घरबेटी र पसल सञ्चालकबीचको विवादले लियो उग्ररुप, घरबेटीले नै गरे पसल तोडफोड

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर–५ हाँडीगाउँमा घरबेटी र पसल सञ्चालकबीचको विवादले उग्ररुप लिएको छ । उक्त स्थानमा धनन्तरीमा पसल सञ्चालन गर्दै आएका भरतबहादुर अधिकारीको पसलमा तोडफोड भएको छ । अधिकारीले आफ्नो पसलमा घरबेटी गणेशप्रसाद खरेलले तोडफोड गरेको आरोप लगाएका छन् ।

पसल सञ्चालन गर्ने व्यापारी र घरबेटीबीच २०७५ मंसिरदेखि नै विवाद थियो । पसल तोडफोडमा करिब ४० हजारको क्षति भएको अधिकारीले बताएका छन् । अधिकारीले आफ्नो छोरी अनु अधिकारीमाथि समेत घरबेटीले आक्रमण गरेको बताएका छन् ।

घरबेटीले घरखाली गरी पाउँ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेपछि १० महिनाभन्दा बढी पसल बन्द रहेको थियो । त्यसपछि अदालतको आदेशमा पसल खोलिएको थियो ।

अधिकारी र घरबेटीबीचको मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ । घरबेटीले पसल सञ्चालन भइरहेको सटरमा बालुवा थुपारेपछि पसल सञ्चालन गर्न अप्ठ्यारो भएको थियो । पसल सञ्चालक अधिकारीका अनुसार घरबेटी खरेलले आफ्ना मान्छेहरू ल्याएर पसल तोडफोड गराएका हुन् ।

Advertisement

Advertisement

Advertisement