अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन सरकारको ध्यानाकर्षण

Advertisement

काठमाडौँ । नेपाल उद्योग परिसंघले लकडाउनका बेलामा अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

परिसंघले विज्ञप्ति प्रकाशित गरी भन्सार नाकाहरुमा ग्रीन च्यानल स्थापनामा पहल थाल्न तथा कार्गो हवाई सेवालाई सुचारु राख्न समेत सरकारको ध्यानाकर्षण गराएको हो ।

साथै भारत र चीनतर्फका नाकामा रोकिएका कच्चा तथा तयारी वस्तुको अनलोड र ढुवानीको वन्दोवस्त मिलाई अत्यावश्यक वस्तुको उत्पादन र वितरण प्रणालीलाई सुचारु राख्ने आवश्यक व्यवस्था मिलाउनु पर्नेमा समेत परिसंघले जोड दिएको छ ।

नेपाल सरकारबाट २०७६ चैत ११ गतेबाट लागु हुने गरी ७ दिनसम्म जारी भएको लकडाउनको आदेशको स्वागत गर्दै उक्त आदेशको उल्लंघन नगर्न सबै सर्वसाधारणमा अनुरोध गरेको छ ।

अत्यावश्यक सेवा तथा उत्पादन मात्र सञ्चालन गर्ने सरकारको आदेशलाई सबै क्षेत्रले प्रभावकारी कार्यान्वयन गरे प्रकोप नियन्त्रणमा सकारात्मक परिणाम देखिने छ भन्ने विश्वास परिसंघले लिएको छ ।

‘अत्यावश्यक सेवा तथा उत्पादन क्षेत्र बाहेकका अन्य उद्योग तथा व्यवसायको काम स्थगित गरेर नोवल कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्ने सरकारको कदममा जिम्मेवारीपूर्वक सघाउन परिसंघ आफ्ना सदस्य उद्योग, प्रतिष्ठान, संघ संस्था, साझेदारहरु तथा सबै आम समुदायमा हार्दिक अपिल गर्दछ’–विज्ञप्तिमा उल्लेख छ ।

परिसंघका सतिशकुमार मोरले अत्यावश्यक सेवा तथा उत्पादनमा रहने उद्यमी व्यवसायी तथा श्रमिक वर्गले पनि कार्यस्थलमा एक अर्काबीच आवश्यक भौतिक दूरी कायम गरी आफू र आफ्नो समुदायको स्वास्थ्यलाई ख्याल गर्दै अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन समेत हार्दिक अपिल गरे ।

अहिलेको अवस्था केही सहज हुनासाथ यसबाट उत्पन्न हुन सक्ने आर्थिक नोक्सानी र विषम अवस्थाबाट केही हदसम्म भए पनि उद्धार गर्दै सामान्य अवस्थामा फर्किन सहज होस् । यसका लागि सरकार र साझेदारसँग नियमित सम्पर्क र छलफलमा रहेको जानकारी मोरले बताए ।

Advertisement

Advertisement

Advertisement