बैंक र एटिएम सेवा बन्द नगर्ने बैंकर्स संघको निर्णय, यसरी दिनेछन् सेवा

Advertisement

काठमाडौं । नेपाल बैंकर्स संघले लकडाउन अवधीमा पनि बैंकका शाखा र एटिएम सेवा बन्द नगर्ने निर्णय गरेको छ । संघले सबै एटिएम काउन्टरहरु चालु राख्ने र निश्चित शाखाहरु खोलेर आंशिक बैंकिङ सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँगको छलफलपछि एटिएम काउन्टरहरु सबै चालु राखेर केहि शाखाबाट निश्चित बैंकिङ कारोबार चालु राख्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले कर्पाेरेट नेपाललाई जानकारी दिए ।
‘सबै एटिएमहरुमा क्यास भर्नुपर्ने सर्कुर गरेका छौं, सबै बैंकका केहि शाखाहरु खुल्छन् र त्यहाँबाट नगद कारोबार गर्न पाइन्छ’, संघका अध्यक्ष दाहालले भने ।

उनका अनुसार हरेक बाणिज्य बैंकहरुले एउटा स्थानीय तहमा एउटा शाखा खोल्नै पर्नेछ । मानौं ए नाम गरेको बाणिज्य बैंकको काठमाडौं महानगरपालिकामा ७ वटा शाखा छ भने उसले एउटा शाखा खोल्नुपर्नेछ । ललितपुरमा ५ वटा शाखा छन् भने त्यहाँ पनि एउटा शाखाबाट सेवा दिनै पर्नेछ । एउटा स्थानीय तहमा एउटा मात्रै शाखा भएको बैंकले पनि त्यहाँबाट सेवा दिनुपर्नेछ ।

अर्थात, काठमाडौं महानगरपालिका भित्र २७ वटै बाणिज्य बैंकहरुको एक एक वटा शाखा खुल्ला हुनेछ भने ललितपुर महानगरपालिकामा पनि सोही नियम लागु हुनेछ । एउटा स्थानीय तहमा एउटा मात्रै बाणिज्य बैंकको शाखा पुगेको छ भने उक्त शाखाबाट सेवा सञ्चालन गर्नुपर्नेछ ।

त्यसरी खुल्ला गरिएका शाखाहरुलाई नगद कारोबार अनिवार्य गरिएको छ भने अन्य सेवालाई स्वेच्छिक गरिएको छ । कुन स्थानीय तहमा कुन शाखा खुल्ला गर्ने भन्ने कुरा सम्बन्धित बैंकले आफ्नो वेभसाइट मार्फत जानकारी दिनेछन् । त्यसरी वित्तिय सेवा प्रदान गर्नका लागि बैंकहरुलाई जिल्ला प्रशासन कार्यालयले बिशेष पासको व्यवस्था गर्नेछ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पनि उपत्यका भित्र हरेक बैंक तथा वित्तिय संस्थाहरुलाई एक एक वटा शाखाबाट सेवा प्रवाह गर्न भनेको बताए । त्यस्तै, सबै बैंकहरुलाई एटिएम सेवा भने सूचारु हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको उनले बताए ।

‘उपत्यका भित्र एउटा संस्थाले एउटा शाखाबाट सेवा दिने प्रयास गर्नुस भनेका छौं, सकेसम्म एटिएम सेवा सूचारु गर्ने प्रयास गर्नु भनेका छौं, सरकारले घरबाट बाहिर निस्कन रोक लगाएकाले बैंक तथा वित्तिय संस्थाहरुलाई अधिकतम सेवा प्रवाहको प्रयास गर्नुस् भनेका छौं’, प्रवक्ता डा. भट्टले कर्पाेरेट नेपालसँग भने ।

Advertisement

Advertisement

Advertisement