अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, ट्रम्पले भनेः धेरै खुसी छु

Advertisement

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी प्रकोपसँगै प्रभावित आर्थिक गतिविधिका कारण अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्बले चालेको सङ्कटकालीन कदमसँगै वाल स्ट्रीट स्टक बजारमा सोमबार १० प्रतिशतको गिरावट आएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड)१९० सँग लड्न अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड)ले आपतकालीन रुपमा ब्याजदर घटाउँदै शून्य दशमलब २५ कायम गरेसँगै आइतबार स्टक बजारमा पनि यस प्रकारको हलचल देखिएको हो । अमेरिकामा अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि ७ खर्ब डलरको आर्थिक सहायता कोषको पनि घोषणा गरिएको छ । अमेरिकाको यो कदम बेलायत, जापान, यूरोक्षेत्र, क्यानडा र स्वीट्जरल्याण्डसँग गरिएको सहकार्यको एक भाग हो ।

फेडका प्रमुख जेरोम पावेलले महामारीले अमेरिकाको अर्थतन्त्रमा नकारात्मक असर कम गर्न यो योजना ल्याइएको बताए । उनकाअनुसार ब्याजदर शून्यदेखि ०.२५ को बीचमा राख्ने निर्णय भएको छ ।

आइतबार करिब २० मिनेटको कारोबारमा नै डो जोन्सको औद्योगिक कारोबार औसतमा २० हजार ६६९ दशमलब ४२ अङ्क अर्थात् १०.९ प्रतिशतमा झरेको थियो । यद्यपि त्यसपछिको १५ मिनेटमा भने स्टक कारोबारमा सामान्य सुधार देखिएको थियो ।

समग्रमा एस एन्ड पी को कारोबारमा १० प्रतिशत गिरावट भई दुई हजार ४२२ दशमलब ६९ अङ्क देखिएको छ भने प्रविधिमा सम्पन्न नासाक कम्पोजिट सूचकाङ्कमा पनि १०।५ प्रतिशतको गिरावट भई सात हजार ५१ दशमलब ७७ अङ्कमा सिमित भएको छ ।

अमेरिकामा सेयर बजारमा गिरावट एशिया र यूरोपमा देखिएको सेयर बजारको गिरावटसँगै सुरू भएको छ । खासगरी फ्रान्स र स्पेनमा कोरोना भाइरसका कारण परेका असरहरूले अमेरिकी सेयर बजारमा पनि प्रभाव परेको हो ।

यसअघि गत मार्च ३ मा पनि फेडले आपतकालीनरुपमा ब्याजदर शून्य दशमलव ५ प्रतिशत अंकले घटाउने निर्णय गरेको थियो । यो सन् २००८ वित्तीय संकटयता गरिएको पहिलो आपतकालीन ब्याजदर कटौतीको निर्णय थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडको यो निर्णयले आफूलाई निकै खुसी बनाएको बताएका छन् । पछिल्लो समय कोरोना भाइरसको महामारी फैलिएसँगै शेयर बजार पनि उल्लेख्य मात्रामा घटेका छन् ।

Advertisement

Advertisement

Advertisement