भ्याली बोर्डले काठमाडौं महानगरको ५ ठाउँमा वाटर एटीएम जडान गर्ने, एक रुपियाँमै खानेपानी

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका र खानेपानी मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको छ ।

आम मानिसलाई काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर एटीएम जडान गर्ने विषयमा सम्झौता भएको हो । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक डा। सञ्जीव विक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्र भित्रका धुम्बाराहीको शंखपार्क, स्वयम्भूको भुइँखेल, बालाजु पार्क, वडा नम्बर २८ को शंखधर पार्क र मीनभवनको ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ । तीन वर्षका लागि भएको सम्झौता अनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्ने छ ।

यो सम्झौतासँगै अब महानगरवासीले प्रति २ सय मिलीलिटर पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ । वाटर एटिएममै व्यवस्था गरेको कागजबाट निर्मित २ सय मिली लिटरको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै रु एक लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए । उनका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको पाँच रुपैयाँ तिरे पुग्छ । यो सेवाले एक बोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यतामा पनि कमी आउनेछ ।

महानगरपालिकाले तोकेका स्थानमा बोर्डले ३ महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटिएम १५ लाख ८६ हजारको लागतमा पाँच ओटा राख्ने छ । महानगर प्रमुख शाक्यले काठमाडौँमा पानीको हाहाकार भैरहेका बेला महानगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी पिउने व्यवस्था गर्नका लागि यो प्रयासको थालनी गरेको बताए । प्रमुख शाक्यले भने, ‘यो सेवालाई भोलिका दिनमा थप विस्तार गरेर ३२ वटै वडामा पु–याउने हाम्रो लक्ष्य छ । तपाईहरुले विश्वास दिलाएर काम गर्नुभयो भने हामी आगामी दिनमा थप सहकार्य गर्न तयार छौँ ।’

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले यो सम्झौताले सर्वसाधारणदेखि विद्यार्थी र अन्यले स्वच्छ र गुणस्तरीय पानी पिउन पाउने अपेक्षा गरेको बताए ।

बोर्डका कार्यकारी निर्देशक राणाले उपत्यकाका १५ स्थानमा यस्ता मिसिन राख्ने योजना अनुसार नै पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्र पाँच स्थानमा राख्न लागेको बताउनुभयो । अहिले हरेक वाटर एटिएममा पाँच हजार लिटरको ट्याङ्की राख्ने र मेलम्चीको पाइप जडानपछि सोझै त्यहाँको पानी राख्ने व्यवस्था गरिने उनले बताए ।

‘प्रविधिसँग सामिप्यता बढाउनका लागि पनि यस्तो कार्यक्रम ल्याएका हौँ,’ उनले भने, ‘पर्यावरणीय हिसाबले पनि यो उपयुक्त छ । त्यति मात्र होइन कति पानी खर्च भयो, कति पैसा उठ्यो भन्नेसम्म हामीले थाहा पाउन सकिन्छ । त्यसैले यसलाई हामीले व्यापारको भन्दा पनि सेवाको हिसाबले सञ्चालनमा ल्याएका छौँ ।’

Advertisement

Advertisement

Advertisement