सेयर बजार पाँच दिन बन्द गर्न नेप्सेलाई निर्देशन दिने धितोपत्र बोर्डको निर्णय

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमका कारण सेयर बजार सुचारु गर्ने वा नगर्ने विषयमा सेयर बजारका लगानीकर्ता, स्टक ब्रोकर र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)बीच विवाद भइरहेको बेला नियामक नेपाल धितोपत्र बोर्डले पाँच कारोबार दिन बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको छ ।

बोर्डको आइतबार बसेको बैठकले पाँच कारोबार दिन बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको बोर्डका अध्यक्ष भीष्मराज ढुँगानाले जानकारी दिए । उनका अनुसार अब सेयर बजार अर्को साता मंगलबार मात्रै खुल्नेछ । नेप्से बजार सुचारु गर्ने पक्षमा रहे पनि सेयर बजारका लगानीकर्ता र स्टक ब्रोकरहरु भने केही दिन बजार बन्द गर्नुपर्ने पक्षमा रहेका थिए । विवाद र अन्योलता कायम रहेको बेला बोर्डले बजार पाँच दिनका लागि बन्द गर्न उचित हुने निष्कर्षमा पुगेको हो ।

त्यस्तै, बोर्डका प्रवक्ता निरज गिरीले विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम र नियन्त्रण सम्बन्धमा प्रधानमन्त्रीको सम्बोधन, नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पछिल्लो निर्णय, सरकारबाट हाल भइरहेका प्रयास, बजार सम्बद्ध पक्षहरुको हालको परिस्थिति सम्बन्धमा दिइएको ज्ञापनपत्रहरु तथा सोमा व्यक्त बजार प्रतिको चासोलाई दृष्टिगत गरी लगानीकर्ताको हित प्रवर्द्धनका लागि धितोपत्र बजार बन्द गर्ने सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडसंग परामर्श गर्दा कोरोना भाईरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएकोले कोरोना भाईरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्न आवश्यक देखिएको भन्दै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० उपदफा १ को खण्ड (घ) मा बोर्डको विशेष अधिकार अर्न्तगत लगानीकर्ताको हितलाई ध्यानमा राखी बोर्डले धितोपत्र बजारसँग परामर्श गरी धितोपत्र बजार बन्द गर्न आदेश दिने सक्ने व्यवस्था रहेको, सोही पष्ठभूमिमा बोर्ड संचालक समितिको बैठकले हाल देशमा कोरोना भाईरसको त्रासबाट सिर्जित विषम परिस्थिति र नेप्सेको परामर्श समेतलाई मध्यनजर गरी लगानीकर्ताहरुको हकहित प्रवर्द्धनका लागि धितोपत्र बजारमा भइसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्यौट गर्ने गराउने गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा १ को खण्ड (घ) बमोजिम बोर्डको विशेषाधिकार प्रयोग गरी यही मिति २०७६ चैत १० गते देखि पाँच (५) कारोबार दिनका लागि धितोपत्र बजार बन्द गर्न नेप्सेलाई आदेश दिने निर्णय भएको जानकारी गराएका छन् ।

Advertisement

Advertisement

Advertisement