मानसिक स्वास्थ्य र मनोवल बढाउन ध्यानको प्रयोग गर्ने कि ?

Advertisement

अहिले कोरोना भाइरसको विश्वव्यापीरुपमा महामारी फैलिरहेको अवस्थामा समयमै सतर्कता अपनाउने दृष्टिले नेपालले पनि देशभरि एकहप्ता लकडाउन गरेको छ । यस स्थितिमा आमनाग।िकलाई मानसिक चिन्ता र तनावले सताउनु अस्वाभाविक हैन । यस्तो अवस्थामा मानसिक तनाव, चिन्ताबाट मुक्त हुन, मानसिकरुपले स्वस्थ रहन र मनोवल उच्च राख्नकोनिम्ति पूर्वीय दर्शनमा आधारित योग, प्राणायाम र ध्यानको ठ्ुलो महत्व रहन्छ । योग शारीरिक तथा मानसिक स्वास्थ्यको निम्ति अति आवश्यक छ । योग अन्तर्गत अनुशासन, शारीरिक व्यायामका साथै प्राणायाम र ध्यान पनि पर्छन् । मन, वचन र कर्ममा एकरुपता भएको अनुशासित र स्वस्थ व्यक्तिलाई नै योगी भनिन्छ । योगसूत्रका प्रणेता पतन्जलीले चित्तको वृत्ति निरोध गर्नु अर्थात् मनको चन्चलतालाई नियन्त्रण गर्नुलाई नै योग भनेका छन् ।

यहां विशेषगरी ध्यानकाबारेमा चर्चा गरिने छ । मानिसको शरीर, श्वासप्रश्वास र मनवीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । तसर्थ ध्यान सुरु गर्नु अघि सही आसन र श्वासप्रश्वास सम्बन्धी सामान्य अभ्यासकाबारे जानकारी राख्नु उपयोगी हुन्छ । पतन्जल योगसूत्रले जुन तरीकाले बस्दा सुखपूर्वक बस्न सकिन्छ त्यसैलाई आसन भनेको छ । ध्यान सुरु गर्नुअघि मेचमा बसेर वा भुईंमा पलैटी कसेर स्थिर भै बस्ने अभ्यास गर्नु जरुरी छ। यसरी बस्दा शिर, गर्दन र ढाडलाई एउटै रेखामा सीधा राख्नु जरुरी छ । यसरी आंखा बन्द गरेर हलचल नगरी केही समय बस्ने अभ्यास जरुरी हुन्छ ।

ध्यान सुरु गर्नु अघि १५, २० पल्ट लामो श्वास फेरेमा मन स्थिर राख्न मद्यत पुग्छ । यहांनिर केही मिनेट अनुलोमविलोम, भस्रिका वा कपालभाती प्राणायाम पनि गर्दा पनि लाभ हुन्छ । साथै ५, ६ पल्ट अ, उ, म अर्थात् ऊँ को उच्चारण गर्दा पनि लाभदायक हुन्छ । श्वासप्रश्वास र मनवीच घनिष्ठ सम्बन्ध हुन्छ । मन चन्चल भएको वखत, मनमा रीस, उत्तेजना भएको वखत श्वास प्रश्वास छिटो, छिटो चल्न भने त्यसविपरित मन शान्त, स्थिर र विचार शून्य हुंदा श्वास पनि सूक्ष्म र ढिलो चल्छ । तसर्थ आएको र गएको श्वासमा ध्यान दिएर हेर्ने पध्दति, जसलाई विपश्यना भनिन्छ, आजभोलि निकै प्रचलित छ । यसरी आएको र गएको श्वासलाई निरन्तर महशूस गर्नाले अर्थात् हेर्नाले मनको चन्चलता हराउंछ र मन शान्त तलाउ जस्तो हुन्छ । ध्यानको समयमा सधैं आंखा बन्द गर्नु जरुरी हुन्छ ।

ध्यानको अर्को विधि हो, शरीरका सबै अंग, प्रत्यंगलाई एक, एक गरी महशूस गर्ने । यस अन्तर्गत शीर देखि पैतालासम्मका सबै अंगहरुको मनमनै नाम लिएर ती अंगहरुमा ध्यान दिने र महशूस गर्ने गरिन्छ । यसबाट शरीर हल्का र शिथिल हुन्छ । यो विधिलाई दोहर्याई, तेहर्याई पनि गर्न सकिन्छ ।

तेस्रो विधि हो, आफू वरिपरिका विभिन्न आवाजहरुमा ध्यान दिने वा तटस्थ भै राम्रो, नराम्रो नभनी मूल्यांकन नगरी सुनिरहने । जस्तै चरीको चिर्विर्, गाडीको हर्न, मानिसको पाइला, कुकुर भुकेको, केटाकेटीहरु कराएको आवाज आदि सुन्ने । यसरी नजीक र टाढाको आवाज एक, एक गरी ध्यान दिएर सुन्दै जाने । यी तीन मध्ये कुनै एउटा अथवा एक पछि अर्को गरी तीनैवटा तरीका अपनाएर ध्यान गर्न सकिन्छ ।

माथि उल्लित तरीकाहरुमा अभ्यस्त भैसकेपछि अर्को चौथो तरिका पनि प्रयोग गर्न सकिन्छ । त्यो हो, आंखा बन्द गरेर शरीरलाई स्थिर राखी मौनतालाई महशुस गर्दैजाने । त्यसबखत मनमा कुनै विचार वा भावना, वा नकारात्मक कुरा आएमा नआत्तिइकन ती, विचार, भावना वा नकारात्मक कल्पनालाई तटस्थ भै हेर्दै जाने । यसो गर्द ती विचार वा नकारात्मक भावनाहरु आफै हराउंछन् र अन्त्यमा मन शान्त हुन्छ । यसरी सुरुमा १० देखि १५ मिनेट ध्यान गर्नु उपयुक्त हुन्छ । ध्यान गहिरो हुंदै गए पछि मन स्थिर र विचार शून्य हुनुका साथै शरीर हल्का र श्वास पनि सूक्ष्म ढिलो हुन्छ । ध्यान गर्दा जति सक्दो सहज तरीकाले गर्न पर्छ । कुनै जवर्जस्ति गर्नु जरुरी छैन । विचार आएमा वा मन चन्चल भएमा पनि त्यसमा ध्यान नदिई गर्दै जाने र पछि सबै आफै सही बाटोमा आउंछ । श्वास, प्रश्वामा ध्यान दिंदा श्वासलाई ढिलो गर्न वा रोक्न जरुरी छैन, जसरी स्वाभाविक गतिमा श्वास जाने आउने गर्छ त्यसलाई एकनासले हेर्दै जाने मात्र हो । यसरी ध्यानको वखत आफ्नो मन, शरीर र श्वासमा आएको परिवर्तन, तरंग, कम्पन जे छ त्यसलाई पनि विना प्रयास महशूस गर्दै जाने ।
ध्यान खासगरी विहान वा वेलुकी खालि पेटमा गर्नु उपयुक्त हुन्छ । तर गर्ने इच्छा भएमा जुनसुकै समय, स्थानमा पनि गर्न सकिन्छ । ध्यान जस्तै हिजोआज माइन्डफूलनेसको पनि अभ्यास गर्ने गरिन्छ, जुन ध्यानमा सहायक हुन्छ । हिंड्दा, खांदा, दांत माझ्दा, नुहाउंदा वा अन्य कुनै काम गर्दा होस पूर्वक गर्नेलाई माइण्डफूलनेश भनिन्छ । यो एकप्रकारको सक्रिय ध्यान हो । यसबाट पनि धेरै लाभ लिन सकिन्छ । हिजोआज पश्चिमा देशतिर मनोवैज्ञानिकहरुे डिप्रेसन, एन्जाइटीका मानसिक रोगको उपचारमा औषधिको सट्टा ध्यान, प्राणायाम अर्थात् रिड्मिक ब्रिदिंग र माइण्डफूलनेसको अभ्यास गराउन थालेको पाइन्छ, जुन निकै प्रभावकारी सिध्द भएका छन् ।

Advertisement

Advertisement

Advertisement