बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुग्यो

Advertisement

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलँदै गएपछि नियन्त्रणका थप उपाय अवलम्बन गरिएका छन् । सरकारले सोमबार अपिल जारी गर्दै आपत्‌कालीन विधेयक ल्याउने तयारी गरेको छ ।

कोभिड–१९ को संक्रमण रोक्न बेलायत सरकारले पब, क्लब, रेष्टुरेन्ट, सिनेमा घर, थिएटरलगायत सामाजिक जमघटमा नजान अपिल गरेको छ। सरकारको आग्रहसँगै रोयल ओपेरा हाउस बन्द गरिएको छ।

प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार आयोजित एउटा पत्रकार सम्मेलनमा सबै ब्रिटिस जनतालाई अनावश्यक यात्रा नगर्न र अरु मानिसहरुसँग सकभर सम्पर्कमा नआउन आग्रह गरेका छन्।

उनले गर्भवती महिला, ७० वर्ष नाघेका तथा केही खास रोग भएका मानिसहरुले सल्लाहलाई महत्वका साथ लिनुपर्ने बताए।प्रधानमन्त्री जोन्सनले सम्भव भए घरैबाट काम गर्न पनि सुझाएका छन्।

प्रधानमन्त्रीले उच्च ज्वरो र निरन्तर खोकी लागे सबै परिवारलाई १४ दिनसम्म घरैमा बस्न पनि अनुरोध गरेका छन्। ‘हामी एक अदृश्य हत्याराविरुद्धको युद्धमाछौं, ’ बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले भने, ‘यस भाइरससँग जुध्न बिहीबार एक आपत्‌कालीन विधेयक ल्याइने छ।’

बेलायतले कोभिड–१९ नियन्त्रणमा सशक्त कदम चाल्न ढिलाइ गरेको भन्ने आलोचनासमेत भइरहेको छ। सरकारले स्कुल, विश्वविद्यालय बन्द र आमसभा, सम्मेलन रोक्न ढिलाइ गरेकोमा आलोचना खेपेको छ।

केही दिनअघि पूर्व स्वास्थ्य मन्त्री जेरेमी हन्टले विद्यालय बन्द नगरेको भन्दै सरकारको आलोचना गरेका थिए।

तर, बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले सरकारले अहिले अख्तियार गरेको रणनीतिले देशभरि बहुसंख्यक जनतामा रोग प्रतिरोध क्षमता विकास गर्ने बताउँदै त्यसको बचाउ गरेका छन्।

बेलायतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म ५५ पुगेको छ। मृत्यु भएका सबै ६० वर्ष उमेर माथिका र यसअघि नै बिरामी रहेका बेलायती अखबारहरुले जनाएका छन्। मंगलबार बिहानसम्म १५४३ जना संक्रमित भएका बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म ४४ हजार बढीले कोभिड–१९ को परीक्षण गराइसकेका छन्।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement