भिसा लागेर पनि ५० हजार कामदार जान पाएनन, गइसकेका ३३६ लाई फिर्ता लैजान नेपाललाई दबाब

Advertisement

काठमाडौं । खाडी क्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका छन् । संसारभर फैलिएको कोरोना भाइरसका कारण धमाधम कम्पनी बन्द हुन थालेपछि युएईका आबुधाबी र दुबई तथा बहराइनका सेवा क्षेत्रका रोजगारदाताले नेपाली म्यानपावर व्यवसायीलाई कामदार फिर्ता लैजान दबाब दिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

यी देशका विभिन्न आठवटा कम्पनीले कामदार फिर्ता लैजान नेपाली म्यानपावर व्यवसायीलाई पत्राचार गरिसकेका छन् । ती कम्पनीमा तीन सय ३६ नेपाली कामदार कार्यरत छन् । संघका महासचिव सुजित श्रेष्ठका अनुसार दुबईका इन्टरकन्टिनेन्टल होटेलले एक सय २०, मिलेनियम एयरपोर्ट होटेलले ४, ग्यान्ड कज्मोपोलिटन १९ र अरबियन होटेल गु्रपले ७ नेपाली कामदारलाई फिर्ता पठाउन पत्राचार गरेको छ । त्यस्तै, बहराइनको फोर सिजन होटेलले ४८, आबुधाबीका क्राउन प्लाजा होटेलले ७८, आबुधाबी गल्फ क्लबले १३, र (याडिसन होटेलले ४७ कामदार फर्काउने भएको छ ।

लक डाउनका कारण यी कम्पनी बन्द भएका छन् । आर्थिक अवस्थामा नाजुक हुने भएपछि उनीहरूले कामदार फिर्ता पठाउने तयारी गरेको महासचिव श्रेष्ठले बताए । तर, कामदार फिर्ता ल्याउन नेपाल सक्षम नभएको उनको दाबी छ ।

वैदेशिक रोजगार विभागका अनुसार विश्वका विभिन्न मुलुकमा ४२ लाख नेपाली कामदार छन् । जसमध्ये सेवा क्षेत्रमा मात्रै ९३ हजार नौ सय ११ पुरुष र एक सय ७ महिला गरी ९४ हजार १८ कार्यरत छन् ।

भिसा आएका ५० हजार कामदार रोकिए छुट्टीमा आएका पनि जान पाएनन्

कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जानका लागि तयारी अवस्थामा रहेका ५० हजारभन्दा बढी कामदार नेपालमा नै रोकिएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार भिसा आएर अन्तिम श्रम स्वीकृति लिएका करिब १७ हजार र भिसा आइसकेका ४० हजार कामदार नेपालमै रोकिएका छन् । त्यस्तै, बिदामा आएर पुनः श्रम स्वीकृति लिएका ७ हजार कामदार पनि रोकिएका छन् । श्रम स्वीकृति लिइसकेका कामदारको हकमा भिसा र श्रम स्वीकृतिको अवधि बढाउन पहल गरिने श्रेष्ठले बताए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement