सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरुद्ध २ लाख रुपियाँको भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसमेत २ जना बिरुद्ध २ लाखको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलको निर्देशनमा खानेपानी तथा सरसफाई टेक्निसियन चित्रबहादुर केसीलाई उक्त नगरपालिकाको वडा नम्बर ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस दुइ लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

यसैगरी महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी सहायक निरीक्षक बाबुलाल लामासमेत ५ जना बिरुद्ध मंगलबार २ लाखको भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् । चोरी कसुरसम्बन्धी अनुसन्धानको क्रममा हिरासतमा रहेका रुवेश महरालाई छुटाई दिन निजका आफन्तहरुसँग लामा घुस दिन खोजको पुष्टी भएपछि मुद्दा दायर गरिएको हो ।

यता, मंगलबार नै विशेष अदालत काठमाडौँमा नापी कार्यालय, बाँकेमा कार्यरत सर्भेक्षक यामबहादुर खत्रीसमेत ३ जना बिरुद्ध ३५ हजार रुपियाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । प्रवक्ता कोइरालाका अनुसार सर्भेक्षक यामबहादुर खत्री र आफूलाई लेखापढी कार्य गर्ने बताउने प्रताप केसीले हालसाविक भिडाउने काम बापत सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको थियो ।

यसैबीच जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन, बैतडीका निमित्त डिभिजन प्रमुख इन्जिनियर सुरेशराज भट्ट बिरुद्ध मंगलबार विशेष अदालत काठमाडौँमा १ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

भट्ट चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिए बापत सेवाग्राहीसँग १ लाख रुपियाँ घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।

त्यसैगरी मंगलबार नै विशेष अदालत काठमाडौँमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कसप हेटौंडामा कार्यरत ईलेक्ट्रिसियन भेषबहादुर पौडेल बिरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी जागिर खाई भ्रष्टाचार गरेको पुष्टी भएपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता कोइरालाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement