चैत २१ गतेसम्म ‘व्यापार-व्यवसाय’ बन्द गरिने, घरभाडामा विशेष सहुलियत दिन माग

Advertisement

काठमाडौँ । कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ । सङ्घको आज बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने जनाउँदै सो दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो ।

सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकाले सङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए । “व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौँ,” उाले भने ।

अध्यक्ष कार्कीले अत्यावश्यक वस्तुको बिक्रीवितरण पारदर्शी र प्रभावकारी बनाउनुपर्ने समेत बताउनुभयो । बैठकले कोभिड–१९ का कारण उद्योग, तथा व्यापार क्षेत्रसमेतमा ठूलो धक्का लागेकाले बैँक तथा वित्तीय क्षेत्रलाई व्याजदर र घरधनीलाई घरभाडामा विशेष सहुलियत दिन मागसमेत गरेको छ । विसं २०४७ मा स्थापित सङ्घमा हाल झण्डै एक हजार व्यवसायी आबद्ध छन् ।

नागढुङ्गामा ‘हेल्थ डेस्क’ स्थापना
कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखेर काठमाडौँ उपत्यका भित्रिने मुख्य प्रवेशद्वार नागढुङ्गामा सहायता कक्ष स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा स्थापना भएको उक्त स्वास्थ्य सहायता कक्ष आज बिहान चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गरे ।

नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापनासँगै काठमाडौँ उपत्यका भित्रिने सवारी साधनका चालक, सहचालक तथा यात्रुको जाँचमा सहयोग पुग्ने भएको छ । नगरपालिकाका प्रमुख गिरीले कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाको प्रमुख नाका नागढुङ्गामा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताए । “सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायतका विभिन्न रोग परीक्षणका लागि स्वास्थ्य सहायता कक्षमा सहयोग पुग्नेछ”, उनले भने ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले कक्ष स्थापनासँगै चार समूह बनाएर २४ सै घण्टा यात्रु, चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले कक्षको स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताए । चन्द्रागिरिले स्वास्थ्य सहायता कक्षमा बस्नका लागि १५ स्वास्थ्यकर्मीसमेत परिचालन गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement