काठमाडौँमा 'वाटर एटीएम': दुई रुपियाँमा तीनसय मिलिलिटर र पाँच रुपियाँमा एक लिटर शुद्ध पिउने पानी

Advertisement

काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक ठाउँमा स्वच्छ पिउने पानीका लागि स्मार्ट वाटर भेन्डिङ मेसिन (वाटर एटिएम) राखिने भएको छ ।

यसका लागि आज काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बिद्यासुन्दर सुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक सञ्जीबबिक्रम राणाले हस्ताक्षर गरेका हुन् ।

सम्झौताबमोजिम चालु आर्थिक बर्षभित्र वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ । यी ठाउँमा वाटर एटिम स्थापना गरेर आउँदो ३ बर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटिम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउनेछ ।

सम्झौतापछि बोल्दै प्रमुख शाक्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नका लागि प्रबिधिजन्य प्रणाली जडान गर्दै लगिने बताए । खानेपानीको न्युनतम आवश्यकता पूरा गर्नुपर्ने आवश्यकता छँदैछ । यसका लागि मेलम्चीको आशा छ । काठमाडौंलाई धान्ने पानीका लागि याङ्ग्री र लार्के खोला जोड्ने काम हुनेछ भन्ने ठानेका छौं । उनले भने- ‘यससँगै सहरबासीलाई स्वच्छ र गुणस्तरीय पानी उपलब्ध गराउने कामका लागि यो सम्झौता गरिएको हो ।’ त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा खानेपानी व्यवस्थापनमा थप काम गर्दै जाने योजना बताए ।

काठमाडौं उपत्यकाका १५ ठाउँमा वाटर एटिम राख्ने योजना छ । सम्झौतापछि बोर्डका कार्यकारी निर्देशक राणाले भने–‘अहिले नचाहिए पनि १ लिटर पानी अनिवार्य किन्नु पर्ने अवस्था छ । एटिम जडान भएपछि उपभोक्तासँग आफूलाई चाहिनेजत्ति मात्र पानी किन्ने बिकल्प उपलब्ध हुनेछ ।’ उनले अहिले १ हजार ५ सय लिटरको ट्याङ्कीबाट दिइने सेवालाई पछि सोझै मेलम्चीको पाइप जडान गरिने योजना सुनाउनुभयो । स्थानापछिका ३ महिना सञ्चालन व्यवस्थापनसहित एटिएमको लागत मुल्य करीब १५ लाख ७५ हजार रहनेछ ।

बटुवालाई चाहिएको ठाउँ र चाहिएको मात्रामा स्वच्छ पिउने पानी उपलव्ध गराउनु एटिएम स्थापनाको उद्देश्य हो । सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार वाटर एटिएमबाट उपभोक्तालाई सुपथ मुल्यमा पानी उपलब्ध गराएर काठमाडौंलाई मानवमैत्री सहरका बनाउन मद्दत गर्नेछ । त्यस्तै बढ्दो प्लाष्टिकको प्रयोगलाई घटाउनेछ ।

युनिसेफ र बिश्व स्वास्थ्य संगठनका अनुसार अहिले पनि बिश्वमा हरेक ३ जना व्यक्तिमध्ये एक जना व्यक्ति स्वच्छ र पिउन योग्य पानीको पहुँचबाट बञ्चित छन् । सन् २०१० मा संयुृक्त राष्ट्र संघको महा सभाले, प्रत्येक व्यक्तिले पर्याप्त र निरन्तर, सुरक्षित, स्वीकार्य, शारीरिक पहुँचयोग्य पानी सस्तोमा पाउनु पर्ने पानी र सरसफाइ सम्बन्धि अधिकारको सुनिश्चित गरेको छ ।

राजधानी सहर काठमाडौंमा कामको सिलसिलामा बाहिर निस्कँदा यस प्रकार सस्तोमा पानी उपलब्ध हुने ठाउँ छैनन् । उपभोक्ताले आवश्यक नभए पनि १ लिटर पानी खरिद गर्नु पर्ने बाध्यकारी अवस्था आउँछ । वाटर एटिमको सुबिधा विस्तार भएपछि उपभोक्तालाई चाहिए जति मात्र पानी खरिद गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।

के हो वाटर एटिएम
वाटर एटीएम एउटा उपकरणा हो । यसमा २ रुपैयाँको क्वाइन खसालेपछि ३०० मिलिलिटर पानी निस्कन्छ । त्योभन्दा बढी पानी चाहिए थप रकम खसालेर प्राप्त गर्न सकिन्छ । यसमा ५ रुपैयाँ तिर्दा १ लिटर पानी प्राप्त गर्न सकिन्छ । यो पानी बोतलमा थाप्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement