही “मन्दी” उत्पन्न भएको बताउनु भएको थियो तर उहाँले यस्तो मन्दी धेरै दिन नरहने दाबी गरेका छन् ।

आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्क अनुसार, आइतबारसम्ममा विश्वभर ६ हजार ४२० जनाको मृत्यु भएको छ भने एक लाख ६३ हजार ९३० जना बिरामी भएका छन् । यो रोग विश्वका १४१ मुलुकमा देखिएको छ । युरोपमा आइतबारसम्ममा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या २,००० नाघेको छ । यो रोगले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ, खेल र सांस्कृतिक क्यालेन्डरहरू रद्द भएका छन्, शेयर बजार र व्यवसायलाई हल्लाइदिएको छ – विशेष गरी एयरलाइन्स ।

चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने
चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृत्यु भएको छ । निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९११ जना बिरामी निको भएर घर फर्केका छन् ।

चीनले पछिल्लो पटक विदेशी यात्रुहरुलाई नयाँ नियमहरु घोषणा गरेको छ । चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । करिब ७२४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनिक स्थलमा मानिसलाई भेला नहुन आदेश जारी गरिएको छ । इरान अहिले चीन र इटालीपछि सर्वाधिक प्रभावित मुलुक हो ।

बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ । बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । अर्कोतर्फ, फ्रान्सले आइतबारका लागि तय भएको नगरपालिका चुनाव अगाडि बढ्न अनुमति दिएको छ ।

नेदरल्यान्ड्स सरकारले नयाँ कोरोनाभाइरसको संक्रमणको खतरा औंल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौनक्लब र क्याफेहरू बन्द गर्ने आदेश दिएको छ । धेरै देशहरूले आफ्ना मुलुकमा प्रवेश गर्न विदेशीहरूलाई प्रतिबन्धको घोषणा गरेका छन् ।

अस्ट्रियाले पाँच भन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको थियो । नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ । पोर्चुगलले पनि घातक कोरोनाभाइरसको विस्तारलाई सुस्त पार्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ । अष्ट्रेलिया र न्युजील्यान्डले विदेशबाट आउने जोकोहीले दुई हप्ता अलग्गै बस्नु पर्ने जनाएका छन् ।

अफ्रिकाका आधा दर्जनभन्दा बढी मुलुकमा कोरोनाको संक्रमण देखिएको बताएका छन् । “कोरोनाभाइरस हामीमाथि प्रतिबन्ध लगाउने देशमाथि ईश्वरले दिएको दण्डसजाय हो,” जिम्बाब्वेका रक्षामन्त्री ओपाह मुचिनगुरीले बताए । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले प्रकोप प्रभावित मुलुकबाट आउने मुलुकका नागरिकका लागि देशको सीमाना बुधबारदेखि बन्द गरिएको घोषणा गर्नु भएको छ । दक्षिण अमेरिकामा थोरै संख्यामा संक्रमण देखिएको छ, तर कोलम्बियाले भेनेजुएलासँग आफ्नो सीमा बन्द गरेको छ । रासस/एएफपी

Advertisement

Advertisement

Advertisement