काठमाडौं । नेपाल बैंकर्स एशोसियशनले अनलाइनबाटै बैठक बसेर अहिलेको प्रतिकुल परिस्थितिमा जनतालाई नगदको अभाव हुन नदिने निर्णय गरेको छ ।
एशोसियशनले कोरोना भाइरसको संक्रमणसँग जुध्न सरकारले लकडाउन गरेको विषम परिस्थितिमा जनताले आफूले दुःख गरेर आर्जन गरेको पैसा बैंकमा सुरक्षित गर्नु हाम्रो जिम्मेवारी हो भन्दै जनताले चाहेको बेला यो पैसा झिक्नसक्ने कुराको सुनिश्चितता गरिने निर्णय गरेको छ ।
एशोसियशनले स्थानीय अधिकारीसँग समन्वय गरी सबै एटीएममा नगदको अभाव हुन नदिने, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्न ग्राहकहरुलाई टेलिफोन तथा इमेलमार्फत उनीहरुका जिज्ञासाको समाधान गर्ने, हरेक शाखाहरुले दुई जना सम्पर्क अधिकारी तोकेर आपतकालिन अवस्थामा नगद उपलब्ध गराउने व्यवस्था मिलाउने, जुन शाखामा एटीएम उपलब्ध छ, त्यहाँ एटीएमफार्मत नगद झिक्ने व्यवस्था मिलाउने र एटीएम नभएका शाखामा छोटो समयका लागि कार्यालय खोल्ने व्यवस्था मिलाउने, यदि अत्यावश्यक सामग्री आयातका लागि एलसी, ग्यारेन्टी, ट्रेजरी आदिको काम गर्नुपर्ने भए सम्वन्धित बैंक तथा बैंकको शाखामा सम्पर्क गरी सेवा उपलब्ध गराउने जस्ता निर्णयहरु गरेको छ ।
एशोसियशनले स्थानीय प्रशासनले बैंकका कर्मचारीलाई मास्क, स्यानिटाइजर जस्ता सुरक्षा उपकरणहरु उपलब्ध गराउन पनि सहयोग माग गरेको छ ।