सवारी नियम उल्लंघन गर्नेलाई कारवाही गर्नुभन्दा पहिले ‘नमस्कार'

Advertisement

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठि फुकेर लखेट्ने ट्राफिक प्रहरी अब भिन्न भूमिकामा देख्न पाईन्छ । सडकमा तैनाथ ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले नमस्कार गर्दछन् । त्यसपछि आवश्यकताअनुसार कानून कार्यान्वयनका लागि कारवाही गर्दछन् नत्र सम्झाइ बुझाइ गर्दछन र ट्राफिक नियम पालनामा सर्तक रही प्रवृत्तिको विकास गर्न सुझाउँदछन् ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूवात गरका हौं’, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने– ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ ।

यसैबीच, महाशाखाले कानुन कार्यान्वयनको कामलाई भने कडाइका साथ कार्यान्वयन गरिरहेको छ । ‘गल्ती रियलाईज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान शुरु गरेका हौँ,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीवीच एक(आपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्वअनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्ने वित्तिकै प्रहरी वरिष्ठ उपरीक्षक ढकालले आफ्ना ७ प्राथमिकता सार्वजनिक गरेका थिए । दक्ष, अनुशासित, मेहनती, सुजबुझ ढंगले काम गर्ने स्मार्ट ट्राफिक प्रहरी बनाउने एसएसपी ढकालको पहिलो प्राथमिकता रहेअनुसार ट्राफिक प्रहरीहरूलाई विभिन्न तालिम र अनुशिक्षण पनि प्रदान भईरहेको छ ।

Advertisement

Advertisement

Advertisement